नीति तथा कार्यक्रम : स्थानीय तहमै रोजगारी

पत्रपत्रिका
२०७७ जेष्ठ ३,शनिबार ०८:१०

काठमाडौँ । सरकारले कोभिड–१९ को महामारीले आन्तरिक र अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारी गुमाएका युवालाई स्थानीय तहमै रोजगारी उपलब्ध गराउने नीति ल्याएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण बेरोजगारीको संख्या बढ्ने जोखिम देखिएकाले उनीहरूलाई कृषि, बृहत् भौतिक पूर्वाधार, साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग र स्थानीय निर्माण र सेवामा परिचालन गरिने उल्लेख छ ।

कोभिड–१९ महामारीका कारण अन्तर्राष्ट्रिय श्रम बजार संकुचित भई तत्काल झन्डै ४ लाख नेपालीको रोजगारी गुम्ने अनुमान गरिएको छ । आन्तरिक श्रमबजारको औपचारिक र अनौपचारिक क्षेत्रमा समेत रोजगारी दिनप्रतिदिन गुमिरहेको छ । दक्ष श्रमिक, कामको सम्मान, स्वरोजगार, उपयुक्त पारिश्रमिक र सामाजिक संरक्षणसहितको श्रम व्यवस्थापन सरकारको प्रमुख श्रम नीति रहेको छ ।

‘सरकारले रोजगारी गुम्ने जोखिमलाई सम्बोधन गर्न स्वदेशमै रोजगारी सिर्जना, आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको क्षमता वृद्धिको अवसरमा रूपान्तरण गर्नेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘महामारीले रोजगारी गुमाएका श्रमिक, साना किसान, असहाय, गरिब तथा विपन्न वर्गलाई स्वास्थ्य, शिक्षा रोजगारी र आयआर्जन गर्न विशेष कार्यक्रम सञ्चालन गर्नेछ ।’

सरकारले रोजगारी सिर्जना गर्नका लागि स्वस्थ नागरिक, गुण र प्रविधिमा आधारित शिक्षा, उत्पादनमैत्री वित्तीय प्राणाली र उद्यमशील वातावरण रोजगारीका आधारस्तम्भ भएको जनाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*