सांसद साहले गरे विमानस्थलमा तोडफोड

२०७६ आश्विन २८,मंगलवार ०८:५६

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसद प्रमोद साहले सोमबार दिउँसो जनकपुर विमानस्थलमा तोडफोड गरेका छन्। उनले बुद्ध एयरको काउन्टर र विशिष्ट पाहुना कक्षको टेबल तोडफोड गरेका हुन्।

जनकपुरबाट काठमाडौंका लागि ११ः४० बजेको उडान समय तोकिएको बुद्ध एयरको ५१० एटिआर ७२ का लागि बोर्डिङ पास लिएर सांसद साह विशिष्ट पाहुना कक्षमा बसेका थिए।

‘एयरक्राफ्ट होल्डमा परेकाले निर्धारित समयभन्दा ढिला उडान हुने जानकारी निरन्तर गराइरहेका थियौं,’ बुद्ध एयरका जनकपुर प्रमुख विजय सिंहले भने, ‘सबै यात्रु शान्तिपूर्वक बसिरहनुभएको थियो, सांसद प्रमोद साहले भने विशिष्ट कक्षबाट जंगिँदै आएर हाम्रो काउन्टरको सिसा फुटाउनुभयो।’ उनले सांसदको त्यस्तो व्यवहारले आफूहरू चकित भएको प्रतिक्रिया दिए। ‘शान्त पार्न खोज्दा विशिष्ट कक्षको टेबलको सिसा पनि फुटाउनुभयो,’ उनले भने।

नियमित पाँच उडान रहेको जनकपुरमा आइतबार सबै विमान रद्द भएपछि सोमबार उडान थप गरिएकाले एयर ट्राफिक बढेको र उडानमा ढिलाइ भएको बताउँदै सिंहले सांसदजस्तो मान्छे तोडफोडमा उत्रिनु दुःखद भएको उल्लेख गरे। उक्त तोडफोडबाट जनकपुरस्थित विमास्थलमा रहेको बुद्ध एयरको काउन्टर, कम्प्युटर तथा भिआइपी कक्षमा केही सिसा फुटेको जनकपुर विमानस्थल प्रमुख सन्तोष ढकालले जानकारी गराए। आजको नागरिक दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*