३ सय घर बनाइदिन्छु भन्दै रकम असुल्ने मकवानपुरका ५ जना पक्राउ

२०७६ श्रावण ३१,शुक्रबार १४:३४

मकववानपुर, ३१ साउन । चितवनको लोथरमा ३ सय वटा घर बनाइदिने भन्दै ठगी गर्ने मकवानपुरका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका वडा नं ५ का ३८ वर्षीय दानियल भनिने श्यामबहादुर प्रजा, ३४ वर्षीय विनोद प्रजा, ३० वर्षीय दीपक प्रजा, २५ वर्षीय प्रिन्स भनिने राजकुमार प्रजा र २४ वर्षीय राज प्रजा रहेका छन् ।

उनीहरु काठमाडौँको माछापोखरी चोकको अण्डरग्राउण्डस्थित महाबौध्द मःम सेन्टरमा चितवन राप्ती नगरपालिकाका सन्तोष प्रजा र जगमणि प्रजासँग फारम भरेबापतको रकम भनी २ हजारका दरले रकम असुलेर कागज गर्दैगर्दा पक्राउ परेका हुन् ।

उनीहरुले ३ सय घर बनाउने भन्दै प्रतिघर फारम शुल्क भन्दै २ हजार उठाइएको प्रहरीले जनाएको छ । घर बनिसकेपछि प्रतिघर ५ लाख रुपियाँ दिनुपर्ने कागजसमेत गरिएको पाइएको छ ।

उनीहरुको साथबाट प्रहरीले नगद ८५ हजार ५ सय, विभिन्न सरकारी कार्यालयका छापहरू, राजनीतिक तथा प्रशासनिक व्यक्तिहरुको भिजिटिङ कार्डहरु, रजिष्टर, एभरेष्ट बैँक र महालक्ष्मी बैंकको २ थान चेकबुक, रजिष्ट्रेशन फर्म एवं ८ थान मोबाइल र केही राहदानी पनि बरामद गरिएको जनाएको छ । उनीहरुलाई पक्राउ गर्नुका साथै घटनाकोे विषयमा थप अनुसन्धान भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*