मकवानपुरमा गाउँलेका ‘चिकित्सक’ बन्दै विद्यालय नर्स

तु खबर संवाददाता
२०७६ फाल्गुन ९,शुक्रबार ०८:५६
file photo

मकवानपुर, ९ फागुन । बागमती प्रदेशका सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नर्सले विद्यार्थीलाई जंक फुड खान रोक लगाएका छन् भने सरसफाइ र स्वास्थ्य चेतनाका विषयमा जानकारी गराउँदा विद्यार्थीको जीवनशैलीमा परिवर्तन देखिएको छ ।

मकवानपुरको कैलाश गाउँपालिका–३ स्थित कालिका माविमा विद्यार्थीले अहिले घरबाटै चिउरा, चना, रोटी ल्याउने गरेका छन् । उक्त विद्यालयकी नर्स विन्दा तितुङले विद्यार्थीलाई जंकफुड खान रोक लगाएकी छन् । उनले स्कुलको सरसफाइबारे समेत शिक्षक र विद्यार्थीलाई परामर्श दिने गरेकी छन् ।

सामान्य रोग लागे पनि गयल हुने विद्यार्थी नर्सको प्रभावका कारण विद्यालय आउन थालेको प्रधानाध्यापक राजाराम पराजुलीले बताए । ‘नर्सको व्यवस्था भएपछि स्कुलको वातावरणमै परिवर्तन आएको छ,’ उनले भने, ‘स्कुलमा नै उपचार हुने भएपछि अभिभावकले पनि स्कुल पठाउन प्रेरित गर्ने गरेका छन् ।’

विद्यालयमा साढे ६ सय विद्यार्थी अध्ययन गर्छन् । दैनिक २० देखि ३० जना सामान्य बिरामी हुने गरेका छन् । नर्स तितुङले नै उनीहरूको उपचार गर्ने गरेकी छन् । स्कुललाई आवश्यक औषधी गाउँपालिकाले व्यवस्था गरिदिएको छ ।

चितवनको कालिका नगरपालिका शक्तिखोरस्थित चतुर्मुखी माविमा पनि नर्सको व्यवस्था छ । उक्त विद्यालयमा स्थानीय धनमाया चेपाङ नर्स छिन् । उनी नर्स बनेपछि स्थानीय चेपाङ समुदायका अभिभावक र विद्यार्थीका पढाइप्रति सकारात्मक प्रभाव परेको प्रधानाध्यापक चन्द्र गुरुङले बताए ।

‘चेपाङ समुदायकै चेली नर्स भएपछि त्यसले ‘मोटिभेसन’को काम गरेको छ,’ उनले भने, ‘उनी यही विद्यालयमा पढेकी विद्यार्थी हुन्।’ नर्स चेपाङले छात्राहरूलाई महिनावारी र प्रजनन स्वास्थ्यबारे परामर्श दिने गरेकी छन् । विद्यार्थी बिरामी भएर स्कुल आएनन् आफै घरसम्म पुगेर उपचार गर्छिन् ।

विद्यालयमा दैनिक २५ देखि ३५ जनासम्म विद्यार्थी बिरामी हुने गर्छन्। उनले चेपाङ भाषा पनि बोल्ने भएकाले चेपाङ समुदायका विद्यार्थीलाई अझ सहज भएको प्रधानाध्यापक गुरुङले बताए ।

उक्त विद्यालयमा ४५ प्रतिशतभन्दा बढी चेपाङ समुदायका बालबालिका अध्ययन गर्छन्। दुर्गम गाउँका विद्यालयमा खटिएका नर्सको सेवा स्कुलमा मात्र सीमित छैन, स्थानीय समुदायमा पनि योगदान पुगेको छ । गाउँले बिरामी हुँदा पनि उनीहरूलाई नै सोध्ने गरिएको छ । आवश्यक उपचार र सल्लाह दिने भएकाले गाउँलेका लागि उनीहरू ‘चिकित्सक’ सरह बनेका गुरुङले बताए ।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले गत आर्थिक वर्षमा १३ जिल्लाका २० विद्यालयमा कार्यक्रम लागू गरेको थियो। हाल प्रदेशका १२१ वटा विद्यालयमा नर्स खटाइएको छ । नमुना कार्यक्रमको परिणाम प्रभावकारी देखिएकाले सबै पालिकामा विस्तार गरिएको सामाजिक विकासमन्त्री युवराज दुलालले बताए ।

मन्त्रालयले कम्तीमा एक स्थानीय तहको एक माविमा नर्सको व्यवस्था गरेको छ । छानिएका १०१ जनालाई मन्त्रालयले तीन महिनाअघि नियुक्ति दिएको थियो। अहिले नर्सको कामप्रति सबैतिरबाट राम्रो प्रतिक्रिया आएको मन्त्रालयका प्रवक्ता सतिश विष्टले बताए ।

बागमती प्रदेशमा एक हजार ३५० सामुदायिक मावि छन्। बागमती प्रदेशले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी भएपछि प्रदेश १ ले चालु आवमा २० वटा विद्यालयमा र संघीय सरकारले ३० जिल्लाका केही विद्यालयमा नमुनाको रुपमा ‘एक विद्यालय एक कार्यक्रम’ लागू गरेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*