आँचल मकवानपुरद्वारा ६ जना सम्मानित

२०७६ मंसिर २१,शनिबार १७:५१

मकवानपुर, २१ मंसिर । मकवानपुरमा रहेर साहित्यमा क्रियाशिल आँचल साहित्य कला पुञ्जले साहित्यका विभिन्न विधामा योगदान पुर्याउने ६ जनालाई सम्मान गरेको छ ।

संस्थाको वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा शनिबार (आज) हेटौँडामा उनीहरुलाई सम्मान गरेको हो ।

संस्थाले बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७६ समालोचक तथा कवि डा. विन्दु शर्मालाई प्रदान गरिएको छ । समाजसेवी हरिवंश भेटवालले आफ्नो मातापिताको नाममा स्थापना गरेको पुरस्कारको राशी १० हजार रहेको छ ।

संस्थाकी संस्थापक अध्यक्ष मुना अर्यालले आफ्नो दिदी प्रतिभा धितालको नाममा स्थापना गरेको प्रतिभा धिताल छन्द पुरस्कार–२०७६ साहित्यकार प्रभा भट्टराईलाई प्रदान गरिएको जनाइएको छ । पुरस्कारको राशी १० हजार रहेको संस्थाकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् ।

यस्तै ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान –२०७६ पत्रकार नवराज शर्मालाई प्रदान गरिएको छ । प्रकाश लम्सालले पिताको स्मृतिमा स्थापना गरेको सम्मानको राशी ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७६ साहित्यकार ललिता दोषीलाई प्रदान गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिइन् । साहित्यकार रुकु कार्कीले पिता तथा माताद्धयको नाममा स्थापना गरेको पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

त्यसैगरी अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७६ साहित्यकार आरसी रिजाललाई प्रदान गरिएको जनाइएको छ । संस्थाकी संस्थापक उपाध्यक्ष तथा २०७३ देखि २०७५सम्म अध्यक्ष भएकी तिम्सिनाको नाममा उनका मातापिता गजाधर तिम्सिना तथा यशोधरा तिम्सनाले स्थापना स्थापना गरेको पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।

यस्तै, शिक्षासेवी देवप्रसाद श्रेष्ठ माता मंगलादेवि श्रेष्ठको स्मृतिमा स्थापना गरेको नवप्रतिभा सम्मान रहेको छ । जसको राशी ३ हजार ५ सय रहेको छ । उक्त पुरस्कार हटियाको त्रिभुवन माविमा कक्षा ८ मा अध्ययनरत इश्वर लुईटेललाई प्रदान गरिएको छ ।

कार्यक्रम संस्थाका कार्यबाहक अध्यक्ष अनिता न्यौपानेको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*