दक्षिण एसियाली ८ कविका ८ कविता

२०७६ कार्तिक २३,शनिबार १३:०६

भारतको नयाँदिल्लीमा यही अक्टुबर १८–२० मा दक्षिण एसियाको आधिकारिक साहित्यिक संस्था ‘फाउन्डेसन अफ सार्क राइटर्स एन्ड लिट्रेचरर्स’ को आयोजनामा दक्षिण एसियाली साहित्य महोत्सव सम्पन्न भयो ।

नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका र माल्दिभ्सका चर्चित लेखक कवि साहित्यकारहरूले भाग लिएको उक्त साहित्य सम्मेलनको इन्डिया इन्टरनेसनल सेन्टरको सिडी देशमुख अडिटोरियममा भव्यतासाथ उद्घाटन गरिएको थियो ।

साहित्य एकेडेमी, भारतका अध्यक्ष प्राध्यापक तथा साहित्यकार चन्द्रशेखर कम्बाराले उक्त साहित्य महोत्सवको उद्घाटन गरेका थिए । महोत्सव फाउन्डेसनकी अध्यक्ष प्रसिद्ध साहित्यकार श्रीमती अजित कौरको अध्यक्षतामा सम्पन्न भएको थियो । ३ दिन बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म चलेको उक्त कार्यक्रममा ३२ सेसनका भिन्नभिन्न कार्यक्रम भएको थियो ।

कार्यक्रममा कवि तथा लेखक रुपसिंह भण्डारीले ‘साहित्य स् स्वयंदेखि विश्वशान्तिसम्म’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । नेपालका कवि एवं निबन्धकार भीष्म उप्रेतीलाई ‘सार्क लिट्रेचर अवार्ड’ प्रदान गरेको छ ।

उक्त कार्यक्रमको कविता सेसनमा वाचन भएका सातै देशका केही प्रतिनिधि कविताहरू लेखक रुपसिंह भण्डारीले अंग्रेजीबाट नेपालीमा अनुवाद गरेका छन् ।

पढौं ८ कविताः

झ्याल
​​​​कवि : प्रा.डा. नाजिफ मनालाइ (अफगानिस्तान)

यदि त्यहाँ धुलो कुहिरो हुन्थेन भने
म कसरी झ्यालको सिसामा तिम्रो नाम लेख्न सक्थेँ ?
त्यो धुलो जसले प्रकाशलाई मेरो घरमा आउन रोकेको छ,

त्यसैले त
तिम्रो नाम मेरो औँलाले सिसामा लेख्न सहयोग गरेको छ
र तिम्रो नाम लेखेर
तिम्रो नामबाट प्रकाशलाई छिर्न दिएको छु
मेरो घर भित्र

दुई पूर्ण चन्द्रहरू​​​

कवि : विनिता अग्रवाल (भारत)

म आकाशलाई विश्वास गर्दिनँ ।
ती दुई पूर्ण चन्द्रहरूको
अर्काडियन बजाइ
भाग्यका कमजोर हाँगाहरू
नुनिलो समयमा भिजिरहेछन्
निरस यात्राहरू

ऋतुहरूका भिजेका मखमली हातहरू
दु : खका पहेँला पातहरू
प्रेमका क्रुरता
धुमिल गन्तव्यका
चमेली फुलमा तन्किएर मरिरहेका ताराहरू
म विश्वास गर्दिनँ यिनीहरूको निष्पक्षता
यौटा पूर्ण चन्द्रदेखि अर्कोसम्मको ।

तीर्थयात्रा
कवि : छाडोर वाङमो (भुटान)

आँखा जगमगाइरहेछन,
हृदय फरफराइरहेछ
मेरा काँपिरहेका हातहरूले
तातो कफीको कप समातिरहेछन ।

म मेरो प्रेमकथा लेख्न बसेको छु ।

उसले कसम खाएको थियो
उ आउने छ र हामीसँगै पिउने छौँ यो कफी
यौटा सूर्य र अर्को सूर्यास्तसम्म
नछोइएको कफी चिसिँदै गइरहेछ
एक कपपछि अर्को हुँदै
मेरो यो तड्पाइले मेरो झिनो आशा बेर्दै जान्छ ।
एक कपपछि अर्को !

कफी बनाउने भान्सासम्मको यात्रा
यो तीर्थयात्रा हो ।
जुन तिमिले कसम खाएका थियौ मसँगै पिउने

महान् गुरुहरू भन्छन्
तीर्थयात्रा,
यात्रा नै बढी हो
गन्तव्यभन्दा ।

सायद
मैले लेखिरहेको छु तिम्रा सपना र सम्झना बाहिर निकाल्दै
कफीको अर्कोतिर बसेर
जुन मैले बोकिरहेको छु ।

सायद
मेरो यो लेखाइ
यो तड्पाइ
यो पर्खाइ
यो प्रेम
तिम्रो हृदयसम्म पुग्ने मैले नै रोजेको तीर्थयात्रा हो ।

कसले बोल्छ होला ?​​​

कवि : प्रा. कमरुल हसन (बंगलादेश)

उसका निम्ति धेरै अविवाहित युवतीहरूले
अँगालोमा कोमल तरंग महसुस गरेका थिए ।
ममतामयी आमाले धेरै पटक निद्राविहीन रातहरूको
रुमालले आँखा पुछेकी थिइन् ।
धेरै मानिसले उसको छाती छेड्न चाहन्थे
गोली हानेर बधशालामा ।

कोही मानिस चाहिँ उसलाई आफ्नो परिवारकहाँ
लिन चाहन्थे जुनको उज्यालोले भिजाएर ।
कोही अरु मानिस चाहिँ कुनै तलाउमा मिल्काउन चाहन्थे
खोटो पैसा झैँ ।
कसैले चाहिँ, आफ्नै अधीनमा संग्रहणीय चिजको रुपमा राख्न चाहन्थे ।

तर उसले कसैसँग आत्मीयता बढाएन
चरा र फूलहरू बाहेक
आकाश र नदीहरू बाहेक कसैले उसको गहिरो वार्तालाप सुनेन
रुखका पातहरूले स्व स्स्फूर्त छाती खोले उसका दु स्खहरू सञ्चित गर्न
बादलहरूले आफ्ना चमत्कारपूर्ण कोमल दराजहरू खोले ।
उसले रुखहरूका कानमा आफ्ना कविता रेकर्ड गराएको छ ।
कमरुल हसनले बोल्ने छ, जब जंगलको टेप रेकर्ड प्रतिध्वनित हुने छ ।

आँसुहरू
​​​​कवि : अशरफ अलि (माल्दिभ्स)

बन्द हौ, बन्द हौ अब
बेस्सरी बग तर
ए आँसुहरू बन्द हौ अब ।

खुसी देखेको छु मैले दु स्खको अर्कातिर
अनि दु स्खको प्रत्यक्षदर्शी हौ, खुसीको छेउनेरै ।
त्यसैले ए आँसुहरू
अब बन्द हौ
बन्द ।

समय पनि प्रत्येक पटक रूप फेर्छ ।
अनि भूमिका अनुसार परिस्थिति
त्यसैले ए आँसुहरू
बन्द हौ, अब बन्द ।

हाम्रो भिन्नतामा चिन्ता नगर
हामी एउटै पनि त होइनौं ।
तिम्रो पर्वाहले मेरा आँखा
बेस्सरी धोइसकेका छन् ।
तिमीले मेरो दुखिरहेको हृदयलाई पनि
त शान्त पारिसक्यौ ।

अझै ! अझै म भन्छु ।
मेरो विगतको उन्मुक्तता
हेरिसकेको छु ।
तिम्रा चम्किला झिल्काहरूमा ।
त्यसैले, अब बन्द हौ ।
ए आँसुहरू ! बन्द ।

प्रिय आमा, प्रिन्सी मांगालिका तिमीलाई
​​​​कवि : कौशल्या जयालाथ (श्रीलंका)

भर्खरै जलेर ध्वस्त भएको
आफ्नै झुपडीको खरानीबाट
पटक पटक उठेर
ती आमा लोक कथाकी लोखर्के आमा जस्तै
सागर सुकाउँछिन् आफ्ना सन्तानलाई
नि स्शुल्क पार गर्न
त्यस्तै यी आमा जो बिनाअपराध
जेलमा बसेर पनि
महलकी रानीझैँ पूर्ण सहानुभूतिपूर्वक
निम्छरा आत्माहरूलाई
माथि उठाउँछिन् ।

त्यति ठूलो अपमान अगाडि
कसरी सक्यौ सन्तुलन गर्न
आफूलाई अटल र सुन्दर राखेर ?
कसरी फुल्यौ सुन्दर फूल झैँ
घृणाले ढाकिएको जमिनमा ?

मलाई थाह छैन कसरी बुनौँ शब्दहरू
तिमीलाई प्रशंसा गर्न ?
कृपया मलाइ माफ गर !
सायद,
तिम्रो खुट्टा चुम्न योग्य छ
यौटा फूल जुन अझै फुलेको छैन ।

अजिंगरको निम्तो
​​​​कवि : स्नेह सायमी (नेपाल)

खानका निम्ति अन्न
लगाउनका निम्ति लुगा
सोच्नका लागि नयाँ सोच र अवधारणा
पढ्नका लागि पुस्तक
तर्कका लागि विषय
उपाधिका लागि छात्रवृत्ति
राजनीतिका लागि प्रजातन्त्र
सबै पठाइदिएको छ

अर्थात्
उसको जिब्रोसम्म यात्रा गर्न
अजिंगरले
नि स्शुल्क टिकट पठाइदिएको छ ।

मुर्दाको गवाही
​​​​कवि : रुपसिहं भण्डारी (नेपाल)

ओहो ! क्या अचम्म छ ।
कति छिटो थाह भएछ दुनियाँलाई म मरेको ।
श्रद्धाञ्जलीका भेल बाढी देख्दा सामाजिक सञ्जालमा
यस्तो लाग्यो दुनियाँ मेरो मृत्युको पर्खाइमा रहेछ ।
साँच्चै, यो प्रेम होला कि औपचारिकता
म अझै विरोधाभाषमा छु ।

एक्कासी,
मेरो घर मान्छेहरूको भिडले घेरियो
जो कहिल्यै बोलेनन्, जो मलाई
चिन्न पनि चिन्थेनन् ।
सबै आए,
तर दुर्भाग्य मैले कसैलाई मुस्काएर नमस्कार गर्न सकिनँ ।
मृत्युशय्यामा हुँदा पनि जसलाई एकपटक मात्रै हेर्न तड्पेको थेँ,
उ पनि आयो ।

म चकित त त्यतिबेला परेँ
जो जिउँदो हुँदा बाटोमा देखे पनि नदेखे झैँ गर्नेहरू
टाढाटाडाबाट मेरो अन्तिम संस्कारका लागि आए
मेरा आफ्नैहरू ।
मलाई जिउँदो हुँदा कसैले पनि एक थुँगा फूल दिएको थाह छैन
आज म फूलैफूलले ढाकिएको थिएँ ।

तर विडम्बना
म प्रतिक्रिया शून्य थिएँ ।
पूर्ण मौन ।
त्यतिबेला मैले यस्तो कल्पना गरेँ कि
केवल केही पलका निम्ति
म पुन स्जीवित हुन पाएको भए
धन्यवाद भन्थेँ दुई हात जोडेर
सबै सबैलाई
एकपटक

आजको न्युजबाट साभार


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*