लकडाउनको अवधिमा कैलाशवासीलाई राहत होइन रोजगारी दिएका छौँ – शर्मा

तु खबर संवाददाता
२०७७ बैशाख ३१,बुधबार १५:४२

मकवानपुर । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि मकवानपुरको कैलाश गाउँपालिकाले गाउँपालिका र वडा स्तरीय विपद् व्यवस्थापन समितिको निर्णय अनुसार जनहितका कामहरु गरिरहेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिएका छन् ।

महामारीका बीच गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृतलगायत अन्य जनप्रतिनिधि र कर्मचारीहरु निरन्तर सेवा प्रवाहमा खटिएको उनको भनाई छ । गाउँपालिकामा प्रवेश गर्ने ३ वटै नाकाहरुमा स्वास्थ्य परामर्श कक्ष स्थापना गरेर स्वास्थ्य परामर्श दिने, चेकजाँच गर्नेलगायतका कामहरु भइरहेको गाउँपालिकाले जनाएको छ ।
हालसम्म विदेशबाट आएका ३६ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । गाउँपालिकाको आन्तरिक स्रोत र विभिन्न दाताहरुको सहयोगमा गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा करिब एक करोड रुपैँया जम्मा भइसकेको र सोही कोषबाट करिब ३३ लाख बराबरको औषधी र खाध्यान्न खरिद गरेर राखिएको प्रमुख प्रशासकीय अधिकृत शर्माको भनाई छ ।

गाउँपालिकाका स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामग्री अभाव नहुनेगरी वितरण भइसकेको उनको भनाई छ । मुलधारमा रहेर सेवा प्रवाह गर्ने कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई सुरक्षा सामग्री पर्याप्त मात्रामा उपलब्ध गराइएको पनि उनले बताए ।

‘राहत वितरण गरेका छैनौँ, रोजगारी दिन्छौँ’

कोरोना संक्रमणको जोखिमसंगै संघीय सरकारले गरेको लकडाउनको अवधिमा गाउँवासीलाई राहत दिएको छैन ।

लकडाउनको अवधिमा दैनिक छाक टार्न समस्या हुने परिवारको तथ्याङ्क संकलन गरी उनीहरुलाई काम दिने निर्णय गरेको छ ।

सुरक्षाका उपायहरु अपनाएर विभिन्न विकास निर्माणको काममा उनीहरुलाई लगाउने र काम गरे बापत् ज्याला दिने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले एक हजार जना त्यस्ता व्यक्तिहरुको तथ्याङ्क संकलन गरिसकेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

बिग्रेका सडक मर्मत गर्ने, सिचाँई आयोजनाका कामहरु गर्ने, विद्यालय भवन निर्माण गर्ने जस्ता कामहरुमा उनीहरुलाई लगाउँने तयारी भएको उनको भनाई छ ।

राजधानीमा अलपत्र परेकाहरुको उद्वार

लकडाउनको अवधिमा राजधानी काठमाडौँलगायत विभिन्न ठाउँमा अलपत्र परेकाहरुको उद्वार गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रत्येक वडाबाट तथ्याङ्क संकलन गरी आवश्यक सुरक्षाका उपाय अपनाएर गाउँपालिकावासी ४ सय ५२ जनालाई उद्वार गरी घरसम्म ल्याइएको प्रमुख प्रशासकीय अधिकृत शर्माको भनाई छ ।

उद्वार गर्नुपर्ने अवस्थामा कोही भएको जानकारी आए गाउँपालिकाले तुरुन्तै उद्वार गर्ने पनि उनले बताए ।
उच्च सतकर्ता अपनाएर विकास निर्माणको काम देशैभर लकडाउन भएसंगै गाउँपालिकाले एक महिनासम्म दैनिक कार्यालयका कामहरु गरेको भएपनि विकास निर्माणको काम भने एक महिनासम्म ठप्प पारेको शर्माले जानकारी दिए ।

लकडाउनसंगै विकास निर्माणको काम प्रभावित भएको कारण अहिले भने गाउँपालिकाले स्वास्थ्य सुरक्षामा उच्च सतर्कता अपनाएर विकास निर्माणको काम गरिरहेको उनको भनाई छ ।

जनताको प्रत्येक्ष सरोकारका विषयहरुमा कुनै प्रकारको अवरोध नहोस् भन्नका लागि कर्मचारीहरुले दैनिक कार्यालयका प्रशासनीक कामहरु गरिरहेको उनले बताए ।

स्वास्थ्यकर्मीलाई भत्ता, प्रत्येक वडामा क्वारेन्टाइन कक्ष

प्रमुख प्रशासकीय अधिकृत शर्माले प्रत्येक वडामा क्वारेन्टाइन कक्ष स्थापना गरिएको जानकारी दिए ।

शंकास्पद विरामीलाई जाँच गर्नको लागि छुट्टै कक्षको स्थापना गरिएको उनको भनाई छ ।

स्वास्थ्यकर्मीहरुलाई विहान बेलुका जुनसुकै समयमा काम लगाइने गरिएको र उहाँहरुको मनोवल उच्च होस् भन्नका लागि प्रोत्साहन स्वरुप ५० प्रतिशत भक्ता दिइएको समेत उनले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*