मतदाता नामावली संकलनको म्याद ५ दिन थपियो
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि थप ५ दिन समय दिने निर्णय गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्तका अनुसार हाल बढ्दो चापका कारण दर्ता प्रक्रिया सहज बनाउन म्याद थपिएको हो।
प्रधानमन्त्री सुशीला कार्की लगायत सरोकारवाला पक्षबाट दर्ता अवधि थप्न सुझाव प्राप्त भएपछि आयोगले समय वृद्धि गरेको बताइएको छ। विशेषगरी राष्ट्रिय परिचयपत्रको विवरणलाई अनलाइन प्रणालीसँग पूर्ण रूपमा जोडिएपछि मतदाता नामावली दर्ताका लागि अत्यधिक चाप बढेको आयोगले जनाएको छ।
बिहीबारदेखि आयोगको वेब साइटमार्फत राष्ट्रिय परिचयपत्र नम्बर राखेर अनलाइन आवेदन दिन मिल्ने भएपछि जैविक तथ्यांकका लागि कार्यालय धाउनुपर्ने झन्झट अन्त्य भएको छ। अनलाइनमा विवरण स्वतः झिकिने र बायोमेट्रिक डेटा पनि त्यहीँबाट प्राप्त हुने व्यवस्था भएपछि सेवा लिन चाहनेको संख्या तीव्र रूपमा बढेको हो।
दर्ता अवधिमा दुई दिन मात्र बाँकी रहँदै चाप बढेर सर्भर पटक–पटक डाउन हुन थालेपछि जनगुनासो बढेको थियो। सोही कारण आगामी पाँच दिन थपेर मतदाता नामावली दर्ता सहज र सबै समावेशी हुने वातावरण बनाउन प्रयास गरिएको आयोगले जनाएको छ।



