महेन्द्र किरणको ३६ औँ अभिभावक भेला सम्पन्न

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–३ बसामाडीस्थित श्री महेन्द्र किरण माविको ३६ औँ वार्षिक अभिभावक भेला तथा ५४ औँ स्थापना दिवस आज सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर पाख्रिनको अध्यक्षतामा कार्यक्रम भएको हो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवम् हेटौंडा उपमहानगरपालिका ३ नम्वर वडा अध्यक्ष ढलकबहादुर थापाले महेन्द्र किरण माविले शैक्षिक गुणस्तर वृद्धिको लागि गरिरहेको प्रयास प्रशसनीय भएको बताए ।
उनले उक्त विद्यालयलाई स्थानीय सरकारको तर्फबाट आर्थिक वर्ष २०७९/०८० मा अध्ययन अवलोकन भ्रमणमा सहयोग, शिक्षकहरुलाई तालिमको व्यवस्था, सुरक्षा गार्डको लागि तलब सुविधा अनुदान, बालबालिकाहरुलाइ विद्यालय पोशाक एवम् झोला वितरण गर्नेलगायत उल्लेख्य कामहरु गरेको स्मरण गर्दै आगामी दिनमा शैक्षिक गुणस्तर वृद्धिका लागि अझै सहयोग तथा समन्वय गर्ने बताए ।
भेलाले शिक्षक अभिभावक संघका अध्यक्ष रोशन गोलेद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र विद्यालयकी प्रधानअध्यापक तारा गौतमद्वारा प्रस्तुत विद्यालयको शैक्षिक एवम् प्रशासनीक प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रममा पत्रकारितामार्फत् विद्यालयको हितका लागि योगदान पुर्याएको भन्दै अन्नपूर्ण पोष्टका मकवानपुर सम्वाददाता बलराम पुडासैनीलाई सम्मान गरिएको थियो ।
त्यस्तै असल शिक्षक, सक्रिय अभिभावक र वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
साथै भेलाले अभिभावकहरुबाट धनबहादुर घलान, सुजन न्यौपाने, कविता राई र सुनिता दर्लामीलाई विद्यालय व्यवस्थापन समिति सदस्य पदमा मनोनित गरेको छ ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरे, विद्यालयका पूर्व अध्यक्ष रामकुमार पुडासैनी, बालउज्ज्वल माविका अध्यक्ष टेक शिवाकोटीलगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।