सरकारद्वारा तीनजना सचिवको सरुवा

तु खबर संवाददाता
२०८२ आश्विन ७, मंगलवार १३:४३

काठमाडौं। सरकारले तीनजना सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव रामेश्वर दंगाल र राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालको सरुवा गरेको जनाएको हो ।

मन्त्रिपरिषद्को निर्णयले गृहसचिव दुवाडीलाई योजना आयोगमा पठाइएको छ । उनको स्थानमा रक्षासचिव रामेश्वर दंगाललाई ल्याइएको छ । रक्षासचिवमा योजना आयोगका सचिव अर्याललाई पठाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो ।

सोमबार सार्वजनिक बिदा भएकाले मंगलबार मुख्यसचिव एकनारायण अर्यालले सरुवा प्रमाणित गरेका कार्यालय स्रोतले जानकारी दियो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सचिव दुवाडीले बल प्रयोगका लागि निर्देशन दिएको आरोप लागेको थियो ।