भीमफेदी–कुलेखानीको जोखिम सडक फराकिलो पारिँदै

तु खबर संवाददाता
२०७६ फाल्गुन २३,शुक्रबार १७:०४
file photo

हेटौंडा, २३ फागुन । हेटौंडा–कुलेखानी–काठमाडौं सडक खण्ड अन्तर्गत् भीमफेदी–कुलेखानी सडक खण्ड फराकिलो बनाउने काम तीव्र गतिमा भइरहेको छ ।

दुर्घटनाको अति नै जोखिमयुक्त भीमफेदी र कुलेखानी जोड्ने १६ किलोमिटर सडकलाई १ वर्षभित्र सम्पन्न गर्ने गरी सडक स्तरोन्नती गर्ने काम भइरहेको छ । यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशले प्रदेश राजधानी र केन्द्रीय राजधानी जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा रहेको उक्त सडक खण्डको स्तरोन्नती गर्ने काम समयमै सकाउने लक्ष्य लिएको छ ।

भीमफेदीदेखि देउरालीडाँडा र देउरालीदेखि कुलेखानीसम्म दुई चरणमा गरेर सडक स्तरोन्नतीको काम भइरहेको छ । भीमफेदीदेखि देउरालीसम्मको ८ किलोमिटर मोतिदान–रायमाझी जेभी र देउरालीदेखि कुलेखानीसम्मको मोतिदान–एसबीए जेभीले ठेक्का पारेको थियो ।

हेटौंडा–काठमाडौं जोड्ने छोटोमार्गको भीमफेदीदेखि कुलेखानीसम्मको सडक जोखिमयुक्त हो । यो सडकमा अत्याधिक रुपमा सवारी दुर्घटना हुने गरेको छ । सडकमा धेरै घुम्तीमोड भएकोले सवारीहरु दुर्घटनामा पर्ने गरेका छन् । करिब ३ देखि ४ मिटर फराकिलो सडकमा दैनिक हजारौं संख्यामा चार पाङ्गे सवारी आवतजावत गर्छन् ।

अब साढे ५ मिटर फराकिलो कालोपत्रे सडक हुनेछ । सडकको छेउमा डेढ फिट ग्राभेल बिछ्याइने सूचना अधिकारी पुडासैनीले जानकारी दिनु भयो । उहाँका अनुसार सडकको भित्तासम्मै कालोपत्रे गरिने र गाडीको एकतर्फी टायर गुड्न मिल्ने गरी पानी बग्ने सानो नाला निर्माण गरिनेछ ।

करिब ३४ करोड लागतमा भीमफेदीको वडा नं. ६ बाट सुरु गरेर इन्द्रसरोबर वडा नं. २ कुलेखानीसम्मको १५ दशमलव ९ सय २६ किलोमिटर सडक स्तरोन्नती गर्न लागिएको निर्देशनालयका सूचना अधिकारी इन्जिनियर कुमार पुडासैनीले तु खबरलाई जानकारी दिनु भयो । ठेकेदार कम्पनीले ५ वटा एक्साभेटर लगाएर कटिङको काम गरिरहेको पुडासैनीले बताउनु भयो ।

सडकको घुम्तीमोडहरुलाई सुधान गरी फराकिलो बनाइने सूचना अधिकारी पुडासैनीले बताउनु भयो । उहाँका अनुसार सडकमा पहिले नै निर्माण भएको रिटेनिङ वाल र तारजाली आवश्यकताका अनुसार भत्काइने छ । साँघुरो भएमात्रै रटेनिङ वाल र तारजाली भत्काइने पुडासैनीले तु खबरलाई बताउनु भयो ।

१७ माघ २०७६ मा निर्देशनालय र ठेकेदार कम्पनीबीच एक वर्षभित्र सम्पन्न गर्ने गरी भीमफेदी–कुलेखानी सडक खण्ड स्तरोन्नती गर्न सम्झौता भएको छ । २२ माघदेखि ठेकेदार कम्पनीले काम सुरु गरेको थियो ।

सवारीलाई नियमित चल्न दिइने

यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशले उक्त निर्माणाधिन भीमफेदी–कुलेखानी सडक खण्डमा सवारीलाई नियमित चल्न दिइने जनाएको छ ।

सडक स्तरोन्नती गर्न सवारी सञ्चालनमा लोक लगाउनु नपर्ने सूचना अधिकारी पुडासैनीले जानकारी दिनु भयो । उहाँले सडक स्तरोन्नती गर्ने कामले यात्रुहरुलाई समस्या हुन नदिने बताउनु भयो ।

‘हामी यो सडक बन्द गरेर काम गर्दैनौ । सबै सवारीलाई नियमित चल्न दिइने छ ।–’ उहाँले भन्नु भयो, ‘कहिले काँही केही समय सवारी रोकिन सक्छ । त्यो पनि १० मिनेट भन्दा बढी हामी रोक्दैनौं । यो योजना सम्पन्न नहुने बेलासम्मै हामी नियमित सवारी चल्न दिन्छौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*