इन्द्रसरोवरमा प्याराग्लाइडिङको योजना अलपत्र

तु खबर संवाददाता
२०७६ पुष १६,बुधबार १५:१९

हेटौंडा, १६ पुस । मकवानपुरको प्रमुख पर्यटकीय गन्तव्य इन्द्रसरोवर गाउँपालिकामा २ पटक प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ । विगतमै गाउँपालिकाको व्यवसायिक उडान भर्ने योजना अलपत्र परेको छ ।

२०७६ वैशाखमै गाउँपालिकाले मार्खुस्थित कुलेखानी जलविद्युत् आयोजनाको ताल इन्द्रसरोवरमाथि गुम्बा डाँडाबाट प्याराग्लाइडिङको सफल परिक्षण गरेको थियो ।

हिजो मंगलबार पुनः प्रदेश ३ सरकारले इन्द्रसरोबरमा प्याराग्लाइडिङको परीक्षण गर्दै अंग्रेजी नयाँ वर्षसँगै पर्यटन वर्ष २०२० को स्वागत गरेको छ । पोखराका विशाल लामा र पवन शर्मा, नारायणप्रसाद तिवारी र दावा शेर्पाले सफल परिक्षण गरेका थिए ।

वैशाखमा परिक्षण सफल भएपछि इन्द्रसरोवर गाउँपालिकाले व्यवसायिक उडानको लागि प्रक्रिया पूरा गर्ने बताएको थियो । तर, ८ महिना बितिसक्दा पनि गाउँपालिकाले कार्यपालिका बैठकबाट व्यवसायिक प्याराग्लाइडिङको लागि निर्णय समेत गरेको छैन् ।

त्यतिबेलै गाउँपालिका अध्यक्ष जिवन लामाले सम्पूर्ण प्रक्रिया पूरा गरेर मकवानपुरमै पहिलो पटक व्यवसायिक प्याराग्लाइडिङको सुरुवात गर्ने बताएका थिए । तर, उनले प्रक्रियाको सुरुवात नै गरेका छैनन् ।

व्यवसायिक उडानको लागि नेपाल नागरिक उडड्यन प्राधिकरणसँग अनुमति लिनु पर्छ । अनुमति लिन उडान भर्ने आकाशको क्षेत्र, परिक्षण प्रतिवेदन, कार्यपालिकाको निर्णयलगायतका थुप्रै प्रक्रिया पूरा गर्नु पर्दछ ।

प्याराग्लाइडिङको सफल परीक्षण, उडानको अवस्थालगायतका विषय समेटिएको प्रतिवेदन पनि गाउँपालिकासँग छैन । तु खबरसँग कुरा गर्दै इन्द्रसरोवर गाउँपालिका अध्यक्ष लामाले अब प्रतिवेदन माग गरिने बताए । उनले अब कार्यपालिका बैठकबाट निर्णय गराउने बताए ।

परीक्षण उडानसँगै प्याराग्लाइडिङ उडानको लागि आवश्यक अनुमति लिने प्रक्रिया अघि बढाइने अध्यक्ष लामाले बताए । ‘उडड्यन प्राधिकरणले अनुमति दिने वित्तिकै हामी व्यावसायिक उडान थाल्छौं’,उनले भने, ’यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा यसले महत्वपूर्ण सहयोग गर्नेछ भन्ने अपेक्षा लिएका छौं।’

राजधानी काठमाडौंबाट नजिक रहेको कुलेखानी, मार्खु र चित्लाङ क्षेत्रमा वर्षेनी पर्यटक करिब ५० हजार पर्यटक आउने गरेको अध्यक्ष लामाले बताए । ’हामीसँग प्राकृतिक सुन्दरता र हावापानीको कमी छैन, त्यसमा आवश्यक पूर्वाधार थपेर वार्षिक एक लाख बढी पर्यटक भित्र्याउने लक्ष्यका साथ काम गरिरहेका छौं,’उनले भने ।

इन्द्रसरोबर किनारबाट करिब पाँचसय मिटर उचाइमा रहेको गुम्बाडाँडाबाट प्याराग्लाइडिङ उडान उपयुक्त रहेको प्याराग्लाइडर विशाल लामाले बताए । ‘उपयुक्त ठाउँ छ, करिब आधा घण्टा आकाशमा उडेर यस क्षेत्रका मनोरम दृष्यावलोकन गर्न सकिन्छ’, उनले भने ।

‘हामीले पर्यटन पर्वको मुख्य आकर्षणको रुपमा इन्द्रसरोबर जलाशयमा मोटरबोटसँगै प्याराग्लाइडिङ थप गर्छौंं’, गाउँपालिका अध्यक्ष लामाले भने, ‘राजधानीबाट नजिक रहेको यस ठाउँमा कम्तिमा २ दिन घुम्न र रामाइलो गर्न सक्ने पूर्वाधार विकास गर्दैछौं ।’

इन्द्रसरोबर प्रदेश ३ सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को उत्कृष्ट पर्यटकीय गन्तब्य हो । इन्द्रसरोबर बीच तालमा रहेको टापुमा हिन्दु र बौद्ध धर्मावलम्बीहरुको धार्मिक गन्तब्य निर्माण गर्न प्रदेश सरकारले डीपीआर तयार गरिरहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*