६१ वर्षे इतिहासमा पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

२०७६ चैत्र १०,सोमबार ०८:५१

नेपाली हवाई उड्डयनको ६१ वर्षे इतिहासमा पहिलोपटक सोमबारदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले आइतबार राति १२ बजेदेखि १८ चैतसम्म अन्तर्राष्ट्रिय उडान–अवतरणमा रोक लगाएको हो ।

नेपालले ०१५ सालदेखि अन्तर्राष्ट्रिय उडान थालेको हो । भूकम्प र ठुल्ठूला आन्दोलनका वेलासमेत अन्तर्राष्ट्रिय उडानमा रोक लागेको इतिहास छैन । सरकारको निर्णयले विभिन्न कामको सिलसिलामा नेपालमा रहेका १० हजार विदेशी नागरिक पनि स्वदेश फर्कन पाउने छैनन् । विदेशमा रहेको लाखौँ नेपाली पनि स्वदेश फर्कन पाउने छैनन् ।

सरकारको निर्देशनपछि एयरलाइन्स कम्पनीहरूले हवाई भाडाको अधिकतम मूल्य ३६ प्रतिशतसम्म घटाएका छन् । आन्तरिक उडानका तीन ठूला एयरलाइन्स कम्पनीले सबै क्षेत्रको अधिकतम भाडादर घटाएर सार्वजनिक गरेका छन् ।

कोरोना भाइरस सन्त्रासका कारण काठमाडौंबाट बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेपछि एयलाइन्स कम्पनीहरूले सरकारले तोकेको अधिकतम भाडा लिन थालेका थिए । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार तत्कालका लागि अधिकतमको सीमा घटाएर भाडा तोक्न निर्देशन दिएका थिए । एयरलाइन्स कम्पनीहरूले आइतबार नयाँ भाडादर तोकेका हुन् ।

व्यवसायीले लिएको भाडा सरकारले नै तोकेको सीमाभित्रै रहे पनि जनतामा मार परेको गुनासो आएपछि सबै एयरलाइन्सले भाडादर घटाएको वायुसेवा सञ्चालक संघ (आयोनं) का प्रवक्ता योगराज कँडेलले बताए । घटाइएको भाडादर सोमबारदेखि नै कार्यान्वयनमा जाने एयरलाइन्स कम्पनीहरूले जनाएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*