मकवानपुरमा ७२ वर्ष कटेका वृद्धले नागरिकता प्राप्त

तु खबर संवाददाता
२०७५ कार्तिक १५,बिहीबार ११:४४

मकवानपुर १५ कात्तिक । मकवानपुरमा ७२ वर्ष कटेका वृद्धले नागरिकता लिएका छन् । नागरिकता लिने उमेर १६ वर्ष भएतापनि उनले वृद्धभत्ता बुझ्ने उमेरमा नागरिकता लिएका हुन् ।

बागमती गाउँपालिका वडा नम्बर ६ बस्ने जितबहादुर मोक्तानले जन्मेकोे ७२ बर्षपछि नागरिकता लिदाँ खुशी भएका छन् । किशोरावस्था हुँदा जिल्लामा कयौं पटक धाउदाँ समेत नबने पछि चुप लागेर बसेका जितबहादुर मोक्तानले नागरिकता लिदाँ आफुमा खुशी छाएको बताए ।

हाल उनी अपाङ समेत छन् । उनका दाजुभाईले बोकेर ल्याएर उनको नागरिकता बनाई दिएको गाउँपालिकाका स्वकीय सचिव मनोज बलले बताए ।

नागरिकता पाइयो अब वृद्धभत्ता पाइने भयो । आफु अपाङ्ग भएर जीवन बिताईरहँदा अब भने केहि राहत पाएकोमा खुशी हुँदै उनले भने,“अब त उपचार खर्च र खाजा खाने पैसा हुने भो सरकारले भत्ता दिन्छ रे सजिलो हुनेभयो ।” मोक्तान २००३ बैशाख ५ गते बागमती गाउँपालिका वडा नम्बर ६ मा जन्मिएका हुन् ।

त्यस्तै बागमती गाउँपालिका वडा नम्बर ६ का शान्तिमाया राईले पनि ७१ बर्षमा नागरिकता पाएकी छिन् । उनले भनिन् नागरिकता नपाई मर्छु कि भन्ने लागेको थियो गाउँपालिकाले नागरिकता दियो खुसीले सिमा नरहेको बताईन् । उनले भनिन्, “सरकारले भत्ता दिने भनेको थियो औषध उपचार गर्न खर्च हुनेभो ।”

उनि जस्तै बुढेसकालमा नागरिकता पाउने धेरै रहेको भन्दै गाउँपालिका अध्यक्ष सर्केश घलानले भने, “त्यस्तो व्यक्तिहरुलाई हामीले खोजी गरी सहज तरिकाबाट नेपाली नागरिकता प्रदान गर्न लागिरहेका छौँ ।” प्रमुख अथिति समेत रहेका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जनताले पाउनु पर्ने नैशर्गिक अधिकारबाट कोही पनि बञ्चित नहुनको लागि यस्ता शिविर विभिन्न ठाउँमा संचालन गरिरहेको बताए ।