सवारी दुर्घटनाबाट चार जनाको मृत्यु

२०७६ भाद्र २६,बिहीबार १५:०७

काठमाडौं, २६ भदौ । सुनसरी, पर्सा, रौतहट र महोत्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।
रौतहट चन्द्रपुर नगरपालिका—२ स्थित सडकमा बुधबार साँझ ना १ ह ९९३० नम्बरको टेम्पोले ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने साइकलयात्री ५० वर्षीय सानुराम चौधरीको उपचारको क्रममा मृत्यु भएको छ ।

त्यस्तै बुधबार साँझ नै महोत्तरी मठियानी नगरपालिका २ सडकमा ज १ ह २८०७ नम्बरको टेम्पोले ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ आबर बस्ने पैदलयात्री ५५ वर्षीय छिवन यादवको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनमा घाइते भएका सोही ठाउँका ३० वर्षीय सञ्जय साहको सोही अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी पर्सा जगरनाथपुर गाउँपालिकामा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट बुधबार साँझ ४ वर्षीय बालक रितेश राम मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका रितेशको उपचारको लागि नेशनल मेडिकल कलेज वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस्तै सुनसरी भोक्राहा नर्सिंङ गाउँपालिका ५ नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा गम्भीर घाइते भएका रौतहट चन्द्रपुर नगरपालिका–१० का १९ वर्षीय अभिनाश चौधरीको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने सवारी साधन र चालकलाई प्रहरीले खोजी गरिरहेको छ। सबै घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*