मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा
काठमाडौं ।मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभा बैठकमै पदबाट राजीनामा घोषणा गरेका छन्।
विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत नपाउने संकेत देखिएपछि बैठकबाट बाहिरिँदै आफ्नो राजीनामा घोषणा गरेका हुन्।
प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री सोनलले भने, “म आजकै मितिदेखि मुख्यमन्त्री पदबाट राजीनामा दिने निर्णय गरेको छु।” उनले राजीनामापत्र आजै प्रदेश प्रमुखको कार्यालयमा पठाउने जानकारी पनि दिएका छन्।
सोनल गत असोज २९ गते राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्त पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदहरूको समर्थनमा मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। तर गठबन्धनभित्रको असमझदारीका कारण उनले अपेक्षित विश्वासको मत जुटाउन नसक्ने अवस्था बनेपछि राजीनामा दिनुपरेको हो।



