प्रदेश–३ : अझै बनेन निजामती सेवा ऐन

२०७६ मंसिर ३,मंगलवार ०८:४२

प्रदेश ३ लोकसेवा आयोग अध्यक्षमा सुरेशमान श्रेष्ठले शपथ लिएका छन् । मुख्यमन्त्रीको संयोजकत्वमा रहेको समितिले श्रेष्ठलाई २७ कात्तिकमा अध्यक्षमा नियुक्त गरेको थियो । सोमबार प्रदेश प्रमुख विष्णु प्रसाईंले श्रेष्ठलाई शपथ ग्रहण गराए ।

आयोगको अध्यक्ष नियुक्त गर्न हतार गरे पनि प्रदेश सरकारले हालसम्म निजामती सेवा ऐन बनाउने तयारी थालेको छैन । निजामती सेवा ऐनविना कुनै काम अघि बढाउन नमिल्ने हुँदा अध्यक्ष नियुक्त गरे पनि आयोग कामविहीन हुने पक्का छ । ऐन निर्माण गर्न सौद्धान्तिक स्वीकृतसमेत लिइएको छैन ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संघीय सरकारले ऐन निर्माण नगर्दा प्रदेशमा समस्या भएको जनाएको छ । आयोगसम्बन्धी विधेयक प्रदेशमा बनाएर अध्यक्षसमेत नियुक्त गरिसकेको अवस्थामा संघीय सरकारले ऐन निर्माण नगर्दा कर्मचारी भर्ना प्रक्रिया खुला नहुने मन्त्रालयको दाबी छ ।

प्रदेश सरकारले केन्द्रमा कानुन निर्माण नभए पनि मन्त्रिपरिषद्बाट सौद्धान्तिक स्वीकृत लिएर ऐन निर्माणको प्रक्रिया अघि बढाउन सक्नेछ । तर, अध्यक्ष नियुक्त, आयोगको कार्यालय खोल्न हतार गरे पनि ऐन बनाउनेतर्फ तत्परता देखाएको छैन । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*