बागमती गाउँपालिकाद्वारा अस्थायी लालपुर्जा बाँडिँदै

तु खबर संवाददाता
२०७६ फाल्गुन २९,बिहीबार ०९:०३

मकवानपुर, २९ फागुन । करिब ८० प्रतिशत लालपुर्जा विहीनको बस्ती रहेको मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिकाले स्थानीयलाई अस्थायी लालपुर्जा वितरण गर्ने भएको छ ।

जग्गा नापी भएको लामो समयसम्म पनि भूमिसुधार विभागले लालपुर्जा वितरण नगरेपछि गाउँपालिका आफैले लालपुर्जा दिन लागेको हो ।

अमिन र सर्वेक्षक नियुक्त गरी स्थानीयले उपभोग गरेका जग्गा नापी गरेर अस्थायी लालपुर्जा वितरण गर्न लागेको गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिनुभयो ।

संघीय सरकार भूमि सुधार ऐन संसद्मा पारित गरी लालपुर्जा दिने तयारी गरेपछि गाउँपालिकाले पनि जग्गा नापी सुरु गरेको उहाँको भनाइ छ । ‘१० वर्षदेखि भोगचलन गर्दै आइरहेका जग्गाका धनीलाई गाउँपालिकाको तर्फबाट नै अस्थायी लालपुर्जा दिने गरी तयारी भइरहेको हो,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार ९ जना अमिन र एक सर्वेक्षक नियुक्त गरी गत वर्षको फागुनदेखि जग्गा नाप्न थालिएको थियो । हालसम्म ४ नम्बर वडाको करिब ५ सय परिवारको जग्गा नापजाँच गरी कित्ता छुट्याइएको छ ।

४ नम्बर वडाको झुरझुरे, थली, पहरी टोल, पाल्पाले, पाँच पाण्डव, लामकाना, डकास, साततले, चाँदेलगायतका ठाउँको जग्गा नापी लालपुर्जा दिने अन्तिम तयारी भइसकेको वडाध्यक्ष रहरसिं थिङले जानकारी दिनुभयो ।

सबैभन्दा धेरै लालपुर्जा नभएको वडा ४ नै हो । ‘एक वर्षको अवधिमा यो वडाको सबै जग्गा नापी गरिसक्यौ । अब यही महिनाको अन्तिमबाट अस्थायी लालप’र्जा दिन्छौं,’ वडाअध्यक्ष थिङले भन्नुभयो ।

नापजाँच गर्ने कर्मचारी अहिले १ नम्बर र ५ नम्बरमा खटिएका छन् । २०३२ सालमा नापी भएर पनि लालपुर्जा वितरण नभएकालाई पुनः नापी गरी अस्थायी रूपमा वितरण गर्न लागिएको वडाध्यक्ष थिङले बताउनुभयो ।

संघीय सरकारको भूमि सुधार ऐनले पनि १० वर्षसम्म भोगचलन गरका जग्गाको स्वामित्व सम्बन्धित किसानलाई नै दिनेगरी व्यवस्था गरेको र सोहीअनुसार जग्गा नापी र फिल्डबुक उतार गर्नका लागि गाउँपालिकाले सहजीकरण गरेको उहाँले बताउनुभयो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*