साग आजदेखि, तयारी भव्य,खेल र पदक संख्याका आधारमा हालसम्मकै बृहत

तु खबर संवाददाता
२०७६ मंसिर १५,आईतवार ०८:३९

दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आइतबार सुरु हुँदै छ। नेपालले सन् २०१६ मा यो प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको थियो।

नेपालले जिम्मेवारी पाएको दुई वर्षभित्र यो प्रतियोगिता आयोजना गर्नुपथ्र्यो। तर, अपर्याप्त भौतिक पूर्वाधारका कारण पटकपटक प्रतियोगिता स्थगित हुँदै आएको थियो।

चौथो पटक तोकिएको मितिमा आएर १३औं सागले साकार रूप लिने अवसर जुरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिता उद्घाटन गर्नेछिन्। १३औं सागकै लागि रंगशाला पुनर्निर्माण गरिएको हो। विनाशकारी भूकम्पले रंगशालामा समेत क्षति पुर्‍याएको थियो। त्यसयता रंगशालामा हुन लागेको यो पहिलो प्रतियोगिता हो।

सागलाई दक्षिण एसियाली क्षेत्रको ‘मिनी ओलम्पिक’ का रूपमा हेरिन्छ। यसपटक प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन्। यसअघि सागमा आठ राष्ट्रको सहभागिता रहने गरेको थियो। यो संस्करणदेखि अफगानिस्तानले सागमा भाग नलिने निर्णय गरेको छ।

यद्यपि अन्तिम समयमा आएर अफगानिस्तानले केही खेलमा भाग लिने प्रस्ताव गरेको थियो। तर, अफगानिस्तानको उक्त प्रस्ताव अस्वीकार भयो।

नेपाली खेल अधिकारीहरुले १३औं सागको सम्पूर्ण तयारी पूरा भएको बताएका छन्। युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए। ‘मंसिर १५ गते साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपतिज्यूले साग समुद्घाटन गर्नुहुनेछ। यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ’, उनले भने। उनले सागमा सहभागी हुन आउने विशिष्ट पाहुना र अतिथिलाई स्वागत गर्न आफूहरू व्यग्र प्रतीक्षामा रहेको बताए।

अन्नपुर्ण पोस्टमा समाचार छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*