महामारी बन्दै डेंगु : अहिलेसम्म चार जनाको मृत्यु

२०७६ भाद्र २१,शनिबार १३:५३

राजधानी काठमाडौँसहित देशैभरि डेंगुका विरामी बढेका छन् । पछिल्लो पटक मन्त्रीदेखि उपचारमा संलग्न चिकित्सकहरू पनि डेंगुको चपेटामा परेका छन् ।

राजधानीमा मात्रै कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका २ चिकित्सकसहित १० जना, नेपाल जनस्वास्थ्य प्रयोगशालाका दुई र इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक स्वास्थ्यकर्मीलाई डेंगु संक्रमण भएको हो ।

डेङ्गुबाट अहिलेसम्म चारको मृत्यु

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष डेङ्गु सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको जनाएको छ । गत वर्ष उक्त रोगको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको थियो ।

महाशाखा प्रमुख डा विवेक लालले सातै प्रदेशमा सङ्क्रमण न्यूनीकरणका लागि कार्यक्रमसहित रु छ करोड १७ लाख खर्च पठाइएको जानकारी दिए । ‘डेङ्गु सङ्क्रमण र रोकथाम’ विषयक अन्तरक्रियामा उहाँले सङ्क्रमणको जोखिम रहेका मुलुकका विभिन्न ४२ जिल्ला तथा ८५ स्थानीय तहमा रोग नियन्त्रणका लागि रु एक करोड ६६ लाख खर्च पठाइएको बताए ।

विशेषज्ञ डा बाबुराम मरासिनीले शरीरका विभिन्न अङ्गमा रगत जम्ने, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, पिसाब तथा बान्ता गर्दा रगत आउनेलगायत लक्षण देखा परेमा सतर्क हुनुपर्ने सुझाव दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा वासुदेव पाण्डेका अनुसार श्वास फेर्न अप्ठ्यारो हुने रोगको लक्षण देखिएमा रगतमा भएको प्लेटलेट्सको सङ्ख्या परीक्षण गर्नुपर्छ ।

एडिज लामखुट्टेका कारण रोगको सङ्क्रमण हुने हुँदा घर वरिपरि फोहोर, पानी जम्ने खाल्डाखुल्डी भए त्यसलाई सफा गर्नुपर्ने उनले बताए ।

मन्त्री खनाललाई डेंगु :

मन्त्री खनाल डेंगु ज्वरोले थलिएपछि बुधबार ग्रान्डी इन्टरनेसनल हस्पिटलमा भर्ना भएका छन् । उनलाई १०३ डिग्रीसम्म ज्वरो आएको थियो । बिहीबार ज्वरो घटेको छ । अस्पतालले उनलाई डेंगु नै भएको आधिकारिक रूपमा जनाएको छैन ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार खनाललाई हेमोरेजिक वा डेंगु सक सिन्ड्रोमको लक्षण देखिएको छैन, साधारण डेंगु देखिएको हो । उनलाई केहि दिन अस्पताल मै राखेर उपचार गर्ने अस्पतालले जनाएको छ ।

ईडीसीडीका अनुसार यो वर्ष साउनयता विभिन्न अस्पतालमा भर्ना भएका डेंगु बिरामीको संख्या करिब ३ हजार नाघिसकेको छ । अस्पतालको बहिरंग सेवाबाट उपचार गराएर घरमै स्वास्थ्य लाभ गर्नेको संख्या भने अझै यकिन भएको छैन ।

ईडीसीडी स्रोतका अनुसार साउनयता प्रदेश १ मा ७५२, प्रदेश २ मा २३, प्रदेश ३ मा १३४४, गण्डकी प्रदेशमा ६७७, प्रदेश ५ मा १०८, सुदूरपश्चिममा १२ र कर्णाली प्रदेशमा २ जनामा डेंगु संक्रमण पाइएको छ ।

औषधि छर्कंदै :

देशभर डेंगुका बिरामी फेला पर्न थालेपछि काठमाडौँ महानगरको वातावरण व्यवस्था विभागले राजधानीमा डेंगु नियन्त्रणका लागि प्रयास गरेको छ । बिहिबार सुन्धारानजिकै लगनटोलमा घूवाँ स्प्रे गरिएको छ । लगन टोलका चोक–चोक, बाटोका कुना–काप्चा र पानी जम्न सक्ने तथा पानी जमेका सम्भावित ठाउँमा औषधि छरिएको छ ।

अहिले काठमाडौंमा १० फगर मेसिनद्वारा औषधि छर्किरहेको क्रुपी फाउन्डेसनका मोर्केटिङ अफिसर शुक्रराज नेम्वाङले बताए । ‘मेसिनबाट ठूलो आवाजसँगै धूवाँ छर्किने भएकाले महानगर तथा सम्बन्धित निकायसँग अनुमति लिएर यो अभियान चलाइरहेको छ,’ उनले भने । पेट्रोल, डिजेल र मालाथिन विषादी मिसाएर केमिकल तयार पारिन्छ । देशभर देखिएको डेंगुको संक्रमण नियन्त्रण गर्न फाउन्डेसनले कोरियाली सहयोगमा औषधि छर्ने अभियान चलाएको उनले बताए ।

कँहा कँहा देखियो बढी प्रकोप ?

अहिले काठमाडौँसहित भक्तपुर, चितवन, कास्की, मकवानपुर, दाङ, रुपन्देही, तनहुँसहित पहाडी जिल्ला सिन्धुपाल्चोक, पाँचथर र तेह्रथुममा समेत डेंगु देखिएको छ ।

कास्कीमा फैलिँदै गएको डेङ्गुको सङ्क्रमण नियन्त्रणबाहिर गएको छ । डेङ्गु नियन्त्रणका लागि विभिन्न सरोकारवालाले सचेतना एवं अन्तरक्रिया कार्यक्रम गरे पनि नियन्त्रण नभएपछि सबैलाई चिन्ताको विषय बनेको छ । कास्कीमा गत वर्ष पनि छ सयमा डेङ्गु देखिएको थियो ।

यस वर्ष तीन साताभित्र २८० मा डेङ्गु देखिसकेको छ । पोखरा महानगरपालिका–८ भित्र रहेको कवाडी सङ्कलन केन्द्रबाट सो रोग फैलिएको बताइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका कीटजन्य रोग निरीक्षक याम बरालले सबै क्षेत्रबाट डेङ्गु नियन्त्रणका लागि प्रचारप्रसार र सचेतना भइरहेको र यति हुँदाहुँदै पनि नियन्त्रणमा आउन नसक्नु चिन्ताको विषय भएको बताए ।

भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेङ्गुको सङ्क्रमण फेला परेको हो । अहिले दुई जनाको सोही अस्पतालमा र अन्यको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

डेङ्गु सङ्क्रमणबाट सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका–१२ भिमटारका ६५ वर्षीय रामबहादुर दनुवारको उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वरो आउने, टाउको दुख्ने हुन थालेपछि दनुवारलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेलले डेङ्गु भएको भन्दै काठमाडौँ लैजान सुझाव दिइएको थियो । परिवार र आफन्तले राजधानीको बानेश्वरस्थित भेनस अस्पताल पुर्याएको हो । अस्पतालले डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको प्रमाणित गरेको इन्द्रावती गाउँपालिका–१२ का अध्यक्ष कमलरत्न दनुवारले जानकारी दिए ।

तनहुँ जिल्लामा डेङ्गुका बिरामी बढेका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका ११ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ ।

कार्यालयका जनस्वास्थ्य अधिकृत एवं महामारी रोग नियन्त्रणसम्बन्धी फोकल पर्सन ऐश्वर्यचन्द्र भट्टराईका अनुसार आज मात्रै व्यास नगरपालिकाका दुई जनामा डेङ्गुको सङ्क्रमण देखा परेको छ । यसअघि बुधबार आँबुखैरेनीका दुई जनामा डेङ्गु देखिएको थियो ।

सुदूरपश्चिम प्रदेशका चार जिल्लामा १२ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ ।सबैभन्दा बढी दार्चुलामा पाँच जना डेङ्गु रोगका बिरामी भेटिएका छन् भने कैलालीमा चार, अछाममा एक, कञ्चनपुरमा एक र डोटीमा एक जनामा यो रोगको सङ्क्रमण देखिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

डेङ्गु रोगबाट डोटीमा एक जनाको मृत्यु भइसकेको छ । जिल्लामै पहिलोपटक उक्त रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’ को मृत्यु भएको थियो ।

लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि उनलाई कैलालीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा उनको भदौ ५ गते मृत्यु भएको थियो ।

अहिले पनि डेंगु संक्रमण भएका जिल्लाको संख्या बढिरहेको छ ।

चितवन जिल्लाका अस्पतालमा साउनयता ८३५ जना डेङ्गुका सङ्क्रमितलाई उपचार गरिएको छ । यसै क्रममा दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार दुई हजार ४२६ जनाको रगतको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । यो सङ्ख्या हाल सम्मकै उच्च हो ।

कार्यालयले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६७-०६८ मा तीन हजार २९८ जनाको डेङ्गु परीक्षण गरिएकोमा ७३९ जनामा सङ्क्रमण देखिएको थियो । त्यस आर्थिक वर्षमा पाँच जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७०-०७१ मा ३७१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । दुई हजार २६१ जनाको परीक्षण गरिएकोमा सो सङ्ख्यामा डेङ्गु देखिएको हो ।

यस्तै आर्थिक वर्ष २०७३-०७४ मा दुई हजार ५६२ जनामा परीक्षण गर्दा ६८७ जनामा डेङ्गु फेला परेको थियो । सो आर्थिक वर्षमा एक जनाको मृत्यु भएको थियो । त्यसैगरी जिल्लामा आर्थिक वर्ष २०७१-०७२ मा ११९, ०७२-०७३ मा ८५, ०६८-०६९ मा ६८, ०७४-०७५ मा ५९ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो ।

आर्थिक वर्ष २०६९-०७० मा ५२ जनामा डेङ्गु देखिएको थियो भने गत आर्थिक वर्षमा एक हजार ९५१ जनाको डेङ्गु परीक्षणमा ३१ जनामा देखिएको थियो । हरेक तीन-तीन वर्षमा सङ्क्रमण बढेको देखिन्छ । केसीका अनुसार यस वर्ष सङ्ख्या अत्यधिक बढेर गएको छ । जिल्लाका अधिकांश अस्पताल डेङ्गुका बिरामीले भरिएका छन् । नवलपुर जिल्ला स्थायी घर भई नारायणगढ बस्ने एक वृद्ध र शुक्रनगर घर भएकी किशोरीको डेङ्गुका कारण मृत्यु भएको थियो ।

के हो डेंगु ? कस्ता हुन्छन लक्षण ? 

डेंगु भाइरसको संक्रमणले हुने रोग हो । यो भाइरस एडिस प्रजातिको कालो र सेतो रङ्ग मिसिएको छिरबिरे पोथी लामखुट्टेको सार्छ ।

विश्वभर ट्रोपिकल मौसम भएका देशहरुमा यसको संक्रमण पाइन्छ । एशिया प्रशान्त क्षेत्रका नेपाललगायत भारत, माल्दिभ्स, श्रीलङ्का तथा अफ्रिका र ल्याटिन अमेरिकामा यसको समस्या छ । सामान्यतया यो रोग गर्मी मौसममा हुने भए पनि जलवायु परिवर्तनको असरले भाइरस बोक्ने लामखुट्टे जाडोमा पनि पाउन थालिएसँगै जाडो मौसममा पनि डेङ्गीको समस्या देखिन थालेको छ ।

डेंगु ज्वरोका लक्षणहरु :

संक्रमित लामखुट्टेले टोकेको ४८ घण्टामा रगतमा भाइरस फैलिन्छ । यसका लक्षण देखिन ३ देखि १३ दिनसम्म लाग्न सक्छ । सामान्य रुघा खोकी लाग्ने, जोर्नी दुख्ने, आँखाका दाना दुख्ने, सरीरमा डाबर आउने, खानामा अरुचि हुने, जोनी तथा मांसपेशी दुख्ने यसका लक्षण हुन् । त्यस्तै पेट तथा आन्द्रामा गडबढी हुने यस रोगमा रगत जम्ने प्रक्रिया अव्यवस्थित भएर भित्री रक्त श्राव हुने समस्या पनि हुनसक्छ ।

यसरी आएको ज्वरो ५ देखि ७ दिनसम्म रहिरहन सक्दछ । केही बिरामीमा शुरु मै सरीरभरी खटिरा आउँछन् । त्यस्तै शरीरमा डण्डीफोर जस्ता डावरहरु देखिन्छन् । ज्वरो आईरहेको अवस्थामा नाक तथा गिजाबाट तथा छालामुनि रक्तश्राव हुन सक्छ ।

बच्ने उपाय

सफा पानीमा बस्ने यो प्रजातिका लामखुट्टेले दिनमा टोक्छन् । यसबाट बच्न पानी छोपेर राख्ने, लामो समयसम्म पानी जमाएर नराख्ने, पानीलाई बिर्कोले छोपेर राख्ने तथा दिनमा देखिने लामखुट्टे नष्ट गर्ने विधि अपनाउनु पर्छ । सरीर पूरा ढाकिने गरी कपडा लगाउनु पर्छ ।
लामखुट्टेको टोकाइबाट बच्न मल्हम जस्ता सामाग्रीको प्रयोग गर्नुपर्छ । झुलभित्र सुत्नुपर्छ । घर वरपर वा घर भन्दा बाहिर कामगर्न जादाँ लामखुट्टेले टोक्छ कि ध्यान पुर्याउनु पर्छ । झ्याल र ढोकामा जाली लगाएर बन्द राख्नुपर्छ । पानी राख्ने भाडाहरु जस्तै पानी ट्याङ्की, गाग्री, दहीको कतौरा, बाल्टिन, ड्रम आदि सँधैं छोपेर राख्नुपर्छ । लामखट्टेको नियन्त्रणका लागि घर वरपर पानी जम्न नदिन खाल्डा—खुल्डी पुर्नुपर्छ । घर आँगन सफा राख्नुपर्छ ।

यो लामखुट्टेले सफा पानीमा फुल पार्ने हुनाले लामो समयसम्म एउटै ठाउँमा पानी जम्मा गरेर राख्नु हुँदैन । पुराना टायर, पानी जम्न सक्ने भाँडाकुँडा, पुराना बट्टा खाल्डो खनेर नष्ट गर्नुपर्छ । गमला फूलदानी एअर कुलर जस्ता पानी जम्ने सामाग्रीको पानी हप्तामा एक पटक नियमित रुपमा सुख्खा हुने गरी सफा गर्नुपर्छ । त्यस्तै खानेपानीको पाइप तथा ढलहरु चुहिने भएमा तुरुन्त मर्मतको व्यबस्था गर्नुपर्छ ।

खरीबोट डटकममा प्रकाशित समाचार हामीले साभार गरेका हौँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*