मकवानपुरगढीमा विजयोत्सव मनाइयो, सेतो हात्तीको प्रतिमा अनावरण

तु खबर संवाददाता
२०७६ माघ १०,शुक्रबार १६:२५

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडासँगै जोडिएको ऐतिहासिक मकवानपुरगढीमा २५७ औं विजयोत्सव मनाइएको छ ।

मकवानपुरगढी गाउँपालिकाको आयोजनामा भएको विजयोत्सव कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको नेपालको राष्ट्रिय झण्डोत्तोलन तथा सेतो हात्तीको प्रतिमा अनावरण गरेका छन् ।

मुगल बादशाह मिरकासिमको नेतृत्वमा रहेको अंग्रेज फौजलाई गोर्खाली सेनाहरुले पराजित गरेको सम्झनामा शुक्रबार मकवानपुर जिल्लाको ऐतिहासिक किल्ला मकवानपुरगढी दरबारमा विजयोत्सव मनाइएको हो ।

मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंको अध्यक्षतामा भएको विजयोत्सव कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा अर्थ समिति सभापति कृष्ण प्रसाद दहाल, तत्कालिन संविधानसभा सदस्य अनन्त पौडेल, प्रदेशसभा सदस्य मुनु सिग्देल, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति सभापति रघुनाथ खुलाललगायतकाको सहभागिता थियो ।

गतवर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले २५६ औं विजयोत्सवमा नेपालको झण्डोत्तोलन र संघीय नेपालको नक्सा अनावरण गरेकी थिइन् । सरकारले घोषणा गरेको १०० नयाँ पर्यटकीय स्थलमा समावेश भएको मकवानपुरगढी दरबार देशकै देशकै सबैभन्दा ठूलो र पुरानो गढी भएको मानिन्छ ।

विसं. १८१९ माघ १० गते तत्कालीन अंग्रेज फौजलाई पराजित गरिएको सम्झनामा मकवानपुरगढी किल्लामा केही वर्षदेखि विजयोत्सव मनाउँने गरिएको छ । तीन हजार अंग्रेजको फौजलाई मकवानपुरगढीबाट केही तल शिखरकटेरीबाट अघि बढ्न नदिएर तत्कालीन गोर्खाली फौजले पराजित गरेको थियो ।

मकवानपुरगढी दरबार १६१० सालमा सेन वंशीय राजाको शासनकालमा निर्माण भएको बताइन्छ । चारैतिर अग्लो पर्खालले घेरिएको मकुन्दसेनको दरबार छ ।

त्यही दरबार पृथ्वीनारायण शाहको ससुराली पनि हो । हाल सो दरबार भग्नावशेष अवस्थामा छ । मकवानपुरगढी किल्ला करिब १३५ रोपनी क्षेत्रमा फैलिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*