मकवानपुरको ‘बकैया साहित्य महोत्सव’मा ७ जनालाई सम्मान गरिँदै

२०७६ माघ २५,शनिबार २०:४७
साहित्यको उर्वर भूमि मानिने मकवानपुरको पूर्वी क्षेत्र छतिवनस्थित गौतमबुद्ध पर्यटन पार्क । यही पार्कमा कार्यक्रम आयोजना गरिँदै छ ।

हेटौंडा, २५ माघ । मकवानपुरको बकैया गाउँपालिकामा बकैया साहित्य महोत्सव–२०७६ हुने भएको छ ।

झरना साहित्यीक परिवार मकवानपुरको २७ औँ वार्षिकोत्सवको अवसरमा आगामी फागुन १६ र १७ गते महोत्सव आयोजना गर्ने निर्णय भएको झरना साहित्यीक परिवार मकवानपुरका अध्यक्ष दिपक गौतमले जानकारी दिए ।

महोत्सव अन्तर्गत छन्द कविता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम हुने बताइएको छ । साहित्यको उर्वर भूमि मानिने मकवानपुरको पूर्वी क्षेत्र छतिवनस्थित गौतमबुद्ध पर्यटन पार्कमा कार्यक्रम आयोजना गरिने तयारी रहेको जनाइएको छ ।

शनिबार हेटौंडामा बसेको झरनाको कार्य समिति बैठकले कार्यक्रमको विषयमा यस्तो निर्णय गरेको अध्यक्ष गौतमले बताए ।

वार्षिकोत्सव कार्यक्रमको अवसरमा झरनाले साहित्यकार तथा पत्रकार डा. नवराज लम्सालसहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने ७ जनालाई मकवानपुरमा सम्मान गरिने भएको छ ।

मकवानपुरको छतिवनमा २०५० सालमा स्थापित झरना साहित्यीक परिवारले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा क्रियाशील रही समाजमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्न लागेको झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष गौतमले जानाए ।

परिवारले साहित्यकार तथा पत्रकार लम्साललाई होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०७६ बाट सम्मानगर्न लागेको छ । नगद १५ हवार ५ सय ५५ रुपैयाँ राशीको यो सम्मान झरनाका सल्लाहकार तथा छतिवनका स्थायीबासिन्दा नुरप्रसाद गौतमले स्थापना गरेका हुन् ।

त्यसैगरी शिव–साबित्री अधिकारी मुक्तक सम्मान–२०७६ मुक्तककार उषा शेरचनलाई प्रदान गरिने भएको छ । नगद ११ हजार १ सय ११ रुपैयाँको यस सम्मान झरनाका संस्थापक अध्यक्ष रमेश मोहन अधिकारीले स्थापना गरेका हुन् ।

बुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०७६ व्यङ्ग्यकार रामचन्द्र आचार्य फुर्सतीलाई प्रदान गरिने भएको छ । नगद ११ हजार १ सय ११ रुपैयाँ राशीको यस सम्मान विनोद सुवेदीले स्थापना गरेका हुन् ।

त्यसैगरी खडानन्द–मनमाया प्रतिभा सम्मान–२०७६ विनोद विक्रम केसीलाई प्रदान गरिने भएको छ । नगद ५ हजार ५ सय ५५ रुपैयाँको उक्त सम्मान मामाघरका परिकल्पनाकार तथा संरक्षक अर्पण पराजुली र दर्पण पराजुलीले गरेका हुन् ।

शुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०७६ कवि विना थिङ तामाङलाई प्रदान गरिने भएको छ । नगद ५ हजार ५ सय ५५ रुपैयाँको उक्त सम्मान राजन दङ्गालले स्थापना गरेका हुन् ।

सञ्जीवनी बुटी साहित्य सेवा सम्मान–२०७६ साहित्यसेवी मुक्ति गोविन्द वैद्यलाई प्रदान गरिने भएको छ । नगद ५ हजार ५ सय ५५ रुपैयाँको उक्त सम्मानको संस्थापक तुल्सी गिरी हुन् ।

यसवर्ष पत्रकारतर्फको सम्मान वरिष्ठ पत्रकार प्रताप विष्टलाई प्रदान गर्ने निर्णय भएको अध्यक्ष गौतमले जानकारी दिए । गौतमको अध्यक्षतामा भएको बैठकमा सल्लाहकारहरु जनार्दन खनाल, रमेश मोहन अधिकारी, नुर प्रसाद गौतम लगायत उपस्थित थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*