संसदको चौथो अधिवेशन बिहीबार अन्त्य हुँदै, केही विधेयक पारित, केही बाँकी

२०७६ आश्विन २,बिहीबार १३:२५
file photo

काठमाडौं, २ असोज । गत वैशाख १६ गतेबाट सुरु भएको संसदको चौथो अधिवेशन बिहीबार सकिँदै । मिडिया सम्बन्धि विधेयक, नागरिकता विधेयकलगायतका सर्वाधिक चासोका विधेयकहरुलाई थाती राखेर उक्त अधिवेशनको अन्त्य हुन लागेको हो । गुठी विधेयक भने सरकार आफैंले फिर्ता लिएको थियो ।

गत बैशाख १६ गते सुरु भएको संघीय संसदको चौथो अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गर्‍यो । बजेट अधिवेशन पनि भनिने चालु अधिवेशनको मुख्य काम यही नै थियो ।

पाँच महिनासम्म चलेको संसद अधिवेशनले केही महत्वपूर्ण विधेयकहरु पारित गरेको छ । तर, नागरिकता ऐन संशोधन, मिडिया काउन्सिल, संघीय निजामति कर्मचारीको सेवा शर्त गठन र तीन तहको अन्तरसम्बन्ध सम्बन्धी विधेयकहरु संसदीय विषयगत समितिमै छन् ।

भूमिसम्बन्धी विधेयक, विज्ञापन नियमनसम्बन्धी विधेयक, राष्ट्रिय परिचयपत्र सम्बन्धि विधेयक र प्रहरीसँग सम्बन्धित दुईवटा विधेयक भने यस अधिवेशनमा पारित भए ।

बिहीबार प्रतिनिधि सभाबाट विभिन्न ६ वटा विधेयक पारित हुँदैछ । राष्ट्रिय सभाबाट पारित भएर संदेशसहित आएको राहदानी विधेयक, भूमिसम्बन्धी विधेयक र राष्ट्रिय परिचयपत्रसम्बन्धी विधेयक पारित गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

यस्तै, प्रतिनिधिसभा संसदीय समितिबाट तीनवटा विधेयक समितिको प्रतिवेदनसहित पारित गर्ने तयारी रहेको सचिवालयले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*