मधेशका मुख्यमन्त्री जितेन्द्र सोनालले आज विश्वासको मत लिदै
काठमाडौं ।मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनालले आज (शुक्रवार) प्रदेशसभाबाट विश्वासको मत लिन लागेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सोनाल गत असोज २९ गते छ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
विश्वासको मतका लागि मधेश प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ। संविधानको धारा १६८ को उपधारा (४) बमोजिम मुख्यमन्त्री सोनालले विश्वासको मत लिन लागेका हुन्।१०७ सदस्यीय मधेश प्रदेशसभामा हाल १०४ जना सदस्य सक्रिय छन्। विश्वासको मत कायम राख्नका लागि ५४ मत आवश्यक पर्छ। सोनाल नेतृत्वको सरकारलाई लोसपाका ९, जसपा नेपालका १९, नेकपा (माओवादी केन्द्र)का ९, नेकपा (एकीकृत समाजवादी)का ७ र जनमत पार्टीका १३ सांसदसहित ५७ सदस्यको समर्थन रहेको देखिन्छ।
तर जसपा नेपालका सांसद सरोज सिंह कुशवाहा र लोसपाका अभिराम शर्मा निलम्बित रहेकाले उनीहरू मतदानमा सहभागी हुन पाउने छैनन्। यसले गर्दा मुख्यमन्त्री सोनालको पक्षमा मत संख्या केही घट्ने सम्भावना छ।यता, जनमत पार्टीभित्रको विभाजन र माओवादी केन्द्रभित्रको आन्तरिक मतभेदका कारण विश्वासको मत सुरक्षित हुने वा नहुनेबारे अनिश्चितता कायम छ। जनमत पार्टीबाट छुट्टिएर बनेको जनस्वराज पार्टीमा निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साह लागिसकेका छन्। यी दुवै प्रदेशसभा सदस्य तटस्थ रहे वा विपक्षमा मतदान गरेमा सोनालको सरकार अल्पमतमा पर्न सक्ने अनुमान गरिएको छ।
प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा (एमाले)का २५ र दोस्रो ठूलो दल नेपाली कांग्रेसका २२ सदस्य रहेका छन्, जसले सरकारविरुद्ध मतदान गर्ने तयारी गरेका छन्।सोनाल नेतृत्वको सरकारलाई जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमत र लोसपाको समर्थन रहेको भए पनि अन्तिम परिणाम आजको विश्वासको मतको मतदानपछि मात्रै स्पष्ट हुने भएको छ।



