मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम प्रदेशका सबै जिल्लामा

तु खबर संवाददाता
२०७६ मंसिर ६,शुक्रबार ०९:१३
फाइल तस्बिर

गत आर्थिक वर्षमा नमुना योजनाका रूपमा अघि सारिएको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण प्रदेश ३ का सबै जिल्लामा लागू गरिने भएको छ । सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्ष ०७५–०७६ मा नमुनाका रूपमा पाँच जिल्लामा कार्यक्रम लागू गरेको थियो ।

कार्यक्रम प्रभावकारी देखिएपछि प्रदेश ३ का १३ वटै जिल्लामा लागू गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्षमा मन्त्रालयले पाँच जिल्लाका २५ हजारलाई समेटेर कार्यक्रमलाई नमुना योजनाका रूपमा अघि सारेको थियो ।

प्रदेश ३ का सबै जनतामा स्वास्थ्य पहुँच पुर्याउने उद्देश्यले नमुना कार्यक्रमलाई पूर्णता दिँदै १३ वटै जिल्लामा लागू गर्न लागिएको मन्त्री युवराज दुलालले बताए । आर्थिक अभावका कारण आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारीसमेत लिन नसक्ने समूहलाई लक्षित गर्दै प्रदेश सरकारले विभिन्न नसर्ने रोगको पहिचान गर्ने गरी कार्यक्रम ल्याएको मन्त्री दुलालले जानकारी दिए ।

एक लाखलाई समेट्ने लक्ष्य
मन्त्रालयले यस वर्ष एक लाख जनतालाई कार्यक्रममा समेट्ने लक्ष्य राखेको छ । एक लाखमध्ये अति विपन्न वर्गलाई शतप्रतिशत र आर्थिकस्थिति मध्यम भएकालाई २५ प्रतिशत छुटसाथ स्वास्थ्य परीक्षण गरिने मन्त्रालयको दाबी छ ।

मन्त्रालयका प्रवक्ता सतीश विष्टका अनुसार कार्यक्रमका लागि चालू आर्थिक वर्षमा ११ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । उनले स्वास्थ्य परीक्षणका लागि १० करोड, प्रचारप्रसार र नसर्ने रोगबारे जानकारी सचेतनामूलक कार्यक्रम गर्न एक करोड बजेट छुट्याइएको जानकारी दिए । प्रवक्ता विष्टका अनुसार १३ जिल्लामा प्रदेशमातहतका ८ अस्पताल र स्थानीय तहका वा संघीय सरकारले सञ्चालन गरेका अस्पतालमा सुरु गर्न लागिएको हो ।

यसरी सुरु भएको थियो कार्यक्रम
गत आर्थिक वर्षमा प्रदेश मन्त्रिपरिषद्को निर्णयानुसार मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम अघि सारिएको थियो । धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, भक्तपुर र सिन्धुलीका १–१ स्थानीय अस्पतालमा कार्यक्रम सञ्चालन गरिएको थियो । तीन करोड २० लाख बजेट विनियोजन गरेर १० हजारजनाको स्वास्थ्य परीक्षणबाट सुरुवात गरिएको कार्यक्रम यस वर्ष १३ वटै जिल्लामा सञ्चालन गर्ने गरी अघि सारिएको मन्त्रालयका प्रवक्ता सतीश विष्टले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*