हेटौँडामा विद्यालय स्तरीय दौड प्रतियोगिता हुने

२०७६ भाद्र २७,शुक्रबार १७:५३

मकवानपुर, २७ भदौ । नेपाल बाल संगठन मकवानपुरले राष्ट्रिय बाल दिवस २०७६ को अवसरमा शनिबार हेटौँडामा विद्यालयस्तरीय दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

हेटौँडा नगर क्षेत्रका विद्यालयका र भीमफेदीस्थित बाल गृहका विद्यार्थीहरुको सहभागितामा शनिबार विहान ७ बजे हेटौँडामा दौड प्रतियोगिता आयोजना गर्न लागेको कार्यक्रम संयोजक कृष्ण नकर्मीले जानकारी दिए ।

नकर्मीका अनुसार, हेटौँडाको बुद्धचौकबाट सुरु हुने तीन किलोमिटर दुरीको दौडमा हेटौँडा नगर क्षेत्रका १२ विद्यालयसहित भीमफेदीस्थित बाल गृहका विद्यार्थी गरी २४ जनाभन्दा बढी छात्रछात्राको प्रतियोगितामा सहभागिता रहनेछ ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने छात्रछात्रालाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने संगठनका मकवानपुर अध्यक्ष रमेश गिरीले जानकारी दिए ।

संगठनले दौड प्रतियोगितासँगै भीमफेदीमा राष्ट्रिय बाल दिवस २०७६ को अवसरमा खेलकुद प्रतियोगिता र अतिरिक्त क्रियाकलाप गर्ने जनाएको छ ।

खेलकुद प्रतियोगिता र अतिरिक्त क्रियाकलापका विजेता तथा उपविजेतालाई भदौ २९ गते आइतबार भीमफेदी बालगृहमा पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*