प्रचण्ड, माधव र रावलबीच सहमति पत्रमा हस्ताक्षर
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबीच सात बुँदे सहमति पत्रमा हस्ताक्षर भएपछि रावल औपचारिक रूपमा नेकपामा समाहित भएका छन्।बुधबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल र मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
सहमति अनुसार आगामी ६ महिनाभित्र राष्ट्रिय एकता महाधिवेशन गर्ने, सामूहिक नेतृत्व प्रणाली लागू गर्ने र डा. रावलको भूमिकाबारे आपसी सहमतिबाट टुंगो लगाउने उल्लेख गरिएको छ।कार्यक्रममा रावलले नेपालको कम्युनिस्ट आन्दोलन विभाजन भएको दिन सम्झिँदै अहिलेको एकतालाई “विछोडको घाउमा मल्हम लगाएको क्षण” भनेका छन्। उनका अनुसार, “त्यो दिन हामी यही ठाउँबाट छुट्टिएका थियौं, आज त्यही ठाउँमा एकताको हस्ताक्षर गर्न पाउँदा निकै भावनात्मक र ऐतिहासिक क्षण अनुभूति भएको छ।”
रावलले देश अहिले कठिन अवस्थाबाट गुज्रिरहेको बताउँदै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको लडाइँ अझ सशक्त रूपमा लड्नुपर्ने आवश्यकता औंल्याए। उनले १० दलबीचको एकता र हालको समायोजनलाई नेपालको राजनीतिक रूपान्तरण यात्राको नयाँ सुरुवातका रूपमा व्याख्या गरे।सहमति अनुसार, मातृभूमि जागरण अभियान अन्तर्गतका सबै तहका कार्यकर्ताहरूलाई नेकपाको संरचनामा सोही तहमा पारस्परिक सहमतिमा समायोजन गरिनेछ। पार्टीको विधान, राजनीतिक प्रतिवेदन, र कार्यक्रमलगायतका दस्तावेज संयुक्त रूपमा तयार पार्ने निर्णय पनि गरिएको छ।
त्यस्तै, एकीकरण सहज बनाउन आवश्यकताअनुसार विभिन्न तहमा कार्यदल गठन गर्ने र महाधिवेशनमार्फत एकीकृत पार्टीको संरचना, नीति र नेतृत्वलाई संस्थागत गर्ने सहमति भएको छ।सहमति पत्रमा नेपाल र नेपाली जनताको सर्वोपरि हित, राष्ट्रिय सार्वभौमिकता, अखण्डता, आत्मनिर्णयको अधिकारको संरक्षण र बाह्य हस्तक्षेपमुक्त राजनीति अभ्यास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, समाजवाद र सामाजिक न्यायमा आधारित आर्थिक–सामाजिक रूपान्तरण र समृद्धिको अभियानलाई संयुक्त रूपमा अघि बढाउने अठोट गरिएको छ।हस्ताक्षर पश्चात आजै राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरी भीम रावलको औपचारिक समायोजन तथा पार्टी एकताको घोषणा गरिएको छ।




