तु खबरका पत्रकारलाई गाली गर्ने रायले माफी मागेपछि हिरासतमुक्त

२०७६ भाद्र २५,बुधबार १९:४५

मकवानपुर, २५ भदौ । तु खबरमा प्रकाशित समाचारको विषयलाई लिएर सोही अनलाइनका पत्रकारलाई सामाजिक सञ्जालमा गाली गर्ने मनहरी प्राथमिक स्वास्थ्य केन्द्रका ल्याब टेक्निसियन सुरेश रायलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपछि उनले सो गैरकानूनी काम आफूबाट भएकोमा अब आइन्दा कसैलाई पनि गाली नगर्ने भन्दै माफी मागेर उनी ८ घण्टापछि हिरासतमुक्त भएका छन् ।

तु खबरका सम्पादक गिरिजा अधिकारीले समाचार लेखेकै विषयमा रायबाट सामाजिक सञ्जाल फेसबुकमार्फत् गाली गरेकोले कानून बमोजिम कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका थिए । सो उजुरीको आधारमा प्रहरीले रायलाई पक्राउ गरेको थियो । राय पक्राउ परेपछि मेडिकल ल्याब एशोसियशन, मनहरी गाउँपालिका र स्वयम् रायले समेत एकपटकको लागि माफी दिन अनुरोध गरेपछि तु खबरका सम्पादक अधिकारीले उजुरी फिर्ता लिएका हुन् ।

उनले आफ्नो फेसबुकमार्फत् आम पत्रकारजगतलाई मानहानी हुने गरी अपशब्द प्रयोग गरेकोमा सार्वजनिक रुपमा माफी मागेका छन् । र, आइन्दा यस्तो गैरकानूनी क्रियाकलाप गरी कोही कसैको मान सम्मान गरिमामा आघात पुर्याउने काम नगर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले रायमाथि साइबर क्राइम अन्तर्गत मुद्धा चल्ने भएता पनि सम्पादक अधिकारीले एकपटकको लागि माफी दिने भन्दै निवेदन फिर्ता लिएपछि रायलाई हिरासतमुक्त गरिदिएको बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*