जनताको मन जितेको साझा पार्टीले आगामी निर्वाचनपछि मुलुकको नेतृत्व गर्छ : राजन मैनाली

२०७६ आश्विन ६,सोमबार १२:०४

मकवानपुर ६ असोज । २०३७ सालदेखि राजनीतिक जीवनको सुरुवात गरेका राजन मैनाली अहिले साझा पार्टी मकवानपुरका संयोजक हुन् । कम्युनिष्ट धारबाट राजनीतिक यात्राको सुरु गरेका उनले लोकतान्त्रिक दलमा पनि आबद्ध भएर राजनीतिक अनुभव बटुले । नागरिक समाजको अगुवा, विभिन्न संचार माध्यमको संस्थापकसमेत भएर अहोरात्र सामाजिक हितकालागि खटिएका मैनालीसंग तु खबरले गरेको कुराकानी यस्तो छ ।

प्रश्न : लामो समयदेखि राजनीतिक यात्रामा हुनुहुन्छ, यो यात्रामा तपाईका अनुभव र सिकाई कस्तो रह्यो ?

उत्तर : मैँले बारा जिल्लाबाट बिद्यार्थी राजनीतिको सुरुवात गरेको हुँ । कम्युुनिष्ट विचार बोक्ने म कलिलो उमेरबाटै राजनीतिक चासो राख्थेँ र समाजिक हितका लागि काम गर्न चाहान्थेँ । त्यतिबेला राजनीति भनेको के हो ? नबुझेकै अवस्था थियो । तरपनि राजनीतिमा लागियो । विस्तारै काँग्रेसका मानिसहरुसँग नजिक हुन पुगियो र अखिलको राजनीति छोडेर काँग्रेसको राजनीतिमा प्रवेश गरेँ ।

अखिलमा करिब १ वर्ष काम गरेँ । त्यसपछि म नेवि संघमा गएँ । त्यतिखेर पनि मलाई राजनीति के हो भन्ने कुरा राम्रोसंग थाहा थिएन । साथीहरुले राजनीति गरेको देखेर र त्यसबेला वास्तवमा प्रतिबन्धित पञ्चायती व्यवस्था भएको हाम्रो देशमा कताकता मनमा व्यवस्थाको जुन निरङ्कुशता थियो त्यो निरङ्कुशताले समाजलाई निकै जालेको थियो । त्यतिखेर जनताहरुलाई कसरी हामीले निरङ्कुशताबाट पर सार्न सक्छौँ ? देशमा कसरी मौलिक स्वतन्त्रता कायम गर्न सकिन्छ, कसरी परिवर्तन गर्न सकिन्छ भन्ने लागेर विद्यार्थी राजनीतिमा लागेको हुँ । २०३९ सालमा म बारा जिल्लाको नेवि संघको जिल्ला अध्यक्ष पनि भएँ । त्यसपछि मेरो कलेजको यात्रा सुरु भयो । २०४१ सालमा मैँले नेपाल कमर्स क्याम्पसबाट नेवि संघमा सचिव पदमा उठेँ ।

पत्रकारितामा पनि रुची भएकोले २०४२ सालमा रक्तदान कलेज जडीबुट्टी मण्डलमा पत्रकारिता विषय लिएर पढेँ । त्यहाँ पनि मण्डलेहरुले नेविसंघ, अखिललाई साह्रै सतायो । त्यतिखेर मैले उनीहरुसँग प्रतिरोध गरेँ । बीचमा हाम्रो साथीहरुलाई दमन गरिएको थियो त्यहाँ । त्यसैक्रममा मैँले त्यहाँ नेतृत्व गरेर चर्चा समेत बटुलेँ । २०४२ सालमा साप्ताहिक विमर्शमा मेरो फोटोसहित बिद्यार्थी नेता भनेर पनि छापिएको थियो । २०४५ साल फागुनमा मेरो परिवारको कारणले गर्दा बिचैमा मैँले अध्ययन छोडेर मकवानपुर आउनुपर्यो । म मकवानपुर आएपछि निर्माण क्षेत्रमा पनि आबद्ध भएँ । मकवानपुरमा महासचिव हुँदै अध्यक्षको प्रत्यासी पनि भए । करिब १० वर्ष निर्माण व्यवसायमा आबद्ध भएपछि २०५६ सालमा म सामाजिक सेवामा जीवन बिताउन थालेँ ।

२०६२/०६३ सालमा जुन आन्दोलन भयो, क्रान्ति भयो नेपालमा, त्यस क्रान्तिमा म राम्रैसँग अरु दलका नेताहरुसँगै सहभागी भए । त्यतिखेर म प्रहरी हिराशतमा पनि बसेँ । त्यतिखेर म मानवअधिकार तथा शान्ति समाज मकवानुरको सभापति थिए । समाजकल्याण परिषद्को बोर्ड सदस्य पनि थिए । २०५६ सालदेखि मानव अधिकारको क्षेत्रमा स्वतन्त्र भएर लागेँ । १० बर्ष स्वतन्त्र नागरिक भएर मानव अधिकार र मिडिया प्रेस स्वतन्त्रताको पक्षमा काम गरेँ ।
केही समयमा मैले मकवानपुर मिडिया प्रा.लि गठन गरेर हेटौँडा एफ.एमको अध्यक्ष भएर जिम्मेवारी सम्हालेँ ।

यसैगरी सामाजिक क्षेत्रमा लाग्लाग्दै विभिन्न क्षेत्रहरुमा पनि मेरो पहुँच हुन पुग्यो । कलेजको अध्यक्ष, स्कुलको अध्यक्ष, हेटौँडा सिमेन्टको डाइरेक्टर, पशुपति मन्दिरको भवन निर्माण कमिटीको संयोजक, रोटरी क्लबलगायत विभिन्न क्षेत्रमा रहेर समाजिक काम गर्ने अवसर पाएँ ।

त्यसपछी डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालमा म आबद्ध भएँ, उहाँको समृद्धीको नाराले साँच्चै मलाई छोएको थियो । त्यसबेला नेपालमा संविधान जारी भइसकेको थियो । त्यतिबेला देशमा आर्थिक समृद्धी, युवा रोजगार, जस्ता विषयले मलाई झक्झकायो । पार्टीमा १८ महिना रहेँ । नारा त राम्रै थियो तर नेतृत्वले जनताको परिवर्तनको आकाँक्षा पुरा गर्न नयाँ शक्तिले पनि सक्ने अवस्था नभएपछि पार्टी विस्तारै कमजोर बन्दै गयो । त्यसपछि मैँले डाक्टर बाबुराम भट्टराई र हिसिला एमीलाई जानकारी गराएर पार्टी परित्याग गरेको हुँ । मैँले नयाँ शक्ति छोडेर बसेको बेलामा साझा पार्टी गठन भइसकेको थियो । उहाँहरुले मलाई पार्टीमा आउन आग्रंह गर्नुभयो । एजेन्डाहरु पढेँ, राम्रो लाग्यो साथै आफु राजनीतिक चेताना भएको मानिस भएको हुनाले आफ्नो तर्फबाट मुलुललाई समृद्धीतर्फ लैजानुपर्छ भन्ने भावना जागेपछि म साझा पार्टीको जिल्ला संयोजक भएर जिम्मेवारी सम्हालेँ ।

प्रश्न – तपाइले अवसरको लागि पार्टी परिवर्तन गरेको भन्ने जनताको आरोप छ नी ?

उत्तर : त्यस्तो होइन् । म समाज र देशको हितको लागि अहोरात्र खट्ने मान्छे हुँ । अवस्य पनि मान्छेले पार्टीमा लगानी गरेपछि अवसर पनि खोज्नु स्वभाविक हो तर मैँले चाँही अवसरकै कारण पार्टी परिवर्तन होइन् । मैँले जति पनि दलमा रहेर काम गरेँ त्यहाँ विचारको, आदर्शको र सिद्धान्तको राजनीति रहेन । मेरो राजनीनिलाई व्यवसाय बनाएर जीवन धान्नुपर्ने अवस्था पनि छैन । तर पार्टीमा निष्ठाको राजनीति नभएपछि हामीले परिकल्पना गरेको समृद्धी नयाँ शक्तिबाट पुरा हुने अवस्था रहेन ।

त्यसपछि मैँले जानकारी गराएर नयाँ शक्ति छाडेको हुँ । त्यसपछि म साझा पार्टीमा प्रवेश गरेँ । यो पार्टीको सिद्धान्त र एजेण्डाले मलाई आकर्षण गरायो । जनताको विभिन्न आन्दोलन र सघर्षबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रको व्यवस्था अर्थात विश्व इतिहासको परिवर्तन २०६२/०६३ को जनआन्दोलन, क्रान्ति, १४ हजार मानिसले साहदत प्राप्त गरेपछिको यो व्यवस्थाले आखिर जनतालाई के दियो ? जनताले के पाए ? अहिलेका नेताहरु सिथिल भए । जनताको हितभन्दा पनि आफ्नो दुनो सोझाउनेतर्फ उनीहरु लागे । त्यसकारण हामीले फरक मार्गबाट मुलुकको समृद्धी खोजेका हौँ ।  म कहिल्यै पनि अवसर र स्वार्थको पछि लाग्दीन । लाग्ने छैन । अब हामी साझा पार्टीबाट कसरी जनताको हितका लागि लाग्न सक्छौँ भनेर सोच्नेछौँ ।

प्रश्न : किन साझा पार्टी रोज्नु भो ? यसका एजेण्डाहरु के–के हुन् ?, जनताले तपाइहरुलाई विस्वास गर्ने आधार के हो ?

उत्तर : २०४६ पछिका नेपालका जुन राजनीतिक आन्दोलनहरु भए । त्यो आन्दोलनका नेतृत्वहरुले जनताको लागि केही गर्न सकेनन् । त्यो उनीहरुले गर्न नसक्नुनै मेरो लागि साझा पार्टीमा आउने मूख्य आधारशिला हो । तीनै पार्टीहरुले देश र जनताको लागि काम गरेको भए अन्य पार्टी खोल्नुपर्ने जरुरत हुँदैनथ्यो । उनीहरु असक्षम भए त्यसकारण जनताले मुलुकमा बैकल्पिक राजनीतिको आवश्यकता महसुस गरेका हुन् । अब पार्टीका एजेण्डाहरु म छोटो समयमा सबै ब्याख्या गर्न त नसकौँला तर हाम्रो पार्टीको मूख्य एजेण्डा भनेको पद्धती पारदर्शीता, इमान्दारीता, उत्कृष्ठता भन्ने हाम्रो ४ खक्बाहरु छन् । यसको व्याख्या लामो छ । हामीले कल्याणकारी लोकतन्त्र भनेका छौँ ।

लोकतन्त्रबाट प्राप्त नभएका वा हुननसकेका कुराहरु कल्याणकारी लोकतन्त्रमा समावेश हुन्छन् । लोकतन्नत्रको राम्रापक्षहरु र आधुनिक बिस्वके आवश्यकअनुसार कल्याणकारी लोकतन्त्रको नयाँ परिभाषा दिन खोजेका हौ । हाम्रो पार्टीबाट निर्वाचनमा उठेका उम्मेदवारलाई भोट हाल्नै पर्छ भन्ने छैन । हाम्रो उम्मेदवारलाई मन परेन भने रिजेक्ट गर्ने व्यवस्था पनि छ । यो हाम्रो फरक एजेण्डा हो । लाखौँ युवाहरु विदेशिएका छन् । उनीहरु जहाँ भएपनि हाम्रो मतदानमा भाग लिन पाउनुपर्छ भन्ने हाम्रो धारणा हो । कल्याणकारी लोकतन्त्रममा प्रत्येक नेपालीको पहुँच पुग्नुपर्छ । त्यहाँ नातावाद कृपावाद हुनुहुँदैन, भ्रष्टाचारलाई जरैदेखि हटाउनुपर्छ, भ्रष्टाचार उन्मुलन गर्न स्थापना भएका निकायमा हस्तक्षेप हुनुहुँदैन । भन्ने हाम्रो धारणा हो ।

प्रश्न : पार्टीको संगठन विस्तारको कार्ययोजना के–के छन् ?

उत्तर : मुलुकमा नयाँ राजनीतिक प्रणाली आएको छ । हामीले ७७ वटै जिल्लामा हाम्रो संगठन खडा गर्ने गरी तयारी गरेका छौँ । अहिलेसम्म ५५ वटा जिल्लामा पार्टीको संगठन विस्तार भइसकेको अवस्था छ । संगठन विस्तारको काम सकिएपछि हामी परोपकारमा जुट्ने छौँ । रोजगार र स्वरोजगारमा युवाहरुलाई जोड्ने काम गर्ने छौँ । जनहितको बाटोहरु अवलम्वन गरेर जनताको मन जितेर हामी सदस्यता विस्तार गर्ने छौँ । हामी जनताको घरदैलोमैँ पुग्छौँ । हाम्रो अन्य पार्टीमा जस्तो भातृ संगठन हुँदैन । विद्यार्थीमा, मजदुरमा, पत्रकारको, कर्मचारीको संगठन रहँदैन । हाम्रो पार्टी सरकारमा आएको भोलीपल्टै हामी कर्मचारी संगठन विघटन गर्छौँ । यो घातक छ । जनताबाट उठाएको करबाट तलव भत्ता खानेहरुले पार्टीको लागि काम गर्ने भएकोले कुनैपनि हालतमा कर्मचारी संगठन विघटन गर्नुपर्छ । हामी भ्रष्टाचारीहरुलाई जेल हाल्छौँ ।

प्रश्न : पछिल्लो समय जनता निराश छन् । राजनीतिक दलप्रति जनताको विश्वास घट्दै गएको छ । साझा पार्टी पनि जनताको लागि ‘जुन जोगि आएपनि कानै चिरेको ’ भने जस्तो त हुँदैन ?

उत्तर : अरु दलहरुले राजनीतिलाई व्यवसाय बनाए । हामीले राजनीतिलाई सेवा भनेका छौँ । हामीले कल्याणकारी काम भनेका छौ । अरुले आफु बन्न, मुलुक लुट्नको लागि राजनीति गरे हामीले मुलुक बनाउन राजनीति गरेका हौँ । यो पुष्टी हुन त बाँकी छ, आगामी दिनहरुमा हाम्रो व्यवहार आचरणबाट विस्तारै त्यो पुष्टी हुँदै पनि जाला । त्यतिबेलासम्म जनताले हामीलाई साथ दिनुपर्छ । सधैँभरी अविस्वासले हेरेर पनि हुँदैन । हाम्रोे केन्द्रीय कमिटीको पृष्ठभुमी हेर्नुस्, त्यो हेरेपछि ऐना जस्तै के देखिन्छ भने यो पार्टी देश र जनताको लागि हो भन्ने देखिन्छ । हामी अहिले यत्तीमात्रै भन्न सक्छौँ हाम्रो यो प्रयास हो । म ५५ बर्ष भएँ । मैँले धेरै समय घर, परिवारको लागि गरेँ, अब देश र जनताको लागि पनि केही गरौँ न त भनेर म पनि लागेको छु । यो नै हाम्रो सपथ हो । हामीले गरेको बाचा हो ।

हिजो हामीले गल्ती गर्यौँ । हामीले अन्धोभक्त गलत मान्छेलाई भएर मतदान गर्यौँ । जसको परिणाम स्वरुप लोभी, पापीहरु नेतृत्वमा पुगे अनि बदलामा जनताले पीडा कष्ट मात्रै पाए । देशको परिवर्तनको लागि काम गर्ने अठोट भएका नेतृत्व हामीले चयन गर्न सकेको भए हाम्रो देशले फड्को मारिसकेको हुने थियो । अब हामीले सोच्नैपर्छ, अब बुझ्नै पर्छ । हाम्रा नेतृत्वले २० पुस्तालाई पुग्ने सम्पती विदेशी बैँकमा लेखेर राखेका छन् । अब हाम्रालाई होइन, राम्रालाई अगाडि बढाउने सबैले प्रण गर्नुपर्छ । नत्र जनताको भविष्य अन्यौल छ । अहिलेका नेतृत्वमा फरक व्यक्ति छैनन् । नेतृत्व तहका सबै पद पुरानै नेताका पेवा जस्तै गरेका छन् । हरेक कुरामा महँगी बढेको छ । विचौलियाले गरिब किसानको पसिना बेचेर मोटाएका छन् । यस्तो बेथितिको अन्त्य हुनुपर्छ ।

प्रश्न : तपाइको विचारमा मुलुकको संघीय, प्रदेश र स्थानीय सरकारका राम्रा र नराम्रा पक्षहरु के–के हुन् ?

उत्तर : मुलुकमा संविधान जारी भएको छ । अस्तीमात्रै संविधान दिवस थियो । म सम्पूर्ण जनतालाई तपाइको मिडियामार्फत् शुभकामना पनि दिन चाँहान्छु । मुलुकमा सुख, शान्ति छाइरहोस् भन्ने कामना पनि गर्न चाँहान्छु । मधेशवादी दलहरु अहिलेपनि असन्तुष्ट छन् । सरकारले उनीहरुलाई पनि समेटेर लैजानुपर्छ । संघीय सरकारका कमजोरीहरुलाई मैँले माथि पनि उल्लेख गरेको छु । म प्रदेशको कुरालाई अलि जोड्न चाहान्छु । आज हाम्रो साझा पार्टी प्रदेश ३ मा तेस्रो ठुलो पार्टी हो । प्रदेश ५ मा पनि हाम्रो पार्टीको राभ्रो मत छ ।

अन्य प्रदेशमा पनि हाम्रो उपस्थिती राम्रो छ । हामी प्रदेश ३ को तेस्रो ठुलो पार्टी भैरहँदा पनि हामीलाई प्रदेश सरकारले संविधान दिवसको अवसरमा होस् वा अन्य महत्वपूर्ण समारोहमा, वेवस्ता गरिरहेको अवस्था छ । देशमा प्राप्त भएका सम्पूण उपलब्धी नेकपाको कारण मात्रै प्राप्त भएको हो र ? त्यसकारण उहाँहरुले हामीलाई गर्नुभएको अस्वभाविक व्यवहारले उहाँहरुलाई नै लज्जित बनाएको छ । देशव्यापी रुपमा डेँगु भन्ने रोगको प्रकोप भयाभह रुपमा छ ।

हाम्रो मकवानपुरमा झनै प्रकोपको अवस्था छ । त्यसको नियन्त्रणको लागि प्रदेश सरकार र स्थानीय सरकार चनाखो बन्न नसकेको अवस्था छ । सानो प्रचार–प्रसार भएपनि स्थानीय र प्रदेश सरकार शसक्त भएको छैन । डेंगुको प्रकोपको बेला हाम्रो आदरणिय मेयर ज्यू जापान जानुभयो । अन्य मुलुकका प्रतिनिधि आफ्नो देशमा समस्या भएको बेला यात्रा छोट्याएर स्वदेश फर्कर्ने चलन हुन्छ, हाम्रो त्यो देखिएन । बजेटको समेत दुरुपयोग भएको देखियो । प्रदेश मातहतमा विकासका कामहरु पनि जनताको अपेक्षा अनुरुप हुन सकेन । विकासको काम ‘हिड्दै छ पाइला मेट्दै छ’ भनेजस्तै भएको छ । अब त्यस्तो हुनु हुँदैन । भ्रष्टाचारी र बदमासहरुलाई कारबाही गर्नुपर्छं ।

हेटौँडाकै कुरा गर्नुपर्दा बाटोभरी २/३ फिटका खाल्डैखाल्डो देखिन्छ, त्यो मर्मत समेत उपमहानगरले गर्न सकेको छैन । वडा प्रमुख, नगर प्रमुख भाषण गर्छन्. तर काम जनताको अपेक्षा अनुसार भएको छैन । जनताबाट कर उठाइएको छ तर त्यो बैज्ञानिक तरिकाले उठाउनुपर्छ । जनताले कर तिरे अनुसार सुविधा पनि पाउनुपर्छ । प्रदेश सरकारमा गाडि किन्ने होडबाजी छ । जनताको बिचमा सेवा गर्ने कसम खाने अनि नेतृत्वमा पुगेपछि गाडि घोडा जस्ता विलासितामा अल्झने काम नेतृत्वले गर्नुहुँदैन । आवश्यकताले निर्धारण गरेको गाडि चढ्नु स्वभाविक हो । कार्यकर्ता र आसेपासेसमेतलाई गाडि बाँड्नु ठिक हो ? सहिद बासुदेव घिमिरेको नाममा स्थापना गरिएको बासुदेव सभागृहको अवस्था जीर्ण छ । लागू औषधको अखडा बनेको छ । त्यसतर्फ पनि प्रदेश र स्थानीय सरकारको ध्यान पुग्नु आवश्यक छ । मेरो अपिल पनि त्यही हो ।

प्रश्न : प्रश्न अन्तमा के भन्नुहुन्छ ?

उत्तर : राम्रा काम गर्नेलाई सम्मान गर्नुपर्छ । नराम्रा काम गर्नेलाई खबरदारी गर्नुपर्छ । हाम्रो जिम्मेवारी पनि त्यही हो । हामीले दिएको राम्रो सझावको ग्रहण गर्ने संस्कारको विकास हुनुपर्छ । प्रतिपक्षी भन्दैमा अपहेलना गर्ने प्रणालीको अन्त्य हुनुपर्छ । जनता र देशको हित हुनुपर्छ । अहिलेको सरकारलाई पनि जनताको मन जित्न शुभकामना छ । अव जनताहरु सचेत भएका छन् ।

जनताको अपेक्षा अनुरुप काम गर्न नसक्दा असफल भइन्छ । हिजोको जस्तो अब अवस्था छैन । तपाईहरुले देशको नेतृत्व राम्रो संग लिँदा हाम्रो आवश्यकता छैन, तर तपाइहरुले राम्रोसंग देशको नेतृत्व लिन सक्नुभएन भने हामीले बाध्य भएर देशको नेतृत्व लिनुपर्छ । मेरो कुराहरु राख्ने महत्वपूर्ण अवसर दिने तपाईको तु खबर डटकम प्रति पनि आभार व्यक्त गर्दछु ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*