रौतहट रुबी साह हत्या प्रकरण :हत्या आरोपी आत्मदाह प्रयासपछि पक्राउ

तु खबर संवाददाता
२०८२ भाद्र ११, बुधबार १०:२०

रौतहटमा सुटकेसभित्र मृत भेटिएकी २६ वर्षीया रुबी साहको हत्या गरेको अभियोगमा फरार रहेका लक्ष्मण पासवान आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार पासवानले डिजेल खन्याई आत्मदाह गर्ने प्रयास गरेका थिए। स्थानीयले माधवनारायण नगरपालिका–६ मा जलेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनलाई उद्धार गरी गरुडास्थित अस्पतालमा भर्ना गरिएको छ र अवस्था गम्भीर भएपछि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

गत शनिबार राति गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलवा नजिक सुटकेसभित्र रुबी साहको शव फेला परेको थियो। अनुसन्धानमा पासवानले गौरस्थित भाडाको घरमा रुबीको हत्या गरी शव सुटकेसमा राखेर इ–रिक्सामा लैजाने प्रयास गरेको तर रिक्सा बिग्रिएपछि सुटकेस त्यहीँ छाडेर भागेको खुलेको छ। प्रहरीले रिक्साचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा पासवानसम्म पुग्न सफल भएको हो।

रुबी साह मूल घर माधवनारायण–६, मधोपुरकी थिइन्। उनका श्रीमान भारत, बिहार, मुजफ्फरपुरका शिवकुमार साह हुन् र हाल भारतमै बस्छन्। चार वर्षदेखि रौतहटको गौर–२ महादेवपाट्टीमा डेरा गरी बस्दै आएकी रुबी आफ्नो चार वर्षीय छोराको पढाइका लागि गौरमै बसेकी थिइन्।

प्रहरीका अनुसार उपचारको क्रममा पासवानले आफूले नै हत्या गरेको स्वीकार गरेका छन्।