मुढा बनाउँदै बित्छ भीमफेदी कारागारका कैदीबन्दीको दैनिकी

तु खबर संवाददाता
२०७६ मंसिर १९,बिहीबार ०८:०९

मकवानपुर । मकवानपुरको भीमफेदी क्षेत्रीय कारागार पुग्ने जोकोहीलाई मुढा उद्योग पुगेजस्तो छनक मिल्छ । किनभने, कारागारमा रहेका प्रायः सबै कैदीबन्दी जुनसुकै वेला बाँसका मुढा बन्न व्यस्त हुन्छन् । कारागारभित्र पछिल्ला केही वर्षदेखि यो क्रम चलिरहेको छ । खुसीको कुरा त उनीहरूले उत्पादन गरेका मुढा उत्तरको छिमेकी देश चीन निर्यात हुँदै आएको छ ।

एक सयभन्दा बढी कैदीबन्दीले दिनहुँ मुढा उत्पादन गर्ने भएकाले मासिक दुई हजारभन्दा बढी मुढा उत्पादन हुने गरेका छन् । तर, कैदीबन्दीका उत्पादनलाई बजारीकरण गर्न नसकिरहेको आलोचना हुने गरेको छ । यसैबीच, अब प्रदेश ३ सरकारले घरेलु उद्योगका रूपमा विकास गर्ने योजना अघि बढाएको छ ।

प्रदेश सरकारले कारागारमा उत्पादित वस्तुलाई बजारीकरण गर्न यस्तो योजना अघि सारेको हो । मुढा उत्पादनलाई उद्योगका रूपमा अघि बढाउन भीमफेदी गाउँपालिकाले पनि प्रदेश सरकारलाई बारम्बार अनुरोध गर्दै आएको छ । कैदीबन्दीले उत्पादन गर्ने मुढा अहिले चार महिनामा एकपटक मात्र निर्यात हुने गरेको छ । जसका कारण समस्या भइरहेको जेलर प्रकाश खनालले बताए । मुढा उत्पादनमा सहभागी हुने कैदीलाई वर्षमा ६० दिन कैद मिनाह हुने जेलर खनालले जानकारी दिए ।

रोजगारी र औजार दिइने
मकवानपुर, चितवन र धादिङ कारागारका कैदीलाई रोजगारी दिने तयारी प्रदेश सरकारले गरेको छ । तालिमपछि सीप उत्पादन सामग्री निर्माण गर्ने मेसिनसमेत दिएर रोजगार दिने मन्त्रालयको योजना छ । कैदीले उत्पादन गरेका सामग्री उचित मूल्यका लागि बजारीकरण गरिने मन्त्री जमकट्टेलले बताए । बजारका लागि कुनै स्थानमा उनीहरूले मात्र उत्पादन गरेका सामग्री राख्ने र बिक्री गर्नका लागि व्यवस्था मिलाउने उनले बताए ।

योजना बनाउँदै प्रदेश सरकार
केही वर्षदेखि कारागारमा कैदीले मुढा उत्पादन गर्दै आएको बारे प्रदेश सरकार जानकार भए पनि हालसम्म कुनै ठोस योजना बनाउन सकेको छैन । यस्तोमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यस वर्ष पहिलो चरणमा मकवानपुर, चितवन र धादिङ जिल्ला कारागारका कैदीलाई तालिम दिएर उत्पादनमा लगाउने तयारी गरेको छ । कारागारमा विभिन्न सामग्री उत्पादन गर्ने उद्योगका रूपमा विकास गर्न मन्त्रालयले योजना ल्याएको हो ।

कारागारका कैदीलाई तालिम दिने र रोजगारी दिने गरी कार्यक्रम गर्न लागेको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले बताए । संख्याका आधारमा ठूलो जनशक्ति कारागारमा भएकाले कैदीलाई सीप सिकाएर थप राम्रो जनशक्ति उत्पादन गर्नेतर्फ अग्रसर भएको मन्त्री जमकट्टेलले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*