मकवानपुरमा ७७ हजारले गराए स्वास्थ्य विमा

तु खबर संवाददाता
२०७५ माघ २७,आईतवार ११:०८

मकवानपुर २७ माघ । मकवानपुर जिल्लामा ७७ हजार जनाले स्वास्थ्य विमा गराएका छन् । स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत जिल्लाको १३ हजार ४ सय १२ परिवारका ७७ हजार २ सय ८७ जनाले बीमा गराएका स्वास्थ्य विमा कार्यक्रमका जिल्ला संयोजक नरबहादुर खड्काले जानकारी दिए ।

जिल्लामा सबै भन्दा बढी हेटौंडा उपमहानगरपालिकामा विमा भएको छ । स्वास्थ्य विमा कार्यालय मकवानपुरले उपलब्ध गराएको मंसिरसम्मको तथ्याड्ढ अनुसार हेटौंडा उपमहानगरपालिकाका ७ हजार १ सय २३ परिवारका ४० हजार ६ सय २८ जनाले बीमा गराएका छन् ।

यस्तै, मनहरी गाउँपालिकाका १ हजार ९ सय ९ परिवारका ११ हजार ८ सय ४२ जनाले विमा गराएका छन् । यस्तै, बाग्मति गाउँपालिकाका २ सय ५० परिवारका ११७६ जना, भीमफेदी गाउँपालिकाका ६ सय परिवारका ३ हजार ४ सय १९ जना, कैलाश गाउँपालिकाका ३ सय ३० परिवारका १ हजार ७ सय ५३ जनाले विमा गराएका छन् । मकवानपुरगढी गाउँपालिकाका ७ सय ८० परिवारका ४ हजार ४ सय ९२ जना, राक्सिराङ गाउँपालिकाका २ सय ९० परिवारका १ हजार ५ सय ६० जना, इन्द्रसरोवर गाउँपालिकाका ५ सय ५० परिवारका ३ हजार १ सय ८६ जना र बकैया गाउँपालिकाको ६ सय ८८ परिवारका ४ हजार २ सय ७८ जनाको विमा गरिएको बताइएको छ ।

स्वास्थ्य विमा सुविधा लिएका करिब ५५ हजारले यो सेवा उपभोग गरेका छन् । अस्पतालले स्वास्थ्य विमाको उपचार गराएबापत जिल्ला स्थित कार्यालयमा दाबी गर्ने गरेका छन् । सोही दाबी अनुसार जिल्लामा ५४ हजार ७ सय ५० जनाले सेवा लिएको कार्यालयको तथ्याड्ढमा उल्लेख रहेको छ ।

मकवानपुरमा ८ वटा स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य विमा बापतको सुविधा उपलब्ध छ । सबै भन्दा बढी हेटौंडा अस्पतालबाट २३ हजार २ सय २६ जनाले सेवा लिएका छन् । यस्तै, चुरेहिल अस्पतालबाट ११ हजार ४ सय ७५ जनाले सेवा लिएका छन् । सामुदायिक आँखा अस्पतालले ९ हजार ५ सय १६ जनालाई स्वास्थ्यबीमा बापतको सेवा उपलब्ध गराएको स्वास्थ्य बीमा कार्यक्रमको जिल्ला संयोजक खड्काले जानकारी दिए ।

मनहरी प्राथमिक स्वास्थ्य केन्द्रबाट ४ हजार २ सय २२, छतिवन प्राथमिक स्वास्थ्य केन्द्रबाट २ हजार १ सय ५६, पालुङ प्राथमिक स्वास्थ्य केन्द्रबाट १ हजार २ सय २, भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रबाट ७ सय ६२ जना र मनमोहन मेमोरियल सामुदायिक अस्पतालबाट २ हजार १ सय ९१ जनाले स्वास्थ्य सेवा लिएको उनले बताए । सरकारी अस्पताललाई प्रवद्र्धन गर्न यो सेवा उपलब्ध गराइएको भए पनि निजी क्षेत्रमा बढी नै अकर्षण पाइएको उनले बताए ।

‘हामीले यो कार्यक्रम मार्फत सरकारी सेवामा सुधार गर्न सहयोग होस भन्ने उद्देश्य लिएका छौं,’ उनले भने,‘तर सरकारी अस्पतालले यसमा खासै ध्यान दिन नसकेको देखिएको छ । हामीलाई तथ्याड्ढ उपलब्ध गराउन पनि ढिलाई भइरहेको छ । निजिबाट तत्काल बीमा बापतको उपचार रकम दाबी हुन्छ तर सरकारी अस्पतालले ढिला गरिरहेका छन् ।’ चुरेहील अस्पताललाई अकस्मिक उपचारका लागि मात्रै सिफारिस गरिएको भन्दै उनले सामान्य अवस्थामा पनि उक्त अस्पतालमा जाने क्रम बढ्दो छ ।

स्वास्थ्यबीमा गराएकाहरुले तोकिएको स्वास्थ्य संस्थामा उपचार सम्भव नभएमा रिफरको सुविधा पनि उपलब्ध गराइएको छ । यसरी मकवानपुरमा रिफर लिएर अन्यत्र उपचार गराउनेको संख्या भने अत्यन्त न्यून रहेको पाइएको छ ।

करिब ५५ हजार जनाले यो सुविधाको उपचार गराईरहँदा रिफर गर्नेको संख्या भने जम्मा २७२ मात्रै रहेको छ । सबै भन्दा बढी रिफर छतिवन प्राथमिक स्वास्थ्य केन्द्रबाट १३८ जना रहेका छन् । भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रबाट १३ जना, पालुङ प्राथमिक स्वास्थ्य केन्द्रबाट २३ जना, मनमोहन मेमोरियल सामुदायिक अस्पतालबाट २ जनाले रिफर लिएका छन् । हेटौंडा अस्पतालबाट ८५ जना र चुरेहिल अस्पतालबाट ११ जनाले रिफर लिएका छन् । मनहरी प्राथमिक स्वास्थ्य केन्द्रबाट भने एक जनाले पनि रिफर लिएको तथ्याड्ढ देखिँदैन ।

यसैबीच, स्वास्थ्यबीमा सुरु भएको एक वर्ष पूरा हुँदा नवीकरण गर्नेको संख्या भने ७६ प्रतिशत मात्रै रहेको पाइएको छ । २०७४ असार १५ बाट बीमा गराउने कार्यको सुरुवात भएको मा २०७५ भदौसम्म ४५ प्रतिशतले मात्रै नवीकरण गरेका थिए । तर मंसिरसम्म आइपुग्दा यो क्रम बढेर ७६ प्रतिशतमा पुगेको खड्काले जानकारी दिए । ‘सुरुमा सेवामा जनतामा केही आशंका रहेको पाइएको छ,’ उनले भने,‘तर नवीकरण नगरी सेवा उपलब्ध नहुने भएपछि फेरि नवीकरण गर्ने क्रम बढेको छ । थोरै भए पनि स्वास्थ्य सेवा निःशूल्क पाइने भएकोले पनि पछिल्लो समय नवीकरण गर्ने क्रम बढेको हो ।’ स्वास्थ्य बीमा बापत ४ करोड २१ लाख रुपैयाँ संकलन भएको उनले बताए । तर, यो अवधिमा करिब १५ करोड रुपैयाँ बराबरको सेवा उपलब्ध गराइएको उनले बताए । स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भइरहेको खड्काले जानकारी दिए । मकवानपुर जिल्लामा १२८ जना दर्ता सहयोगीहरु परिचालित छन् ।