विष्टको दर्शनलाई व्यवहारमा उतारे मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने : प्रविधिमन्त्री पोखरेलले

तु खबर संवाददाता
२०७५ पुष २६,बिहीबार १७:२९

थाहानगर २६ पौष । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको दर्शनलाई व्यवहारमा उतारे मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले बताएका छन् ।

विष्टको दर्शनलाई कार्यान्वयनमा ल्याउनु भन्दापनि उनको चर्चा गर्नेहरुको मात्र भिड बढिरहेको सन्दर्भमा रुपचन्द्र विष्ट सम्झाउने कार्यक्रमप्रति युवाहरुको सक्रियता बढ्नु सकारात्मक भएको बताए । रुपचन्द्र विष्टको ८५ औं जन्मजयन्ती तथा चौथो थाहा दिवसको अवसरमा थाहा नगरपालिकाको समन्वयमा फरकसोच अभियानले मकवानपुरको थाहा नगरपालिकामा आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

मन्त्री पोखरेलले विष्ट महान दार्शनिक भएको चर्चा गर्दै उनको जीवनीलाई स्थानीय पाठ्यक्रममै राख्न आग्रह गर्दै आफ्नो तर्फबाट पहल हुने बताए । यसका लागि आफूले पाठ्यक्रम विकास केन्द्रसंग केन्द्रसंग समन्वय गरिदिने पोखरेलले बताए ।

फरकसोचका संयोजक यादवजंग रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका प्रदेश सभा सांसद कुमारी मोक्तान, कार्यक्रममा प्रेम बहादुर पुलामी ‘छिन्तु’, थाहानगर प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली, नेकपाका नेता बलराम बललगायतले रुपचन्द्र विष्टको योगदानको विषयमा चर्चा गरेका थिए ।