प्रदेश नं ५ः बजेट अधिवेशन शुरु, शनिबार नीति कार्यक्रम पेश हुने

तु खबर संवाददाता
२०७७ जेष्ठ ९,शुक्रबार २०:१४

प्रदेश नं ५ प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि शुरु भएको छ । बैठकमा प्रमुख विपक्षी दल नेपाली काँग्रेस संसदीय दलका तर्फबाट प्रदेशसभा सदस्य वीरेन्द्रकुमार कनौडियाले कोभिड १९ संक्रमण नियन्त्रणमा सरकारले पर्याप्त ध्यान पुर्‍याउनुपर्ने तथा भारतबाट स्वदेश फर्किने हजारौं नेपाली सीमा क्षेत्रमा अलपत्र र कष्टपूर्ण रुपमा रहेकाले उनीहरुको उद्धारमा ध्यान दिनुपर्ने बताए ।

सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपसचेतक पार्वती पुनले सबैको एकताले नै कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताउँदै सरकारले स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने विश्वास व्यक्त गरिन् । उनले बालबालिकाको शैक्षिक व्यवस्थापनका लागि ध्यान दिन पनि सरकारसँग आग्रह गरिन् ।

प्रदेशसभा सदस्य कल्पना पाण्डेले विश्व स्वास्थ्य संगठनको मापदण्डनुसार क्वारेन्टिन र आइसोलेशनको व्यवस्थापनमा सरकारले ध्यान दिन नसक्दा संक्रमण बढ्दो अवस्थामा रहेको बताइन् ।

बैठकमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बजार नियमन तथा प्रतिस्पर्धा प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले सडक निर्माण, मर्मतसम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेकामा पारित भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*