हेटौंडाको चामल गोदाम भरिएपछि जङ्गबहादुर राणालाई चिठी,‘भीमफेदीसम्मको ढुवानी समयमै नभए जरिवाना’

२०७६ फाल्गुन १४,बुधबार १५:४३
श्री ३ जङ्गबहादुर राणा ।

रसुवाको स्याफ्रुमा खटिएका मेजर महारुद्र खत्रीले हेटौंडामा रसद (चामल)ले गोदाम भरिइसकेको, खाली धोक्रा बाँकी नरहेको उल्लेख गर्दै प्रधानमन्त्री जङ्गबहादुर राणालाई चिठी पठाएका थिए । उनले चिठी मार्फत रसुवामा चामल चलान हुन नसकेको समस्या जाहेर गरेका थिए ।

यस्तै, केरुङमा खटिएका मेजर दलजित विष्टले प्रधानमन्त्रीलाई चिठी पठाएर बाटो मर्मत गरेको, साँघु बनाएको र साँघु बनाउन नसकिने ठाउँका लागि डुङ्गा बनाउने तयारी भइरहेको व्यहोरा जानकारी गराएका थिए । चिठी पाएपछि जङ्गबहादुरले महारुद्रलाई हेटौंडाको चामल उठाउन मकवानपुरका गाउँबस्तीका रैतीहरूलाई बोकाएर भीमफेदी ल्याउन अह्राएका थिए ।

तराईका बारा, पर्सा, रौतहट, सर्लाहीबाट चामल उठाउन कर्णेल डिल्लीसिंह बस्न्यात र खजाञ्ची सिद्धिमानसिंह राजभण्डारी खटिएका थिए । उनीहरूले गोदामसम्म चामल पुर्‍याउन गोरुगाडा र घोडाको ज्यालाका लागि रु।३७ हजार ६८७ चाहिने विषयमा पहिले नै केन्द्रमा माग गरिसकेका थिए ।

जङ्गबहादुरले दुवैलाई चिठी पठाएर उक्त रकम तराईमै रहेका ठूला सुब्बा रत्नमानसिंह राजभण्डारीका नाममा पठाइदिएको जानकारी गराएका थिए । यो रकमले भीमफेदीसम्म चामल ढुवानी गर्न भनिएको थियो ।

यस्तै, चिठीमा बर्दिबासमा धर्मनारायण साहुले राखेका ४२ हजार धोक्रा रसुवामा मेजर महारुद्रकहाँ पुर्‍याइदिन पनि निर्देशन दिएका थिए । पौष संक्रान्तिको केही दिनमा काहिलो वा ठाहिलो भाइ हेटौंडासम्म आउने र त्यसअघि नै भीमफेदीमा चामल आइपुग्नुपर्ने जङ्गबहादुरले डिल्लीसिंह र सिद्धिमानसिंहलाई सजग गराएका थिए । किनकि, भीमफेदीबाट चामल बोकेर ल्याउन भरियाहरू पठाइसकिएको थियो ।

उता सुदूरपश्चिमको डोटीबाट कर्णेल कृष्णध्वज कुँवर राणाले जङ्गबहादुरलाई चिठी लेखेर रसद जम्मा गरिरहेको जाहेर गरेका थिए । हिउँले बाटो अवरोध नगरे तोकिएको ठाउँमा भनेकै समयमा रसद पुर्‍याउने उनको तयारी थियो ।

कृष्णध्वजले बैतडीको डुङ्गाघाटसहित विभिन्न गौंडामा पहरा दिन र सिलगढी दरबारकोट जाँचको काममा कनकसिंह महतलाई अह्राएका थिए । अहिले भएका सिपाहीबाट काम सम्हाल्न नसक्ने जवाफ आए आफूसँग रहेका सुब्बा वीरभञ्जन माझीलाई डोटी पठाई महतलाई बोलाउने कृष्णध्वजले प्रधानमन्त्रीलाई खबर पठाएका थिए ।

पौष संक्रान्तिको केही दिनमा काहिलो वा ठाहिलो भाइ हेटौंडासम्म आउने र त्यसअघि नै भीमफेदीमा चामल आइपुग्नुपर्ने जङ्गबहादुरले डिल्लीसिंह र सिद्धिमानसिंहलाई सजग गराएका थिए । किनकि, भीमफेदीबाट चामल बोकेर ल्याउन भरियाहरू पठाइसकिएको थियो ।

श्री ३ जङ्गबहादुरले कप्तान महारुद्र खत्रीलाई पठाएको चिठी

बारा पर्सा रौतहट सर्लाहि ४ जिल्लाबाट आयाका रसद हेटौंडामा रसद राखन्या घर चावलले भरियो. पौवामा पनि अटाउन्ज्याल सम्म राखियो. अब आयाको चावल राखन्या जगा छैन. धोक्रामा हालौं भन्या धोक्रा आयाको छैन. भन्या जेभयाको लेखि पठाउन्या काम बढिया गर्‍याछौ. धोक्राको कुरालाई धर्मनारान साहुमार्फतका धोक्राको ताकिति गरि चांडो पठाइदिनु भन्या काजि दिल्लिसिंह वस्न्यात् खंजाचि सिद्धिमानसिं राजभंडारिलाई ताकिति लेखिगयाको छ. तिमिले पनि ताकिति गरि बर्दिबासबाट धोक्रा झिकाइ धोक्रामा हालन्या काम गरेर हेटौंडामा जमा भयाको रसद बोकनलाई ञाहाबाट पिपाहरू पठाइ दियाको छ पुगला. लेखन्या मानिसका कुरालाई येक मुखिया र पाँच नौसिंदा हिजो ञाहाबाट हिड्या. आइपुग्याका रसद राखनालाई मकवानपुरका मानिस झारा गरि ताहाराखनु ई गुहारि काम गर, धर्मनारानलाई भंदा ४२ हजार धोक्रा बर्दिवासमा पुग्याका छन् भन्छन्.

१९११ पौष वदि २ रोज ४

जङ्गबहादुरले कर्णेल डिल्लीसिंह बस्न्यात र खजाञ्ची सिद्घिमानसिंह राजभण्डारीलाई लेखेको चिठी

रसद ल्याउन्यालाई गाडा बयेल टट्टुको ज्याला भाडा दिनलाई ३७६८७ ।।रु. चाहिन्या रहेछ भनि तिमिहरूले अघि लेखि पठाउँदा रुपैयाको ठेगाना गरि श्री ठाइला भाइको हुंडिगरि मिरसुवा रत्नमानसिं राजभंडारिका नाउमा पठायाको आइपुग्याकै होला. इनै रुपैयाँले वयल टट्टुको ज्याला मजदुरी लगाई भिमफेदिसम्म रसद आइपुगन्या वन्दोवस्त गर्नु. धोक्राका कुरालाई ताहा धर्मनाराणमार्फतका धोक्रा जाहा जाहा छन् ताकिति गरि महारुद्र खतृछेउ पठाइदिन्या काम गरनु. औं पुस लागन्या सक्रान्तिका भोलि वेर काहिलाभाइ भया पनि ठाहिला भाइ भयापनि हेटौडासम्म आउन्या छन्. तिभाइहरू आउँदासम्म भिमफेदिमा रसद आइपुगेन भन्या तिमिहरूलाई जरिवाना हुन्याछन्. सो बुझि सबै कुराको ताकिति गर्न्या काम गरि भिमफेदि देखि रसदबोकि ल्याउनालाई पिपा खलासि पठायाका छन्. तिनलाई वोकन हर्कत हुन नपाओस् ———————————————

लिस्ति गोदाममा कामकाज गर्दाको निमित्त सुवाइस्वीर प्रसाद अर्याल कपतान रामलिहित रवाना भयो. —————————

१९११ पौष वदि २ रोज ४

कर्णेल कृष्णध्वज कुँवर राणाले जङ्गबहादुर राणालाई पठाएको चिठी

रसद जम्मा भयापछि वरफले वितवल परेन भन्या तिमिहरूले ठहराई लेखि पठाउनु र जवाफ गया बमोजिम् वैतडि झुलाघाट कुर्न्हालाई जमदार १ हुद्दा २ सिपाहि २० डडेल्धुरामा ५ सर्मालिमा ५ जोडायलमा ५ काला ढुंगा ५ राखि बाकी रह्याका हुदा सिपाहि ले सिलगढीका दरवार कोट जाँचको काम असुल तहसिल जोजो गर्नु पर्न्या काम छ सबै ठाउँ ढाकि काम चलाउनु. सरदार कनकसिं महतलाई लेखि पठाउनु. यतिले ढाकि काम गर्न सक्छु भन्या बढिये भयो कंपनि छदैछ, काम चलाउन सक्तिन भनि पर सर्‍या भन्या सुवाविरभंजन माझिलाई डोटि पठाई सरदार कनकसिं महतलाई ताहा झिकाउन्या काम गर्नु भनि लेखि बक्सनु भयाको रहेछ, बढिया भयो. रसद ज्मा गर्न्या काम बरोबर लागि रह्याछु. रसद ज्मा भैसकियापछि बरफले वितौल परेन भंनि ठहराई हजुरमा विंति चह्राई पठाउन्या काम गरौंला. वैतडि डुंगा घाट सहित गौंडा गौंडा कुर्न्ह्या र सिलगढि दरवारकोट जाँचको काम गर भनि सरदार कनकसिं महतलाई लेखि पठायाको छ. यतिले काम ढाकि सक्तीन भनि लेखिगयाको मर्जि बमोजिम सुवाविरभंजन माझिलाई सिलगढि पठाई सर्दारलाई ञाहा झिकाउन्या काम गरुला.

१९११ पौष वदि ४ रोज ६

हिमाल खबरमा ज्ञानमणि नेपालले लेख्नु भएको सभार ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*