गृहमन्त्रीको जवाफ काँग्रेसलाई चित्त बुझेन, प्रतिनिधिसभाको बैठक अवरुद्ध

२०७६ भाद्र २९,आईतवार १५:०४
file photo

काठमाडौं, २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाँके घटनाको विषयलाई लिएर प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

आईतबार बसेको प्रतिनिधिसभाको बैठकमा बाँके घटनाबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै काँग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन् ।

बैठकको सुरुमै बोल्दै संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले दोश्रो चरणको राष्ट्रिय जागरण कार्यक्रम विथोल्ने गरि राज्यसंयन्त्रको निर्देशनमा बाँंके घटना गराईएको आरोप लगाए ।

भदौ २६ गते बाँकेको खजुरा गाउपालिका वडा नम्बर १ स्थित सितापुरमा नेपाली काँग्रेसले गरेको राष्ट्रिय जागरण सभामा सत्तारुढ दलका कार्यकर्ताले अरिङ्गालको जसरी प्रवेश गरि कार्यक्रम विथोल्नुको साथै जिल्ला सभापति किरण कोइराला र केन्द्रीय प्रतिनिधिमाथि आक्रमण गरेको दाबी उनले गरे ।

गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घटनालाई सरकारले गम्भीर रुपमा लिएको उल्लेख गर्दे दोषीलाई कारवाही हुने प्रतिवद्धता जनाए ।

गृहमन्त्रीको जवाफमा प्रतिप्रश्न गर्दै सांसद दिलेन्द्रप्रसाद बडूले सत्तारुढ दलका वडा अध्यक्ष सुमन मल्लको घटनामा प्रमुख भूमिका रहेको दाबी गर्दै सरकारले नै घटनालाई राजनीतिकरण गरेको जिकिर गरे ।

सांसद गगन थापाले घटनाको तथ्यलाई सरकारले तोडमोड गरेर अपराधीको नाम समेत लुकाएको आरोप लगाए । गृहमन्त्री थापाले घटना संलग्नहरु नेपाल कम्युनिष्ट पार्टीका सदस्य थिए र पक्राउ पर्छन् भन्ने प्रतिबद्धता नजनाएसम्म सदन सञ्चालन हुन नसक्ने बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*