प्रदेश ३ मा लागुऔषध बरामदको अवस्था

मकवानपुरमा सबैभन्दा बढी, रसुवा र रामेछापमा शून्य
२०७६ आश्विन ६,सोमबार ०९:४८

प्रदेश ३ मा लागुऔषध बरामद, पक्राउ अभियुक्त र मुद्दा दर्ताको हिसावले मकवानपुर सबैभन्दा अगाडि देखिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरबाहेक प्रदेश ३ मा पर्ने १० जिल्लामा लागुऔषध बरामद, पक्राउ अभियुक्त र मुद्दा दर्ताको तथ्यांकअनुसार मकवानपुर अगाडि देखिएको हो ।

प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष ०७५–०७६ को प्रतिवेदनमा यस्तो उल्लेख छ । तथ्यांकअनुसार मकवानपुरमा सबैभन्दा बढी लागुऔषध बरामद भएको छ भने रसुवा र रामेछापमा शून्य छ । मकवानपुरमा गत आर्थिक वर्ष ०७५र०७६ मा दुई सय आठजना पक्राउ परेका छन् । १० जिल्लामध्ये यो सबैभन्दा बढी हो ।

तथ्यांकअनुसार प्रहरीले सबैभन्दा बढी गाँजा तीन हजार एक सय ९३, चरेस तीन सय चार किलो, खैरो हिरोइन ४६, अफिम सात सय ग्राम, कोरेक्स एक सय ९९ बोतल, डाइजिपाम एक हजार आठ सय ३१, फेनारगन एक हजार सात सय ५२, बुर्फिननर्फिन एक हजार सात सय १९ पिस, नाइट्रोभेट तीन हजार सात सय ३७ ट्याब र अन्य ४७ वटा बरामद गरेको छ ।

चितवनमा प्रहरीले लागुऔषध कारोबार अभियोगमा एक सय ५९, सिन्धुलीमा २६, दोलखामा एक, काभ्रेमा ३५, सिन्धुपाल्चोकमा तीन, नुवाकोट ६ र धादिङमा ५१ जनालाई पक्राउ गरिएको तथ्यांकमा उल्लेख छ ।

प्रहरीले एक वर्षमा १० जिल्लाबाट गाँजा चार हजार चार सय दुई, चरेस एक हजार तीन सय ७० किलो, खैरो हिरोइन एक सय ९२, अफिम एक हजार ६ सय ७८ ग्राम, स्पास्मो प्रो एक सय ८५, नाइट्रोभेट नौ हजार तीन सय ४० ट्याब, कोरेक्स दुई सय २१ बोतल, नाइट्रोसन पाँच हजार तीन सय ४५, डाइजिपाम तीन हजार पाँच सय ८२, फेनारगन तीन हजार चार सय ७८, नुर्फिन चार सय ४०, बुर्फिननर्फिन दुई हजार नौ सय ७३ पिस र अन्य एक हजार दुई सय ८४ परिणाममा बरामद गरेको जनाएको छ ।

मकवानपुरमा ३७ बिघा गाँजा खेती नष्ट
जिल्ला प्रहरी कार्यालय मकवानपुरले पहिलो चरणमा ३७ बिघा १२ कट्ठा १८ धुरमा लगाइएको गाँजा, अफिमको ब्याड र बेर्ना नष्ट गरेको छ ।

प्रहरी टोलीले भदौ १५ देखि १९ गतेसम्म पालुङ, भीमफेदी र मकवानपुरको पश्चिमी क्षेत्र राक्सिराङ तथा उत्तरी क्षेत्र कैलाश गाउँपालिकाका विभिन्न स्थानमा लागुऔषधको खेती नष्ट गरेको हो ।

प्रहरीका अनुसार भदौ १५ गते एक बिघा १६ कट्ठा १० धुर, १६ मा नौ बिघा १० कट्ठा एक धुर, १७ गते १० बिघा तीन कट्ठा १० धुर, १८ गते १६ बिघ दुई कट्ठा १९ धुर र १९ मा बिघा ११ कट्ठा दुई धुरको लागुऔषधका ब्याड र बेर्ना नष्ट गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*