मकवानपुरको चेपाङ बस्तीमा पाँच वटा विद्यालय भवन निर्माण

२०७६ कार्तिक २७,बुधबार ०९:५६
file photo

मकवानपुर, २७ कात्तिक । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं ६, ७ र ८ मा पाँच वटा पक्की विद्यालय भवन निर्माण भएको छ । पक्की पाँच विद्यालयमध्ये ४ वटा विद्यालयका भूकम्परहित व्यवस्थित भवनहरु सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

नेपाल सरकार, राक्सिराङ गाउँपालिका, जिल्ला शिक्षा समन्वय इकाईसहितको समन्वयमा जर्मनस्थित लिसा हिमालय इभी र दीगो विकासका लागि एकता नेपाल नामक गैरसरकारी संस्थाले विद्यालयका पक्की भवनहरु निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको हो ।

मंगलबार वडा नं ७ को दामराङमा निर्मित दामराङ आधारभूत विद्यालय भवन एक समारोहका बीच लिसा हिमालय इभी जर्मनीका अध्यक्ष डानिला झारिङ, नेपाल प्रतिनिधि स्टेफन र दीगो विकासका लागि एकता नेपालका तर्फबाट अध्यक्ष अच्युतप्रसाद पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष कुलबहादुर चेपाङलाई हस्तान्तरण गरेका हुन् ।

भवन निर्माणका लागि २ करोड ५७ लाख ९९ हजार रुपियाँ खर्च भएको समारोहमा जानकारी गराइएको थियो ।

दामराङसहित लिसा हिमालय इभी र दीगो विकासका लागि एकता नेपालले वडा नं ६ को प्रजा कल्याण प्राथमिक विद्यालय, वडा नं ८ को जनज्योति आधारभूत विद्यालय, वडा नं ६ को जनसेवा प्राथमिक विद्यालयको भूकम्परहित पक्की भवन निर्माण गरिदिएको छ ।

टिकेढुंगा प्राथमिक विद्यालयको भवन निर्माणाधीन अबस्थामा रहेको लिसा हिमालय इभीका परियोजना संयोजक अन्जनप्रसाद पौडेलले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*