मकवानपुर जिल्लामा डेंगु रोगीको बिरामी बढ्दो

२०७६ भाद्र २६,बिहीबार १६:४२

मकवानपुर, २६ भदौ । मकवानपुर जिल्लाको विभिन्न गाउँपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र डेंगु रोगको प्रभाब घट्नुको सट्टा बढ्दै गएको छ ।

हेटौँडा उपनगरपालिकाको विभिन्न वडा र भीमफेदी, मनहरी, राक्सिराङ, कैलाश, मकवानपुरगढी र बकैया गाउँपालिकामा गरी हालसम्म कुुल ७ सय ९१ जना बिरामीहरु डेंगु संक्रमणबाट प्रभावित भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो तथ्याङक बिहिबार (आज) सम्मको हो ।

ती डेंगु रोगका बिरामीहरुलाई अहिले काठमाडौं, चितवनको भरतपुर र हेटौँडाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको पनि हेटौँडा उपनगरपालिका स्वास्थ्य महाशाखाका अधिकृत सुपेन्द्र कार्कीले बताए ।

उनका अनुसार, हालसम्म करिब ४ सय ७५ जना डेंगु रोगका बिरामीहरु उपचारपश्चात स्वास्थ्य लाभ गरी घर फर्किसकेका छन् ।
हेटौँडा उपमहानगरको विभिन्न स्थानमा फैलिएको डेंगु रोगलाई नियन्त्रणमा लिन टोलटोलमा जनचेतना फैलाउने कार्यक्रम भइरहेको हेटौँडा उपमहानगरपालिकाको प्रमुख हरिबहादुर महतले जानकारी दिए ।

लामखुुटे नियन्त्रण गर्ने अभियानमा हेटौँडा उपमहानगरपालिका, जिल्ला समन्वय समिति मकवानपुर, जिल्ला प्रशासन कार्यालय मकवानपुर, स्वास्थ्य कार्यालय र प्रदेश स्वास्थ्य निदेशनालयको समन्वयमा विभिन्न गाउँपालिहरुमा प्राविधिक जनशक्तिहरुको टोली परिचालन गरिएको स्वास्थ्य कार्यालय मकवानपुरका अधिकृत शशिकान्त सिंहले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*