माई बेस्ट फादर …

व्यङ्ग्यम्
सञ्जय मित्र
२०७७ पुष १०,शुक्रबार ०८:३४

मेरो गाउँमा एक जनाका धेरै सन्तान छन् । दुई चारजना हुँदासम्म त सबैको नाम कण्ठस्थ हुन्थ्यो तर सन्तान बढ्दै गएपछि नाम जन्मदर्तामा सीमित हुन पुग्छ । अनि बोलाउन सुरु हुन्छ जन्मक्रमको आधारमा … एक, दुई, तीन, ….उन्नाइस ।

संयोगले जेठो छोरा र त्यसपछि छोरी छे । छोरो बदमास, उसको नाम भएको एक नम्बर । छोरी भलाद्मी तर नाम चाहिँ दुई नम्बर ।

कैलेकाइँ त आफ्नै सन्तान चिन्न गाह्रो हुन्छ । हो, म तपैँकै छोरो हुँ भनेपछि मान्नुपर्ने । कैलेकाइँ त मेरा हुन कि छिमेकीका छुट्याउन नसकेर नाम सोध्नुपर्छ । हरेकलाई नाम त था छ तर जन्मदर्ताको नाम बतायो भने छिमेकीको छोराछोरी भन्ठान्लान् भनेर छोराछोरीले पनि आफ्नो रोलक्रम नै बताउँछन् । धेरै सन्तान हुनेले मात्र एस्तो आनन्द प्राप्त गर्न सक्छन् ।

बिसौं प्रशवभन्दा पहिले सारै सहयोग गर्ने छोरीलाई आमाले प्रशंसा गर्छिन् – बेस्ट छोरी । हेर्दा सबैभन्दा मरन्च्याँसी र फोहोरीको नामै भयो बेस्ट छोरी । ऊभन्दा कैयौँ क्रम पछाडिकाले पनि उस्लाई बेस्ट छोरी नै भन्छन् । भाइ बहिनीका पनि बेस्ट छोरी ।

म बोर्डिङमा पढ्दा एक जना मास्टर साहेबले निबन्ध लेख्नलाई भनेका थिए । शीर्षक थ्यो – माइ बेस्ट फ्रेन्ड ।
बुद्धिमा सुद्धि खासै नपसेको उमेर न हुन्छ स्कुले जीवन । फ्रेन्ड भनेको साथी र बेस्ट भनेको सप्पैभन्दा राम्रो । मलाई लागेको थियो सप्पैभन्दा राम्रो साथी त जीवनसाथी हुन्छ । हाम्रो बोर्डिङको धेरैले मन पराउने केटीसँग मेरो बोलचाल थिएन तर निबन्ध चैं उसको नामै तोकेर लेखें । ऊसित कसरी जीवन कटाउन भनेर । मास्टर साहेबले त मलाई लाइफकै बेस्ट कुटाइ कुटेका थिए । कस्सैले बेस्ट भन्दा म आफ्नो भेस्ट भन्दा पहिले त्यैँ दिन सम्झन्छु ।

त्यैं बोर्डिङ स्कुलमा पढ्ने आधुनिक भलाद्मीहरूको एक दिन आन्तरिक प्रतियोगिता थियो । अलिक पछि मात्र मैले था पाएँ हैनभने सहभागी हुन्थें । भलाद्मीहरूको प्रतियोगिताको नाम थियो – बेस्ट लभर कम्पिटिसन । एउटै केटीलाई धेरै केटाले र एउटै केटालाई धेरै केटीले मन पराउने भएर तेस्तो कम्पिटिसन राखेका रैछन् । तेत्ति बेलासम्म कस्तो टेन्डेन्सी थ्यो भने पढाइमा राम्रो केटालाई धेरै केटीले मन पराउँथे र अनुहारमा राम्री केटीलाई धेरै केटाले मन पराउँथे । हो, कम्पिटिसन चैं एस्तै मन पराउनेहरूबीचको थ्यो आन्तरिक ।

हाम्ले निक्कै पछि था पायौं । धेरैमध्ये तीन तीन जना छानेका रैछन् । तत्काललाई सप्पैको हैसियत बराबर तर एक हप्तामा गुड, बेटर अनि बेस्ट लभर हुने रे । एक हप्तासम्म तीन जनाले आफूलाई बेस्ट साबित गर्नुपर्ने ।
कतिपयको त यो वर्षको मेरो बेस्ट लभर फलानो रह्यो भन्ने घोषणा गरेको पनि सुनियो । साप्ताहिक, मासिक, अर्धवार्षिक र वार्षिक बेस्ट लभर हुन थाल्यो ।

एउटीले एसरी घोषणा गरेकी रहिछन् – फलानो मेरो गुड लभर, फलानो मेरो बेटर लभर, फलानो मेरो बेस्ट लभर । वर्षभरिको बेस्ट लभरमध्ये फलानो मेरो बेस्टर लभर र फलानो मेरो बेस्टेस्ट लभर । अंग्रेजी बैकरणमा डिग्री पढाउने टिचरले डिग्रीको विभाजन यहीबाट सिकेर नयाँ अंग्रेजी बैकरणमा डिग्रीको आविष्कार गरेका थिए – सुपरलेटिभ डिग्री, कम्प्यारेटिभ सुपरलेटिभ र सुपरेस्ट सुपरलेटिभ डिग्री । न्यु इन्भेन्ट गरेपछि त्यो वर्षको बेस्टमध्येको पनि बेस्ट अर्थात् बेस्टेस्ट (सुपरेस्ट सुपरलेटिभ) टिचरको प्राइज जितेका थिए ।

मेरो बुद्धिले भ्यागुतो छलाङ मार्दै गयो । स्कुलमा त कछुवा गतिमा पढाइ हुन्छ । स्कुलबाट छलाङ मारें । स्कुल छाड्नुपर्ने कारणमध्ये यो पनि थ्यो कि जत्ति पनि केटी थिई, कसैले कुनै आवधिक कम्पिटिसनमा मलाई गुड, बेटर वा बेस्टमा कैल्यै पनि राखिन ।

अ‍ैले यो किन सम्झन्छु भने अस्ति पत्नी दिवसको दिन मैले मेरी पूर्णाङ्गिनीलाई भनेको थिएँ – माई बेस्ट
श्रीमती ।

सायद उसको पनि सर्खारी स्कुलमा पनि तेस्तो कम्पिटिसन हुन्थ्यो क्यारे । तत्कालै जबाफ फर्काइन् – अनि बेटर को ? गुड श्रीमती को होली ?

म न नाजवाफ । मलाई मेरी श्रीमती लाजबाब लागेर खुसी पार्न उपमा देको थें । फँसे ।

पति दिवसका दिन बिहानै शुभकामना पाउँछु घरमा – मेरा प्रथम पति ।

म त ट्वाँ परूँ कि नपरूँ भन्ने दोधारमा पर्छु । प्रथम हुनुको खुसीमा मिठाइ बाँडूँ कि ? प्रथम भनेपछि द्वितीय, तृतीय … पनि हुन सक्ने देखिन्छ ।

अलमलको उत्कर्षमा रहेर कुनै प्रतिक्रिया नपाएको उपलक्ष्यमा अलिक फुरुङिदै गरेको स्वर मेरो कानको जालीमा ठोक्किन्छ – ह्याप्पी हसबैन्ड डे, माई बेस्ट हस्बैन्ड ।

मेरो त बैन्ड बजिरहेछ भित्रभित्रै । पत्नी दिवसको दिन पत्नीले फर्काको प्रश्न दोहो¥याऊँ भने आफ्नै इज्जत जाने । अपच भए नि सहनै पर्छ, पचाउनै पर्छ । प्रतिक्रिया दिन्छु – थ्यांक्स । बेस्टेस्ट हस्बैन्ड भनेकी छैनन् । अझ पनि मेरो इज्जत बाँकी छ भनेर म अनुशासित किसिमले चित्त बुझाउँछु ।

केही बोल्ने पनि कसरी । बाहिर पो जे मन लाग्यो बोलिन्छ वा धाक लगाइन्छ । घरमा अलिकति चित्त नबुझ्ने कुरो बोल्नु हुँदैन । झाेंकतन्त्र देखिन सुरु हुन्छ । तेसपछि बैन्ड बज्ने डर पनि हुन्छ आफ्नै ।

सन्तान दिवसको दिन हामीजस्ता सोझालाई गाहारो हुन्छ । सबै सन्तानलाई माइ बेस्ट सन्तान भनूँ भने पनि असन्तुष्टि हुने र कोही एकलाई भनूँ भने अन्य सप्पै रिसाउने ।

स्कुल भनेको बोर्डिङ हो र विद्यालय भनेको सर्खारी स्कुल हो भन्ने बुझाइ थ्यो हाम्रो जमानामा । स्कुल पढ्नेहरू आफूलाई ठूलो ठान्थे र विद्यालय पढाउने मास्टरहरू आफूलाई ठूलो मान्थे । हामी प्योर इंग्लिश बोल्थ्यौँ र तिनीहरू शुद्ध नेपाली । माइनसमा प्लस जोड्दा जुन बढी हुन्छ उत्तर तेत्तैतिर फर्केझैँ स्कुल राम्रो कि विद्यालय र टिचर राम्रो कि मास्टर भन्ने विवादको अन्तिम निष्कर्ष हुने गथ्र्यो । अ‍ैले कस्तो छ कुन्नि था भएन ।

केटाकेटीले स्कुलमै हो धेरै कुरा सिक्ने । विद्यालयमा त पढाइ नै हुँदैन भन्छन् त कहाँबाट धेरै कुरा सिक्नु । समाजमा सर्वे गर्ने हो भने विद्यालय पढेकाभन्दा स्कुल पढेका भलाद्मीहरू बढी भेटिन्छन् ।

यस्तै भलाद्मीमध्ये मेरो गाउँका एक जना मेरै छिमेकमा छन् । फादर्स डेका दिन बिहान म बाहिर आँगनमा चिया खाँदैछु । हातमा अखबारको बच्चो छ । भलाद्मीका जन्मदाता र म कुराकानी गरिरहेका छौँ । कतैबाट आएर उनले आफ्नो जन्मदातालाई च्याप्प समात्छन् र मुखबाट ओकल्छन् – ह्याप्पी फादर्स डे माई बेस्ट फादर ।

भलाद्मीले एस्सो भन्दा बाबालाई अंगालेर मतिर हेर्दै मुस्कुराइरहेका छन् । भलाद्मीले मतिर हेर्दैगर्दा उनकी जन्मदात्री कर्के नजरले मतिर हेर्दै प्राकृतिक मुस्कान छर्दैछिन् ।

फुच्चे अखबार र चियाको कप तेहीं छाडेर छिमेकी आमा–छोराको मुस्कान मनभरि भरेर म घरमा छिर्छु । मनमनै गुन्दै पनि छु – गुड र बेटर फादर पनि हुन्छन् र ? बेस्ट फादर भन्नुपर्ने किन ? घरमा खै कुन समयदेखि कसरी तयारी गरेका रैछन्, मैले त था नै पाइन । भए भरका मेरा कहलिएका सन्तानहरूले एकै स्वरमा सुन्दर मुस्कानका साथ बोल्छन् – ह्याप्पी फादर्स डे माइ बेस्ट फादर … ।

विचलित होऊँ कि नहोऊँ । होऊँ भने आफ्नै बेज्जत र नहोऊँ भने मनभित्र चोटको खोट । पूर्णाङ्निीजीतिर दृष्टि पुग्छ । उनी आँखा सन्काउँछिन् र कुटिल मुस्कान छर्छिन् । म छरिएको मुस्कानमा कुनै बदलाको आगो बलेको देख्छु । भर्खर बाहिर मनभरिको मुस्कान प्राप्त गरेको छु ।

थ्यााङ्कू ।

मुखबाट फुस्काउनै पर्छ । फुस्काउँछु ।

अब म शङ्का कस्माथि गरूँ । म त एक्लै छु । घरमा अरू कोई साना बा, ठूला बा वा अरू कोई बा भएको था छैन । घरमूला वा घरमूली जे भने नि मै हुँ तर तर बेस्ट फादर … । माइ बेस्ट फादर… … । शङ्काको सूई फनफनी घुम्न थालेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*