कविता – नेता एक भ्रम

 उत्सब चौलागाईं
२०७७ बैशाख २९,सोमबार १५:२५

म एक स्वास्थ्यकर्मी
तिमी एक राजनीतिकर्मी
म मान्छेको रोग पहिचान गर्छु
उपचार गर्छु
औषधी सिफारिस गर्छु
थला परेकालाई उठाउँछु
तर तिमीले देशलाई झन रोगी बनायौ
उठाउन सकेनौ
झन थला पार्यौ ।

अझै तिमी आफूलाई नेता भन्ठान्छौ ?

यहाँ पटक पटक सडक बौलायो
मान्छे घाइते भए
मान्छे अपाङ्ग भए
सडकमा रगतको नदी बगे
मान्छेहरु छिन्नभिन्न भए
यी सबैको उपचार
मैले नै गरेँ
निको बनाएँ
घाइतेलाई ठिक गरेँ
अपाङ्गलाई हिडाएँ
तिमीले त केवल
हेर्यौ मात्र
आश्वासन दियौ, र फर्कियौ ।

अझै तिमी आफूलाई नेता भन्ठान्छौ ?

म कहिल्यै भागेको छैन
जिम्मेवारीहरुबाट
किनकि,
मलाई स्पात बनाएको छ
अनेक गालीहरुले
रुवा बनाएको छ
प्रेमिल घाउहरुले
म झन् झन्
आत्मविश्वासी भएको छु
म आफ्नो कामलाई प्रेम गर्छु
कर्म थलोलाई विश्वविद्यालय सम्झन्छु
तिमीले त जागिर जस्तै सोच्यौ
आफ्नो कर्मलाई ।

तिमीले त
बारम्बार झुटको खेती गर्यौ
आश्वासनको रोटी मात्र बाड्यौ
शरीरको घाउ चिरेर
मैले विशेक बनाए जस्तै
देशलाई तिमीले निको बनाउन सकेनौ
देशलाई त झन् झन् बिरामी पो बनायौ
बिरामीलाई स्लाइन पानी चढाएर
औषधीमुलो खुवाएर
इन्जेक्सन लगाएर
मैले थला परेका बिरामी
जुरुक्क उठाए जस्तै
तिमीले देशलाई उठाउनु पर्दैन ?

तिमीले बाढेका सपनाहरूमा
पीडाका इन्जेक्सनले
देशलाई घोचिरह्यो
लिपुलेक, लिम्पियाधुरा दुखिरह्यो
कालापानी, नालापानी, टनकपुर
पाकिरह्यो
कहिल्यै विशेक भएन
मैले बिरामी निको पारे जस्तै
कहिल्यै निको पारेनौ ।

केही घिनलाग्दा व्यवहारहरू
मेरो इमान्दारीसँग
पराजित भएका छन्
पसिनाको अवमुल्यन गर्नेहरू
मेरो पसिनाको शक्ति देखेर
शक्तिहीन भएका छन्
मस्तिष्कहीन भएका छन्
दिलहीन भएका छन्
म कामलाई माया गर्ने मान्छे हुँ ।

एकथान एप्रोन भिरेर शरीरमा
बाढीहरूमा छिरेको छु
महामारीसँग लडेको छु
देशकै उपचार गर्ने हिम्मत
पनि राखेको छु
मनभरि, मस्तिष्कभरि ।

के तिमीलाई पनि
यसैगरी
देशको उपचार गर्ने हिम्मत
पलाएर आउँछ ?

के नेता एक भ्रम मात्र हो ?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*