रास्वपाका सन्तोष परियारद्वारा पार्टी त्याग, वामपन्थी धारमा नयाँ अभियान

तु खबर संवाददाता
२०८२ कार्तिक २८, शुक्रबार १४:३९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेका छन्। उनले रास्वपाको सदस्यता त्याग गर्दै वामपन्थी धारको राजनीतिक अभियानमा सक्रिय हुने उद्देश्य व्यक्त गरेका छन्।

परियारले आजै रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएका हुन्। पार्टी छाडेको पुष्टि गर्दै उनले भने, “मैले रास्वपा छाडेको छु, अब नयाँ अभियान सञ्चालन गर्छु। आजै प्रेस विज्ञप्ति जारी गर्नेछु।”

परियार समानुपातिकतर्फका निवर्तमान सांसद तथा पार्टीभित्र महत्वपूर्ण भूमिकामा रहेका नेता हुन्। यसअघि निवर्तमान सांसद सुमना श्रेष्ठले पनि रास्वपा छाडिसकेकी थिइन्। पछिल्लो समय आन्तरिक असन्तुष्टिका स्वरहरू बढ्दै गएसँगै नेताहरू निरन्तर बाहिरिने क्रम देखिएको छ।

परियारले आगामी दिनमा वामपन्थी वैचारिक तहमा आधारित राजनीतिक यात्रातर्फ अघि बढ्ने संकेत गरेका छन्।