नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा रास्वपा नेता कडेल निलम्बित

तु खबर संवाददाता
२०८२ भाद्र ६, शुक्रबार १६:०९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कडेललाई निलम्बन गरेको छ । रूपन्देही प्रहरीले कडेललाई नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्न भएको अभियोगमा बिहीबार पक्राउ गरेपछि शुक्रबार केन्द्रीय अनुशासन आयोगले उनलाई निलम्बन गरेको हो ।

आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालद्वारा जारी विज्ञप्तिमा प्रहरीको छानबिन र अनुसन्धान सहज होस् भन्ने उद्देश्यले कडेललाई कुनै पनि पार्टी जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको उल्लेख छ ।

पूर्वशिक्षक समेत रहेका कडेल चितवनको लायन्सचोकमा कलेज कोच नेपाल प्रालि नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए । उनी सो केन्द्रका अध्यक्ष समेत हुन् । प्रारम्भिक अनुसन्धान अनुसार, नेपाल र भारतका विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्र बनाएर विद्यार्थीलाई अध्ययन तथा कामदारका रुपमा विदेश पठाउँदै आएको खुलासा भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कडेलले हालै विद्यार्थीलाई माल्टा पठाउने तयारी गरिरहेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको र प्रमाणित भएमा कानुनअनुसार थप कारबाही अघि बढाइने पनि प्रहरीले

जनाएको छ ।