कोरोना नियन्त्रण र उपचारमा १० अर्ब खर्च

पत्रपत्रिका
२०७७ जेष्ठ २२,बिहीबार ०८:५८
file photo

सरकारले हालसम्म कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि करिब १० अर्ब रुपैयाँ खर्च भएको जनाएको छ । कोरोना नियन्त्रण, उपचार, क्वारेन्टाइन निर्माण, जोखिम भत्ता र राहत वितरणमा कम्ती नौ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको विवरण उच्चस्तरीय समन्वय समितिले सार्वजनिक गरेको छ ।

उच्चस्तरीय समितिका प्रवक्तासमेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारले गरी नौ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेका हुन् । जसमध्ये करिब डेढ अर्ब राहत वितरणमा मात्र खर्च भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विवरणअनुसार १२ लाख परिवारलाई राहत वितरण गरेको विवरण स्थानीय तहले पठाएका छन् ।

स्थानीय तहबाट भएको खर्चको विवरण प्राप्त नभएकाले खर्च भएको रकम अझै धेरै हुन सक्ने बिडारी बताउँछन् । कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब तीन करोड, प्रदेशहरूबाट एक अर्ब आठ करोड र स्थानीय तहहरूबाट दुई अर्ब ७६ करोड रुपैयाँ खर्च भएको उनले बताए । अझै स्थानीय तहहरूले गरेको खर्चको पूर्ण विवरण नआएकाले खर्च रकम केही थप हुन सक्ने उनको भनाइ छ ।

१० अर्बमध्ये धेरैजसो स्वास्थ्य सामग्री खरिदमा खर्च भएको छ । सरकारले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको सार्वजनिक भइसकेको छ । जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ । राहत वितरणमा पनि विभिन्न स्थानीय तहमा कुहिएको चामल तथा दाल वितरण गरेकामा छानबिन भइरहेको छ । यसका लागि सरकारले स्थापना गरेको कोषमा भने दुई अर्ब ३१ करोड ५५ लाख रुपैयाँ मात्र जम्मा भएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*