दूध बोक्ने भ्यान सुनकोशीमा खस्दा चालक बेपत्ता, खोजी कार्य तीव्र
काठमाडौं । दूध बोक्ने भ्यान अरनिको राजमार्गबाट सुनकोशी नदीमा खस्दा चालक बेपत्ता भएका छन् भने प्रहरीले खोजी कार्य तीव्र पारेको छ।
अरजिको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बाट आज बिहान करीब सवा ५ बजे भ्यान सुनकोशी नदीमा खसेको हो।
चौतारा साँगाचोगकढी–१० सुकुटेमा रहेका सिन्धु दुग्ध डेरीको दूध संकलन गर्न खाडीचौरतर्फ जाँदै गरेको भ्यान सडकबाट करीब ५० मिटर तल सुनकोशी नदीमा खसेको हो।
बा १२ च ६५९४ नम्बरको उक्त मारुती मिनी डेलिभरी भ्यानका चालक काभ्रे पनौती नगरपालिका–१० पस्थलीका नवराज खुलालले चलाएका थिए। उक्त भ्यानमा चालक मात्रै सवार थिए। घटनापछि प्रहरी चौकी बलेफीबाट प्रहरी टोली खटेर चालकको खोजीकार्य तीव्र पारेको छ।



