भारतीय सुरक्षाकर्मीको आडमा नेपालीलाई त्रासमा, कहिले कुटपिट कहिले घरमै आगो लगाइदिन्छन्

२०७६ कार्तिक २२,शुक्रबार ०८:२१

नारायणीपारि सुस्तामा तीन हजार नेपालीको बसोवास छ, तीमध्ये धेरैसँग लालपुर्जा छैन, जोसँग लालपुर्जा छ तिनको जमिनमा भारतीयले खेती गर्छन् । भारतीय सुरक्षाकर्मीको आडमा सीमापारिका बासिन्दाले नेपालीलाई त्रासमा राखेका छन्, कहिले कुटपिट गर्छन्, कहिले घरमै आगो लगाइदिन्छन् । भारतबाट प्रताडित र नेपालबाट उपेक्षित सुस्ताको जीवन सधैँ आपत् विपतमा छ ।

खोलापारि राज्य छैन, वारि आउन पुल छैन

नारायणीपारिको नेपाली बस्ती सुस्तामा तीन हजार नेपालीको बसोवास छ । तर, उनीहरूलाई राज्यको मूलधारसम्म जोड्ने एउटा पुलसमेत छैन । गाउँमा ६ कक्षाभन्दा माथि विद्यालय छैन, प्राथमिक उपचार गर्न हेल्थपोस्टसमेत छैन । उज्यालो बाल्न बिजुली छैन र किनमेल गर्न बजार छैन । यी सबै आवश्यकताका लागि उनीहरू भारतमा निर्भर छन् । तर, तिनै भारतीयले सुस्तावासीको खेतबारी कब्जा गरेका छन्, घरवास उठाउन खोजेका छन् । नेपाल सरकार मौन छ ।

दक्षिणी सिमाना सुरक्षा गर्न भन्दै तत्कालीन राजा महेन्द्रले ०२२ मा नवलपरासीको सुस्तामा बस्ती बसाएका थिए । तर, भारतीय राज्यको अतिक्रमण, सीमा फौजको प्रताडनाले सुस्तावासीको जीवन आफैँ असुरक्षित छ । भारतीय पक्षको ज्यादती र नेपाली पक्षको उपेक्षाले सुस्तावासीको जीवन चार पुस्तादेखि आपत्–विपत्मा छ ।

सन् १८१६ को सुगौली सन्धि हुँदा नारायणीवारि नेपाल र पारि भारत कायम भएको थियो । तर, विसं। ०१६ मा भएको गण्डक सम्झौतापछि बनेको बाँधले नदीको बहाव परिवर्तन मात्र भएन, नवलपरासीको उर्वर भूमि सुस्ता नारायणीपारि गयो । ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’का आधारमा नेपाल र भारतको सिमाना कायम भएकाले नदीपारि भए पनि सुस्तालाई भारतले आफ्नो भनी दाबी गर्न सकेन । तर, अतिक्रमण भने बढायो ।

तत्कालीन राजा महेन्द्रले ०२२ सालमा पूर्वसैनिक र मुस्लिम समुदायलाई सुस्तामा पुनर्वास गराएका थिए । तर, नेपाली बस्ती बसेकोमा असन्तुष्ट भारतीय पक्षले सीमा अतिक्रमणलाई झन् अघि बढायो । हुन त ०२७ सालमा नापीनक्सा गर्न नेपाली कर्मचारी सुस्ता पुगेका थिए । नापी गर्न आएका नेपाली कर्मचारीलाई भारतीय फौजले समातेर लग्यो । उनलाई चार वर्षसम्म भारतले कैदी बनायो । ०२९ सालमा फेरि नापी गरेर पाँच सय ५६ घरधुरीलाई लालपुर्जा दिइएको थियो ।

तर, ०३४ सालमा आएको बाढीले तत्कालीन सुस्ता गाउँ पञ्चायतलाई जलमग्न बनाइदियो । स्थानीय बासिन्दा घरबारविहीन भए । विस्थापित भएकाहरू लाखापाखा हुँदै साहुमारा, ठट्टेखोला, केउलानीसम्म पुगे । उनीहरूमध्ये केहीले त्यतै जमिन पाए । जमिन नपाएकाहरू पुरानै बस्तीमा फर्किन बाध्य भए । ‘मान्छे मात्र होइन, सुस्ता पनि पुरानै अवस्थामा फर्कियो । चहलपहल बढ्यो । सुस्ता खाली भएपछि खुसी भएका भारतीयहरू फेरि दुःखी भए । त्यसैले उनीहरूले हामीलाई यातना दिन थाले । सिमाना पनि मिच्दै अघि बढे,’ सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले नयाँ पत्रिकासँग भने ।

भारतीयले धकेल्दै ल्याउँदा वास्तविक सिमानाबाट १७ किलोमिटर माथिसम्म ल्याएका छन् । ‘अहिले त सीमास्तम्भ नै छैन, जंगेपिलर छैन, देशको सिमाना हो, तर कुनै हिसाब–किताब नै छैन,’ गुरुङ भन्छन् । सुस्तामा नेपालको वास्तविक भूमि ४० हजार नौ सय ८० हेक्टर हो । १४ हजार हेक्टर भूमि भारतीयले अतिक्रमण गरेका छन् भने नेपालसँग औपचारिक रूपमा सात हजार हेक्टरमात्रै बाँकी छ । बाँकी १९ हजार नौ सय ८० हेक्टर जमीनलाई विवादित क्षेत्र भनिएको छ । अतिक्रमण अझै रोकिएको छैन । नारायणी नदीमा भारतीय पक्षले अग्लाअग्ला तटबन्ध र पर्खाल लगाएका छन् । त्यसैले नदीको धार नेपालतर्फ धकेलिँदै छ ।

सीमा सुरक्षा गर्न भनेर बसाइएको बस्तीका बासिन्दासँग देशको नागरिकतासमेत छैन । सुस्तामा अहिले दुई सय ६५ घरधुरीका तीन हजार एक सय ३३ बासिन्दा छन् । एक हजार आठ सय बालिग छन्, जम्मा तीन सयलाई मात्र राज्यले नागरिकता दिएको छ । नागरिकता वितरण गर्न ०६३ मा त्रिवेणीसम्म पुगेको टोली सुस्ता नपुगी फर्कियो । ‘भारतीय फौजसँग जुधेर सीमा सुरक्षा गर्ने हामी तर हामीलाई सरकारले नागरिक मानेको छैन । सरकारको अपहेलना सहेर पनि हामी देशका लागि जुधिरहेका छौँ,’ स्थानीय बेचनी यादव भन्छन् ।

अनौठो १ सुस्तामा सरकारले जनता आवास कार्यक्रम लगेको छ । तर, नागरिकता नै नभएकोले यो सरकारी कार्यक्रम सुस्तावासीका लागि मजाक भएको छ । सरकारको राहत पाउने त परैको कुरा, आफ्नै लगानीले बनाएको घर जोगाउन पनि सुस्ताबासीलाई सास्ती छ । नेपालीको घरबास नै उठाउने भारतीय पक्षको योजना छ । त्यसैले स्थानीय बासिन्दालाई घरसमेत भत्काउन उर्दी जारी गर्दै आएका छन् । ‘चार वर्ष पहिले मैले घर बनाउँदै थिएँ, अचानक भारतीय सीमा सुरक्षा बल ९एसएसबी०को टोली आँगनमै आयो । घर बनाउन पाउँदैनस्, जति बनाएको छस्, त्यो पनि भत्का भनेर धम्क्याउन थाले,’ स्थानीय रवीन्द्र जैसवालले भने । उनले जसोतसो घर त बनाएका छन् तर सुरक्षित महसुस गर्न सकेका छैनन् ।

भारतको प्रताडनामात्र होइन, नेपाली राज्यको उपेक्षाले पनि सुस्ताबासी पीडित छन् । नेपालतर्फ नारायणी नदीमा पुल नभएकोले किनमेल गर्र्न भारतीय बजारमा जानुपर्ने उनीहरूको बाध्यता छ । नुन–चामल किन्न जाँदा भारतीय फौजले कुटपिट गर्छ, चामल पोखिदिन्छ । स्थानीय बेचनी यादव भन्छन्, ‘नेपाली होस् भने नागरिकता देखा भन्छन्, हामीसँग छैन । त्यसो भए कुन देशको नागरिक होस् भनेर अपहेलना गर्छन् । बिरामी भएर अस्पताल जान्छु भन्दा पनि फर्काइदिन्छन् ।’ गत वर्षमात्रै पनि नेपाली भूमिमा भारतीयले डोजर चलाउन थालेपछि स्थानीय जनता अवरोध गर्न गएका थिए । त्यसको प्रतिशोधमा भारतीयले आफ्नो भूमिबाट नेपालीलाई आवत–जावत गर्न निषेध गरे । पुरानो बाटो बन्द गरेपछि बजारतर्फ जाने गरी नयाँ बाटो खोल्न स्थानीय नेपालीले गत वर्ष १५ भदौमा कल्भर्ट बाँध्दै थिए । अचानक एसएसबीको टोली आएर काम तत्काल रोक्न निर्देशन दियो । ‘काम नरोके तिमीहरूलाई गोलीले उडाइदिन्छौँ भनेर धम्की दिए । त्यो भूमि नेपालको हो तर, हामीलाई सुरक्षा दिन नेपाली सुरक्षाकर्मी आएनन् । ज्यान गए जान्छ, आफ्नो भूमिमा कल्भर्ट बनाउँछौँ भनेर हामीले बनाइछाड्यौँ,’ जैसवाल भन्छन् । तर, ज्यानै जोखिममा राखेर भारतीय बजारमा जानुपर्ने बाध्यता कहिले अन्त्य होला रु जैसवालको चिन्ता छ । ‘बरु सरकारले नारायणीमा पुल बनाइदिए नेपाली बजारमै आवतजावत हुन्थ्यो, सरकारसँग सम्बन्ध पनि बलियो हुन्थ्यो । भारतीयसँग लड्न पनि आत्मबल हुन्थ्यो,’ उनी भन्छन् ।

नागरिकता नभएकोले अधिकांशसँग लालपूर्जा पनि छैन, जोसँग लालपूर्जा छ तिनको जमीनमा भारतीयले खेती गर्छन् । नेपालीहरूको खेतमा हुलका हुल प्रवेश गरेर बाली लगाउने र उठाउनेलाई भारतीय फौजको संरक्षण छ । ०६५ सालमा एकैपटक ५०र६० वटा ट्रयाक्टर लिएर भारतीयहरूले नेपालीहरूको खेत जोतेका थिए । नेपालीहरूले आवाज उठाए तर भारतीय फौजले उल्टै दमन गर्‍यो, नेपालले सुन्दै सुनेन । नेपाली सुरक्षाकर्मी आफै पनि असुरक्षित महसुस गर्छन् ।

एसएसबीको डरले सुस्ताबासी आफ्नै खेतबारीमा समेत जान डराउँछन् । स्थानीय ओसियर खाँ भन्छन्, ‘हाम्रै जमीन भारतीयले अतिक्रमण गरेका छन्, त्यहाँ गयो भने कुट्छन्, पिट्छन्, मुद्दा लगाइदिन्छन् । त्यसैले आफ्नै भूमिमा टेक्नसमेत पाउँदैनौँ ।’ खाँकै हजुरबा आफ्नै खेतमा गएको वेला १० वर्षअघि एसएसबीद्वारा समातिएका थिए । उनलाई विवादित क्षेत्रमा प्रवेश गरेको भनेर भारतमा मुद्दा चलाइयो । चार वर्ष जेल बसेर फर्किएको केही समयपछि उनको मृत्यु भयो ।

ओसियरको घरभन्दा दक्षिणतिर ५७ बिघा भूमिमा १५ जनाको खेत छ तर नेपालीले खेती गर्न पाउँदैनन् । ‘लालपूर्जा हामीसँग छ तर आफ्नै खेतमा जान पाउँदैनौँ । नम्बरी जग्गा हो तर अहिले चौर भएको छ,’ स्थानीय ओमप्रसाद चौधरी भन्छन्, ‘कुनै दिन त्यो भूमि हाम्रै होला भन्ने आशा छ । नजिक जान त सक्दिनँ, त्यसैले टाढैबाट हेरेर फर्कन्छु ।’सुस्तामा ६ कक्षासम्म मात्र स्कुल छ । त्योभन्दा माथि पढ्न असम्भव जस्तै छ । बेचनी भन्छन्, ‘मेरा तीन छोराले पढ्न पाएनन् । नारायणी तरेर दैनिक नेपालको विद्यालयमा पुग्न मुस्किल छ, नजिकै भारतीय स्कुल त छ तर नेपाली भनेर लखेटिदिन्छन् । त्यसैले मैले छोराछोरीलाई पढाउन सकिनँ । पढेको भए दुईरचार अक्षर चिन्थे होला तर अहिले घरमै छन् । भविष्यमा मैले जस्तै दुःख पाउने हुन् ।’ सुस्तामा विद्यालयमात्र होइन, हेल्थ पोस्ट छैन, बिजुली छैन । समग्रमा जीवन छैन । भारतको दमन र नेपालको उपेक्षा कहिलेसम्म हो ? प्रश्न अनुत्तरित छ ।
आजको नयाँ पत्रिकामा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*