पत्रकार कार्कीलाई पितृशोक

मकवानपुर । पत्रकार महासंघ बागमती प्रदेशको उपाध्यक्ष सम्झना कार्कीलाई पितृशोक परेको छ । नेपाल प्रेस युनियनको महाधिवेशन प्रतिनिधि (केन्द्रीय पार्षद् ) समेत रहेकी कार्कीको बुवा ६६ बर्षीय दीपबहादुर कार्कीको सोमबार निधन भएको हो ।

घाँटीको क्यान्सरबाट पीडित उनको सोमबार घरमै निधन भएको हो ।

भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका उनको हेटौंडा–९ स्थित घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सोलुखुम्बु जन्म भै लामो समयदेहि हेटौंडामै रहँदै आएका कार्कीको तीन छोरी, एक छोरा र श्रीमति रहेका छन् ।

सुस्मिता हत्या प्रकरण – अभियुक्त ४ जनाको बयान सकियो, थुनछेक बहस भोलि

मकवानपुर । हेटौँडा ४ सुर्यचोककी सुस्मिता केसी थापाको हत्यामा प्रकरणमा संलग्न ४ जनाको बयान सकिएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।

थुनछेक बहस भने भोलि हुने जनाइएको छ ।

सरकारी वकिलको कार्यालयले हत्यामा संलग्न ५८ बर्षीय ससुरा प्रकाश थापा र २३ बर्षीया नन्द सीता थापालाई आजीवन कैद सजायको माग गर्दै जिल्ला अदालत मकवानपुरमा अभियोग पत्र दर्ता गरेको थियो ।

त्यसैगरी ५० बर्षीया सासु तुलसा थापा १२ बर्ष जेल सजाय र जेठी नन्द २७ बर्षीय दुर्गा थापा र उनका पति ३४ बर्षीय अरुण कार्कीलाई हत्यामा षड्यन्त्र गरेको दाबी गर्दै २५ वर्ष कैद माग गर्दै सरकारी वकिलको कार्यालय मकवानपुरले अभियोग पत्र दर्ता गराएको थियो ।

आज ४ जनाको बयान सकिएको छ । आरोपी अरुण कार्की भने अदालतको सम्पर्कमा नआएको थाहा लागेको छ ।

२६ बर्षकी केसी असार २ गते आफ्नै घरको भान्सा कोठामा मृत अवस्थामा फेला परेकी थिईन् ।

उनको हत्यामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले असार १५ गते परिवारकै ४ जना सदस्यहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो ।

हेटौँडा क्याम्पसको ११ औँ क्याम्पस सभा सम्पन्न

मकवानपुर । हेटौँडा क्याम्पसको ११ औँ क्याम्पस सभा आज सम्पन्न भएको छ ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले सामुदायिक क्याम्पसहरुले उच्च शिक्षामा दिएको योगदानप्रति प्रशंसा व्यक्त गरे ।

प्रदेश सरकार सामुदायिक क्याम्पसहरुमध्ये भौतिक र शैक्षिक गुणस्तरमा अब्बल क्याम्पसलाई प्रदेश विश्वविद्यालय र अन्य योग्य क्याम्पसलाई प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउने योजनामा रहेको मन्त्री दुलालले बताए ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष आनन्दराम पराजुलीले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालक समितिका अध्यक्ष एवम् प्रदेश सभा सदस्य मुनु सिग्देलले क्याम्पसको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् ।

सभाले कोषाध्यक्ष कमानसिंह पाख्रिनले प्रस्तुत गरेको चालु आर्थिक वर्षको आय व्यय विवरण, छात्रवृत्ति उपसमितिका संयोजक प्रदीप कोइरालाले प्रस्तुत गरेको छात्रवृत्ति उपसमितिको प्रतिवेदन, सेवा समितिका संयोजक बद्रीनाथ शर्माले प्रस्तुत गर्नुभएको सेवा समितिको प्रतिवेदन, शैक्षिक गुणस्तर अभिवृद्धि उपसमितिका संयोजक पुरणबहादुर जोशीले प्रस्तुत गरेको शैक्षिक प्रतिवेदन तथा खरिद तथा निर्माण उपसमितिका संयोजक श्यामसुन्दर ढकालले प्रस्तुत गरेको खरिद तथा निर्माण उपसमितिको प्रतिवेदन छलफलसहित पास गरेको छ ।

कार्यक्रममा प्रदेश सभाका सांसद प्रेमबहादुर पुलामीलगायत सहभागि थिए ।

मकवानपुरका खेल पत्रकार बानियाँ सम्मानित

मकवानपुर । सहिद प्रित कुमार मोक्तान प्रतिष्ठान हेटौँडाले गोल नेपाल डटकम मकवानपुरका संवाददाता विक्रमकुमार बानियाँलाई सम्मान गरेको छ ।

प्रतिष्ठानले मकवानपुरे खेलकुदलाई पत्रकारितामार्फत विश्वसामु चिनाउन र अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै बानियाँलाई सम्मान गरेको हो ।

प्रतिष्ठानका संयोजक हेलिस मोक्तानले आज एक कार्यक्रममा बानियाँलाई खादा ओढाएर प्रमाणपत्र सहित सम्मान गरेका हुन् ।

युवा फुटबल खेलाडीलाई खेलकुद सामग्री हस्तान्तरण
प्रतिष्ठानले आज हेटौँडा उपमहानगरपालिका वडा नम्वर ९ का युवा फुटबल खेलाडीहरुलाई खेलकुदका लागि आवश्यक सामग्री उपलब्ध गराएको छ ।

संयोजक हेलिस मोक्तानले ९ नम्बर वडास्तरीय युवा क्लबका सचिव रन्जन पौडेललाई खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी प्रतिष्ठानले राष्ट्रिय फुटबल टिमका सदस्य सुनिल बल र ए डिभिजन फुटबल च्यासल युथ क्लबका टिम क्याप्टेन अमिर श्रेष्ठलाई पनि सम्मान गरेको छ ।

प्रतिष्ठानले हेटौँडा ९ मा वडास्तरीय खेलकुख प्रशिक्षण कार्यक्रम गर्ने समेत जनाएको छ ।

सुस्मिता हत्या प्रकरण – जिल्ला अदालत मकवानपुरमा ५ जना विरुद्ध अभियोगपत्र दर्ता

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ की सुस्मिता केसी थापाको हत्या प्रकरणमा संलग्न भएको भन्दै ५ जना विरुद्ध जिल्ला अदालत मकवानपुरमा मुद्धा दायर भएको छ ।

सरकारी वकिलको कार्यालयले जिल्ला अदालत मकवानपुरमा दुर्गा थापाको श्रीमान बिरुद्ध पनि जन्मकैद सँजाय माग गर्दै मुद्दा दायर गरेको हो । सो हत्या प्रकरणमा ५ जनामाथि अभियोग पत्र दर्ता भएको छ ।

मृतक केसीको ससुरा प्रकाश थापा र कान्छी नन्द सीता थापालाई आजीवन कैद सँजायको माग गरिएको छ ।

जेठी नन्द दुर्गा र उनको पतिलाई जन्मकैद अर्थात २५ वर्ष र उनको सासु तुलसीकुमारी थापालाई हत्याराको मतियार रहेको भन्दै साँढे १२ वर्ष कैदको माग गरिएको छ ।

प्रहरीको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यलयले जिल्ला अदालतमा मुद्धा दायर गरेको हो ।

नक्कली धनी बनाएर गैरनेपालीलाई जग्गा बिक्री

अख्तियारले गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी बनाएर जग्गा बेचबिखन गर्ने सहयोग गरेको अभियोगमा मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आयोगले तत्कालीन मालपोत प्रमुख टीकाराम ज्ञवाली, तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार, तत्कालीन मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, तत्कालीन नायब सुब्बा बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठ, तत्कालीन गाविस सचिव नन्दलाल दास, बुद्धिसागर सुवेदी, नन्दलाल कुम्हाल कोहर, तत्कालीन कम्प्युटर अपरेटर सुवास खड्का, तत्कालीन खरिदार नेत्रबहादुर चौधरी, अमृतकुमार काम्मु मगर, खगेन्द्र पराजुली र गेरमी गाउँपालिका–५ बस्ने रविकुमार खत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । उनीहरूविरुद्ध जनही ५ करोड ५ लाख ४२ हजार बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

नवलपरासी साविक सनई गाविस–८ ख कि.नं १२१, २५१, २९७ समेतका जग्गा हदबन्दी रोक्का रहेकामा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको पाइएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

अनुसन्धान हुँदा भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवारले गलत कागजातका आधारमा कानुनविपरीत तीन परिवार संख्या कायम गर्ने गरी गरेको गैरकानुनी निर्णय, सोही निर्णयलाई कार्यान्वयन गराएको भनी मालपोत कार्यालयका तत्कालीन कार्यरत प्रमुख मालपोत अधिकृत र स्थानीय निकायसमेत प्रलोभनमा परी भारतमा बसोवास गर्ने र भारतमै मृत्यु भएका व्यक्तिलाई नेपालमै बसोवास गर्ने गरेको किर्तै कागजपत्र बनाएको अभियोग पत्रमा उल्लेख छ ।

नेपालको गेरमी गाविसमै मृत्यु भएको भनी नाता प्रमाणित, मृत्युदर्ता प्रमाणपत्रलगायतका गलत कागजात बनाई सम्बन्धित हकवाला व्यक्ति नै फरक पारी साविक मुलुकी ऐन अपुतालीको महलको १७ नं। तथा मुलुकी देवानी संहिता, २०७४ को दफा २४८ बमोजिम नेपाल सरकारको नाममा आउनुपर्ने क्षेत्रफल ३२.२.१७.२५ बिघा जग्गासमेत भारतीय नागरिक पिएस मेहराको छोरा अनुप मेहराबाट बिक्री वितरण गराउने कार्यमा भूमिसुधार कार्यालय, मालपोत कार्यालय, नवलपरासीका कर्मचारीहरू तथा स्थानीय निकायबाट सिफारिस दिने कर्मचारीहरू भएको प्रमाणित भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अस्तित्वमै नरहेका प्रेमशरण खत्रीका नाममा कायम रहेका जग्गाहरू सम्बन्धित सरकारी कर्मचारी र गलत प्रवृतिका व्यक्तिसँगको मिलेमतोमा अनुप मेहरा भन्ने भारतीय नागरिकलाई अनुपकुमार खत्री बनाई उनकै नामबाट उल्लिखित जग्गा विभिन्न व्यक्तिविशेषलाई बिक्री वितरण गरी हाल ती जग्गा देवेन्द्रसिंह सैथवार, आशकुमार सैथवार, बृजमनि सैथवार, इन्द्रावती सैथवार, अमनसिंह सैथवार नाबालक, तेजप्रतापसिंह सैथवार नावालक, रितुकुमारी सैथवार, शिवलाल चमार, प्रदीप सुनार, तेजश्व सोनकर, पूर्णिमाकुमारी बर्मा सुनार र प्रियंका कुमारी बर्मासमेतको नाममा कायम रहेको पाइएको छ ।

अख्तियारले उनीहरूलाई प्रतिवादी कायम गरी उक्त जग्गामा कायम रहेको मोहियानी हक सुरक्षित हुने गरी नेपाल सरकारको नाममा कायम हुन मागदाबी गरेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

भारत सरकारलाई ध्यानाकर्षण पत्र

भारतीय केही सञ्चार माध्यममा नेपाल र नेपाली शीर्ष नेतृत्वविरुद्ध आपत्तिजनक, आधारहीन र असंवेदनशील सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपालले भारतको गम्भीर ध्यानाकर्षण गराएको छ ।

परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय विदेश मन्त्रालयलाई ध्यानाकर्षण पत्र लेख्दै आगामी दिनमा नेपाल र नेपाली विरुद्धका यस्ता अश्लील र आधारहीन सामग्रीले भारतीय सञ्चार माध्यममा ठाउँ नपाउने सुनिश्चितता गर्न आग्रह गरेको छ । ‘केही भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली राजनीतिक नेतृत्वविरुद्ध अपमानजनक र अनैतिक सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ’ पत्रमा भनिएको छ, ‘नक्कली, आधारहीन, न्यूनतम शिष्टतासमेत प्रदर्शन नगरिएका यस्ता गलत अभियानले नेपाली जनता र नेपाली राजनीतिक नेतृत्वको व्यक्तित्वमा चोट पुगेको छ ।’

नेपाल–भारत द्विपक्षीय सम्बन्धको लामो इतिहास छ, जसमध्ये सामाजिक सांस्कृतिक सम्बन्ध, जनता–जनताबीचको सम्बन्ध र एकअर्काको भावनाप्रति संवेदनशीलता यस सम्बन्धको महìवपूर्ण अंश हुन् भनेर पत्रमा प्रस्ट्याइएको छ । यी गहिरो र बहुआयामिक सम्बन्ध सार्वभौम समानता, मित्रता, समझदारी, एकअर्काको रुचि र सरोकारको परस्पर सम्मानको अन्तर्निहित सिद्धान्तहरूमा आधारित रहेको पत्रमा उल्लेख गरिएको छ । दुई देशको सम्बन्धलाई विस्तार गर्ने सवालमा अवश्य पनि सही सूचना र सही दृष्टिकोण निर्माण गर्दै रचनात्मक भूमिका सञ्चार माध्यमले निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

पोखरामा पर्यटनः अर्बौको लगानी सङ्कटमा

कोरोनाका कारण गरिएको बन्दाबन्दीसँगै पर्यटन क्षेत्रमा परेको असरले पोखराको पर्यटन क्षेत्रको अर्बौंको लगानी सङ्कटमा परेको छ । पर्यटन व्यवसायसँगै व्यवसायी सङ्कटमा परेका छन् ।

बन्दाबन्दी खुल्ने र पर्यटक आउने यकिन नभएपछि भाडा मात्र तिरेर बस्न सक्ने अवस्थामा पनि नरहेका पर्यटन व्यवसायी व्यवसाय छाड्न थालेका छन् । पोखराको लेकसाइडमा होटल व्यवसाय गर्दै आएका ७० जना व्यवसायी पर्यटन क्षेत्रबाट विस्थापित भइसकेका छन् भने करिब एक सयको हाराहारीमा होटल व्यवसायीले व्यवसाय बन्दको घोषणा गरेका छन् ।

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनका अनुसार पोखरामा मात्र बन्दाबन्दीका कारण ७० भन्दा बढी साना होटल व्यवसायीले व्यवसाय छाडिसकेका छन् । पोखरामा सानाठूला गरेर सात सय होटल छन् । २५० वटा होटल घरधनी आफैँले चलाएका छन् । जसमा एक खर्ब २५ अर्ब लगानी छ ।

पोखराका होटल व्यवसायमा पछिल्लो समयमा थुप्रै बैङ्कले पनि लगानी गरे । तुलाचनका अनुसार ७० देखि ८० अर्ब रुपियाँ बैङ्कको लगानी छ । लेक साइडमा ४० हजारदेखि मासिक १२ लाख रुपियाँसम्म भाडा तिर्ने होटल व्यवसायी छन् ।

समस्या समाधानका लागि दीर्घकालीन नीतिगत संरक्षण गर्न सरकारसँग माग गरेको अध्यक्ष तुलाचनले बताउनुभयो । विद्युत् छुट पनि उत्पादन क्षेत्रलाई मात्र दिइयो हामीलाई दिइएन, उहाँले भन्नुभयो । करिब चार महिनादेखि जारी बन्दाबन्दीका कारण भाडामा व्यवसाय सञ्चालन गरेका र बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरू बढी मारमा परेको तुलाचनले बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा तारा चापागाई दुवेले लेखेका छन् ।

बैंकमा थुप्रिन थाले पैसा

बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिन थाले पनि ब्याजदर करिडोरमार्फत व्यवस्थापन गर्न राष्ट्र बैंक तयार नभएको बैंकरले गुनासो गरेका छन्। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत खुला बजार कारोबारलाई ब्याजदर करिडोरको अंकुशमा राख्ने बताएको थियो।

बैंकमा लगानी गर्ने पैसा आवश्यकताभन्दा बढी हुँदा केन्द्रीय बैंकले निक्षेप किनिदिनुपर्छ। चाहिने जति पैसा पनि नपाएर लगानी गर्न नसक्ने बैंकलाई एक–दुई साताका लागि राष्ट्र बैंकले सापटी दिएर सहज बनाउनुपर्ने हुन्छ। बैंक तथा वित्तीय संस्था र केन्द्रीय बैंकबीच हुने यस्तो दोहोरो कारोबारको माध्यमलाई ब्याजदर करिडोर भनिएको हो। अहिलेको व्यवस्थाअनुसार बैंकहरुबीच एक रातको सापटी कारोबारको ब्याजदर २ प्रतिशतभन्दा कम भएमा राष्ट्र बैंकले २ प्रतिशत ब्याजमा बैंकसँग निक्षेप किनिदिनुपर्ने थियो।

तर हाल अन्तरबैंक कारोबार शून्य दशमलव २ प्रतिशतसम्म झर्दा पनि राष्ट्र बैंकले ब्याजदर करिडोरको कार्यान्वयन नगरेको बैंकर बताउँछन्। नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले राष्ट्र बैंक खुला बजार कारोबार सुरु गर्न तयार नहुँदा बैंक ठूलो रकम निष्कृय पुँजीका रुपमा राख्न बाध्य भएको बताए। यसबाट बैंकको नाफामा असरपर्ने उनी बताउँछन्।

अर्का एक बैंकरले भने राष्ट्र बैंकले ब्याज तिर्नुपर्ने लोभमा खुला बजार कारोबार सञ्चालन नगरेको आरोप लगाए। बैंकमा थुप्रिएको पैसा राष्ट्र बैंकले लगिदिने हो भने बैंकलाई २ प्रतिशतको दरले ब्याज तिर्नुपर्ने हुन्छ। आइतबार बैंकिङ प्रणालीमा १ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले जानकारी दिए। जतिबेला पनि ऋण दिन सकिने यस्तो रकम बैंकमा तीव्र दरमा बढिरहेको छ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विनय बञ्जाराले लेखेका छन् ।

गौतमले गरे ट्राफिक प्रहरीलाई ब्यारिगेट सहयोग

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ७ निवासी बिजय गौतम र विप्लब गौतमले ट्राफिक प्रहरीलाई २ थान ब्यारिगेट सहयोग गरेका छन् ।

ट्राफिक प्रहरीको लागि अत्यावश्यक रहेको ब्यारिगेट सहयोग गरिएको विजय गौतमले जानकारी दिए । उनले आज जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हरी विष्णु ढकाललाई सो ब्यारिगेट हस्तान्तरण गरेका छन् ।

ट्राफिक प्रहीले सवारी जाँचको कार्य हुँदैछ भन्ने सूचना दिनको लागि प्रयोग गर्ने ब्यारिगेट हस्तान्तरण गर्दै गौतमले प्रहरीलाई सहयोग गर्नु आम नागरिकको दायित्व भएको बताए ।