चाडपर्वमा यात्रु ठग्दै सुमो व्यवसायी, एक जनाको ७ सयसम्म लिइयो, सीडिओ चुपचाप

२०७६ आश्विन २२,बुधबार १७:०८

मकवानपुर २२ असोज । काठमाडौँबाट हेटौँडातर्फ आउने यात्रुहरु सुमोहरुबाट ठगिन थालेका छन् । ४ सय ५० रुपैँया भाडादर निर्धारण गरिएको भएपनि सुमो व्यवसायीले प्रतिव्यक्ति ७ सयदेखि १४ सयसम्म अशुलिरहेका छन् ।

सुमो व्यवसायीहरुले चाडपर्वको अवसर छोपेर मनलाग्दी भाडा अशुल्न थालेपछि यात्रुहरुले गुनासो गरेका छन् । आज (बुधबार) मात्रै नारायणी यातायात व्यवसायी संघको सुमोले काठमाडौँबाट हेटौँडातर्फ आउने यात्रुलाई ७ सय भाडा लिएको भन्दै यात्रुहरुले गुनासो गरेका छन् ।

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाकी उपाध्यक्ष सरिता दाहालको आफन्तलाई सुमोले प्रतिव्यक्ती ७ सय भाडा लिएको भन्दै उनले गुनासो गरेकी छिन् । सुमो व्यवसायीले जानकारी नदिइ सर्वसाधारणलाई सुमो चढाएको र बिच बाटोमा आएपछि महंगो भाडा अशुलेको भन्दै दाहालले सामाजिक संजालमार्फत् गुनासो गरिन् ।
उनले सुमो व्यवसायीले मनपरी भाडा अशुल्दासमेत प्रशासन मौन बसेको भन्दै आक्रोश व्यक्त गरिन् ।

तु खबरले यस विषयमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीसंग प्रतिक्रिया लिँदा उनले त्यस्तो गलत काम गर्नेलाई कारबाही गर्ने बताए । उनले ठगिएका यात्रुहरुलाई नजिकको प्रहरी वा जिल्ला प्रशासन कार्यालयमै जानकारी गराउन सुझाव दिए ।

त्यसो त चाडपर्वमा मकवानपुरको प्रशासनले गतिलो अनुगमन गर्न नसकेको भन्दै सर्वसाधारणले गुनासो गरिनैरहेका छन् । प्रजिअले चाडपर्वमा ठगीधन्दा चलाउनेलाई कारबाही गर्छौँ भनिरहने अनि सर्वसाधारण ठगिइरहने भन्दै सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*