पत्रकार शिवकुमारले देख्नुभएको थियो हिरा लुट्ने समूहलाई

यसरी लुटिएको थियो हिरा
तु खबर संवाददाता
२०७६ चैत्र १०,सोमबार १५:३८

मकवानपुर १० चैत । हिजो आइतबार करिब ३ः३० बजेको थियो, गोरखापत्र दैनिकमा आवद्ध पत्रकार शिवकुमार काशी, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान र छटु साह (प्राविधिक) मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर ५ मा यात्राको क्रममा पुग्नुभएको थियो ।

उहाँहरुले चौकीटार भन्ने ठाउँमा पुगेपछि ४ जना मान्छे देख्नुभयो । अघिपछि गाउँमा कहिल्यै नदेखेको मान्छे देखेपछि उहाँहरुले आपसमा को रहेछ भनेर कुराकानी पनि गर्नुभयो ।

नजिकै कार रोकिएको थियो, कार विग्रिएको हो की भन्ने उहाँहरुलाई लाग्यो । तर कार रोकेर थकाइ मारिरहेको पनि त हुनसक्छ भन्ने अनुमान लगाएर उहाँहरु त्यहाँबाट केही नसोधी हिड्नुभयो ।

उहाँहरुले देखेको ४ जना  जसलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पक्राउ गरी सार्वजनिक गरेको छ ।

आज प्रहरीले सार्वजनिक गरेपछि पत्रकार काशीले हिजो आफूहरुले तिनै व्यक्तिहरुलाई देखेको तथ्य सार्वजनिक गर्नुभएको हो ।

पक्राउ पर्नेहरु क्रमश ललितपुर महानगरपालिका भैसेपाटी बस्ने १९ बर्षीय सुजन आचार्य, सुर्खेत बीरेन्द्रनगर १२ बस्ने २६ बर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय २ बस्ने २७ बर्षीय बीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका १ बस्ने २८ बर्षीय हिमकान्त पुन मगर रहनुभएको छ ।

पक्राउ पर्नुभएको सुजन आचार्य पत्रकार हुनुहुन्छ भने बाँकी ३ जना प्रहरी सेवामा कार्यरत रहनुभएको छ ।  उहाँहरु आइतबार साँझ कैलाश गाउँपालिका वडा नम्बर ५ घर भएकी धनलक्ष्मी गुरुङमा पुग्नुभयो । सुरुवातमा उहाँहरुले हिरा खरिद गर्न चाहेको बताउनुभयो । हिरा विक्रि हुने भएपछि धनलक्ष्मीले उहाँहरुलाई हिरा देखाउनुभएको
थियो । सोही क्रममा उहाँहरुले हिरा लुटपाट गरी भाग्ने प्रयास गर्नुभएको प्रहरीले जानकारी दिएको छ ।।

लुटिएको विषयमा गुरुङले प्रहरीमा उजुरी गरेपछि ईलाका प्रहरी कार्यालय पालुङको टोलिले उहाँहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उहाँहरुको साथबाट हिरा एक थान, लोड अवस्थामा रहेको पेस्तोल एक थान, सञ्चारसेट ४ थान, क्यामरा १ थान, मेटल डिटेक्टर १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान बरामद गरी आज पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ ।

प्रहरीले लुटपाटमा प्रयोग गरेको प्रदेश ३-०१-०२२ च ३३६२ नम्बरको कार समेत नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नुभएको उहाँहरुलाई चोरी तथा डाँका मुद्धा अन्तरगत अनुसन्धान अघि बढाइएको मकवानपुरका प्रहरी उपरिक्षक सुशिल सिंह राठौरले जानकारी दिनुभयो ।

उक्त पथ्थर हिरा नै हो भन्ने पुष्टी नभइसकेको प्रहरीले जनाएको छ ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*