रामकुमारी झाँक्री र किसान श्रेष्ठ पुनः एमालेमा फर्किए

तु खबर संवाददाता
२०८२ कार्तिक २४, सोमबार १६:४९

काठमाडौं नेकपा माओवादी केन्द्रसहितको प्रस्तावित एकता प्रक्रियामा असहमति जनाउँदै नेकपा (एकीकृत समाजवादी) का नेतृ रामकुमारी झाँक्री र नेता कृष्णकुमार श्रेष्ठ (किसान) पुनः नेकपा (एमाले) मा फर्किएका छन्।सोमबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क अभियान राष्ट्रिय घोषणा सभा’ कार्यक्रममा उनीहरूले औपचारिक रूपमा एमाले प्रवेश गरेका हुन्। एमालेले सुरु गरेको घर फर्क अभियानको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।

अध्यक्ष ओलीले झाँक्री, श्रेष्ठलगायतका नेताहरूलाई पार्टीको झण्डा र खादामालासहित स्वागत गर्दै पुनः एमालेमा समेटेका हुन्। कार्यक्रममा उनीहरूले सांकेतिक रूपमा पार्टी अध्यक्ष ओलीलाई कलम हस्तान्तरण गर्दै एमालेप्रतिको प्रतिबद्धता जनाएका थिए।२०७८ सालमा एमाले विभाजन भएपछि झाँक्री र श्रेष्ठ नेकपा (एकीकृत समाजवादी) तर्फ लागेका थिए। तर हाल माओवादी केन्द्रसँगको एकता प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनीहरू पुरानै पार्टीमा फर्किएका हुन्।

उक्त अवसरमा गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङ्तान, ववि चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदार गौतम, सावित्री न्यौपाने, उत्तम श्रेष्ठ, केशव सापकोटा लगायतका नेताहरू पनि एमालेमा समाहित भएका छन्।घर फर्क अभियानका माध्यमबाट एमालेले पूर्व नेताहरूलाई पुनः पार्टीमा भित्र्याउने अभियानलाई सशक्त रूपमा अघि बढाएको जनाएको छ।